`

विपद उद्धारका लागि तयारी अवस्थामा रहन मन्त्री घिसिङको आग्रह

Nepal One HD १८ असोज २०८२ १४:०८
बिशेष

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

आफूले नेतृत्व गरेका मन्त्रालय तथा मातहतका निकायका प्रमुखहरूसँग आज भएको छलफलमा उनले सडक, सिँचाइ सञ्जाल र ‘हाइड्रोपावर’ का संरचनालाई बाढी पहिरोबाट जोगाउन तत्काल पहल गर्नुपर्नेमा जोड दिएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

आज साँझदेखि आइतबार बिहानसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मन्त्री घिसिङले भौतिक पूर्वाधार संरक्षणका निम्ति बजेट अभाव देखाएर पन्छिन नहुने बताए ।

विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी
गए रातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरप्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी समेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार गए रातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौँलगायत देशका अधिकांश स्थानको अवस्था संवेदनशील रहेको छ ।

काठमाडौँको हकमा भने नगर प्रहरी परिचालन गरी सकिएको छ भने आवश्यकताअनुसार अन्य तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए । महानगरले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर नजान आग्रह गरेको छ ।

महानगरका जनप्रतिनिधि सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको पनि जनाइएको छ । विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्न बोरामा ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *