विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा नरोक्न गृहको निर्देशन


काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा नरोक्न निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर, बाढी–पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।
मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन् । विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्छ ।’
काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पनि विपद्जन्य अवस्था नरहेकाले अब सेवा निरन्तर गर्नुपर्ने उनले बताए । शुक्रबारदेखि भीषण वर्षा भएपछि सरकारले सम्भावित विपद्लाई मध्यनजर गरी आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको थियो । तर, आइतबारबाट मौसममा सुधार हुन थालेपछि सोमबारको बिदा कटौती गरेको हो ।