विकसित देशमा होइन, गरीब देशमा धेरै छ एक्लोपनको समस्या
मडागास्कर । रातो माटो भएका खेतहरूलाई वरपरबाट काँडेदार नासपातिका बोटहरूले घेरेका छन् । केही खेतमा बाली छन्, तर धेरैजसोमा सिउँडी नै हरियोको एक मात्र संकेत देखिन्छ । विद्यालयमा हुनुपर्ने साना बालबालिकाहरू धुलाम्मे बाटो हुँदै जेबु गाईवस्तु हाँकिरहेका छन् । मुख्य सडक छेउका कमजोर काठका झुपडी बाहिर महिलाहरू कोइला भरिएका झोला बेचिरहेका छन् । दक्षिणी मडागास्करमा सुख्खा मौसमको अन्त्य हुँदैछ; स्थानीय बासिन्दाहरू वर्षाको कामना गरिरहेका छन्। उनीहरूसँग पैसाको अभाव छ र प्रायः भोकै बस्नु पर्छ । त्यही देशका मानिसहरू एक्लोपनको महामारी झेलिरहेका छन् ।
धेरै मानिसले एक्लोपन पश्चिमा विश्वको समस्या हो भन्छन्–धनी समाजमा मानिसहरू धनको पछि लाग्दा सामाजिक सम्बन्ध कमजोर हुन्छन् भन्ने धारणा छ । तर सर्वेक्षणहरूले यो गलत भएको देखाउँछन् । पश्चिमी, व्यक्तिवादी समाज, जहाँ धेरै मानिस एक्लै बस्छन् र धर्मको भूमिका सानो छ, त्यहाँ तुलनात्मक रूपमा कम एक्लोपनको समस्या कम हुन्छ । गरिब देशका मानिसहरू एक्लोपन बढी महसुस गर्छन्। र, सबैभन्दा एक्लो क्षेत्र, आश्चर्यजनक रूपमा, अफ्रिका हो–उबुन्तु जस्तो ’मानिस मानिसमार्फत मानिस बन्छ’ भन्ने सामाजिक अवधारणाको जन्मस्थल । सन् २०२४ मा सर्वेक्षण गरिएका अफ्रिकीमध्ये एक चौथाइभन्दा बढीले अघिल्लो दिन आफू एक्लो महसुस गरेको बताएका थिए ।
परिभाषा मन पराउनेहरूका लागि, एक्लोपन भनेको सामाजिक सम्बन्धको अपेक्षा र वास्तविकताबीचको पीडादायी असन्तुलन हो । सन्तोषजनक सम्बन्धमा प्रायः केही तत्वहरू हुन्छन्, ब्रान्डेनबर्ग मेडिकल स्कूलकी सामिया अख्तर–खान भन्छिन् । तीमध्ये नजिकत्व, सहयोग, आत्मीयता, रमाइलोपन, सम्मान, र योगदान गरिरहेको वा आवश्यक छु भन्ने अनुभूति पर्छन् ।
एक्लोपन खतरनाक छ । अनुसन्धानकर्ताहरूले यसलाई हृदयाघात र स्ट्रोकसँग जोडेका छन् । सन् २०१० को एक अध्ययनले सामाजिक अलगावले दिनमा १५ चुरोट पिउनु जत्तिकै आयु घटाउँछ भन्ने अनुमान गरेको थियो । हालैका लाखौं मानिसका तथ्यांकमा आधारित विश्लेषणहरूले एक्लोपनले कुनै पनि समयमा मृत्युको जोखिम करिब १४ प्रतिशतले बढाउँछ भन्ने देखाएका छन् । एक्ला मानिसहरूमा अस्वस्थ बानीहरू देखिन सक्छन्, तर ती कुराहरूलाई नियन्त्रणमा राख्दा पनि यो प्रभाव रहिरहन्छ । एक्लो हुनु अत्यन्त दुःखदायी हुन्छ । यसले चिन्ता र डिप्रेसनको जोखिम बढाउँछ र दुष्चक्र सिर्जना गर्छ । ‘एक्लोपनले मानसिक विकार निम्त्याउँछ, र मानसिक विकारले अलगाव बढाउँछ वा उत्पन्न गर्छ’, मोजाम्बिकको स्वास्थ्य मन्त्रालयकी क्लिनिकल मनोवैज्ञानिक पाल्मिरा फोर्चुनाटो दोस सान्तोस भन्छिन् ।
एक्लोपनसम्बन्धी सबैभन्दा कडा अध्ययनहरू प्रायः युरोप र अमेरिकामा भएका छन् । तर यी क्षेत्रहरूमा विश्वका एक्ला मानिसहरूको सानो अंश मात्र बस्छ । विश्व स्वास्थ्य सङ्गठनले ग्याल्प वल्र्ड पोलसहित २३ डाटा समूहको विश्लेषण प्रकाशित गरेको छ, जसमा करिब १५० देशका १ लाख ५० हजार मानिस समेटिएका थिए । यसले देश जति गरिब हुन्छ, त्यति नै एक्लोपन बढी हुन्छ भन्ने देखायो । ग्याल्पको अप्रशोधित तथ्यांकमा आधारित द इकोनोमिस्टको आफ्नै विश्लेषणले यो अनुपात देशभित्रै पनि कायम रहने देखाउँछः सबैभन्दा धनी ठाउँका सबैभन्दा धनी मानिसहरू सबैभन्दा कम एक्ला हुन्छन् भने सबैभन्दा गरिब ठाउँका सबैभन्दा गरिब मानिसहरू सबैभन्दा बढी ।
र सबैभन्दा एक्लो स्थान मडागास्कर नै हो। किन यस्तो भयो भन्ने बुझ्न द इकोनोमिस्ट त्यहाँ पुग्यो ।
केवल एक्लाहरू…
हिन्द महासागरको यो विशाल टापुबारे धेरै अन्य देशका मानिसहरूलाई थोरै मात्र थाहा छ । उनीहरूले कार्टुनमा देखाइने गाउने–नाच्ने लेमुरहरू काल्पनिक हुन् भन्ने मान्न सक्छन् । लाखौं वर्षको अलगावका कारण मडागास्करका जंगलहरूमा टमाटर भ्यागुतादेखि डर लाग्दो कुगार–जस्तो फोसा सम्मका अद्वितीय जीवहरू विकसित भएका छन् भन्ने कुरा सुनेका हुन सक्छन् । सन् २०२५ मा यहाँ कू भएको थियो भन्ने पनि थाहा पाएका हुन सक्छन् । तर, यहाँ बस्ने मानिसहरूबारे उनीहरूलाई झण्डै केही थाहा छैन ।
ब्रिटेनभन्दा दुई गुणा ठूलो यो देशमा जम्मा ३ करोड ३० लाख मानिस छन् । सबैभन्दा ठूलो जातीय समूह मालागासी हो, जसका पुर्खा पूर्वी अफ्रिका, दक्षिण–पूर्व एसिया र ओसियानियाबाट आएका बसोबासकर्ताबाट आएका हुन् । जनसंख्याको धेरैजसो ग्रामीण क्षेत्रमा बस्छ र अत्यन्त गरिब छ । करिब ७० प्रतिशत मानिस दिनको ३ डलरभन्दा कममा गुजारा गर्छन् ।
सुख्खा र चक्रवातले थिलथिलो पारेको दक्षिणको सहर अम्बोभोम्बेमा, रातो माटोका सडकहरू एक्ला देखिँदैनन् । काठका स्टलहरूले किनमेल गर्न बोलाउँछन्; गोरु तान्ने गाडाहरू गुड्छन्; मजदुरहरू कामको प्रस्ताव कुर्दै समूहमा उभिएर गफ गरिरहेका हुन्छन् । सबैसँग कुनै न कुनै सामाजिक सम्बन्ध जस्तो देखिन्छ । तर धेरैका लागि त्यो पर्याप्त छैन । दक्षिणी मडागास्करका ६० प्रतिशत मानिसले ग्यालपलाई अघिल्लो दिन आफू एक्लो महसुस गरेको बताए ।
पैसाले प्रेम किन्न सक्दैन। तर यसले घुलमिल सजिलो बनाउँछ
घरायसी सामान बेच्ने मध्यम उमेरकी रोबिनेट भन्छिन्, उनी धेरै मानिससँग समय बिताउँछिन् । तर तीमध्ये धेरै ग्राहक हुन्, साथी होइनन् । उनी आफ्ना बच्चासँग भाडाको कोठामा बस्छिन्, तर श्रीमान् छैन—यो क्षेत्रमा बहुविवाह सामान्य छ र धेरै महिलाहरू एक्लै बच्चा हुर्काउन बाध्य छन् । सहयोग गर्ने मानिस कम छन्, उनी गुनासो गर्छिन् । उनी प्रायः एक्लोपन महसुस गर्छिन् । गरिबीले एक्लोपन सिधै जन्माउँदैन, तर पैसाले मानिस कसरी र कति पटक सामाजिक हुन्छ भन्ने कुरामा प्रभाव पार्छ । धनी देशहरूमा मानिसहरू साथी, परिवार र सहकर्मीसँग धेरै समय बिताएको बताउँछन् । गरिब ठाउँहरूमा छिमेकीसँग धेरै भेट हुन्छ, तर अरूसँग कम । लुगा धुने मेसिनदेखि किराना डेलिभरीसम्म, समय बचत गर्ने कुरामा खर्च गर्न सक्ने हो भने सामाजिक हुन समय निकाल्न सजिलो हुन्छ ।
पैसाले सम्बन्धको गुणस्तरमा पनि प्रभाव पार्छ । साथी र परिवारसँगको सम्पर्कलाई नियन्त्रणमा राख्दा पनि, उच्च आयले कम एक्लोपनको भविष्यवाणी गर्छ । यसको अर्थ स्पष्ट छ । बिल तिर्न सक्ने हो भने सँगै डिनरमा नजिकिन सजिलो हुन्छ; टिकट किन्न सक्ने हो भने फुटबल समर्थकसँग मित्रता गाँस्न सजिलो हुन्छ; र पैसाको चिन्ताले नथिच्दा साथीहरूसँग निश्चिन्त भएर रमाउन सजिलो हुन्छ ।
अत्यन्त गरिबहरूले अनगिन्ती घण्टा दैनिकीको कठोर श्रममा गुमाउँछन् । उदाहरणका लागि, अम्बोभोम्बेमा अधिकांश घरमा धाराको पानी छैन, त्यसैले इनारबाट बोकेर ल्याउनुपर्छ वा बेच्नेबाट किन्नु पर्छ । स्कोलियोसिस भएका मध्यम उमेरका डियु दोन्ने आफैं पानी बोक्न नसक्ने भएकाले अरूको सहयोगमा निर्भर छन् । वर्षा नहुँदा इनार सुक्छन्, पानी महँगो हुन्छ, र उनका साथी–परिवार नगद जुटाउन झन् धेरै समय खर्च गर्न बाध्य हुन्छन्। त्यसैले डियु दोन्नेका आफन्त र साथीहरूसँग उनका लागि समय हुँदैन; उनी तिर्खा मात्र होइन, एक्लो पनि महसुस गर्छन् । पैसा खोज्दै हिँड्दा ’उनीहरूलाई मेरो वास्ता हुँदैन,’ उनी भन्छन् । उनलाई बेलाबला आत्महत्याको सोच पनि आउने गरेको बताउँछन् । गरिबीले सम्बन्धमा तनाव ल्याउन सक्छ । अध्ययनहरूले यसलाई अविश्वास र द्वन्द्वसँग जोड्छन् । कलहले समस्या झन् बढाउँछ । अम्बोभोम्बेकी युवती ब्रिजिटा भन्छिन्, आफू बेरोजगार भएकाले मानिसहरूले टाढा बस्छन् ।
के एक्लोपनको उपचार इङ्ग्ल्यान्डमा भेटिन सक्छ ?
गरिबी कम गर्न धेरै मानिस कामको खोजीमा बसाइँ सर्छन् । यसले उनीहरूको एक्लोपन झन् बढाउन सक्छ, अफ्रिकन वुमेन्स डेभलपमेन्ट फन्डकी लाना राजाफिमानान्ट्सोआ भन्छिन् । मडागास्कर ठूलो, दुर्गम र पक्की सडक कम भएको देश भएकाले आप्रवासी मजदुरहरू लामो समयसम्म आफ्ना प्रियजनबाट टाढा रहन्छन् । ब्रिजिटाकी आमा काम खोज्न अम्बोभोम्बे छाडेर गइन् । ‘म उनलाई हरेक दिन सम्झिन्छु,’ उनी भन्छिन् ।
बसाइँसराइले जाने र बस्ने दुवैलाई असर गर्छ, अफ्रिकामा मानसिक स्वास्थ्यबारे विश्व स्वास्थ्य संगठनका सल्लाहकार चिडो र्वाफा–माड्ज्भामुत्से तर्क गर्छन् । दीर्घकालीन अध्ययन कम भए पनि, ठूलो मात्रामा बसाइँसराइ भएका अवधिमा सामाजिक सम्बन्ध घट्ने प्रमाण छ । सन् १८०० र १९०० को सुरुआततिर, धेरै ब्रिटिशहरू गाउँबाट सहर सर्दा, अंग्रेजी साहित्यमा ‘एक्लोपन’ को उल्लेख बढ्यो । चीनका वृद्धहरूमाथि गरिएका २५ अध्ययनको समीक्षाले १९९५ देखि २०११ सम्म एक्लोपन तीव्र रूपमा बढेको देखायो, जब युवाहरूले गाउँ छाडेर कारखानामा काम गर्न थाले। गाउँमा छाडिएका मानिसहरू प्रायः वृद्ध, गरिब, अस्वस्थ—र एक्ला थिए ।
यसमा संस्कृतिले पनि भूमिका खेल्छ। बढी सामूहिक समाजमा छोराछोरीले वृद्ध अभिभावकको हेरचाह गर्नैपर्ने जस्ता कडा अपेक्षाहरू हुन्छ, जसले मानिसलाई कर्तव्यपूर्ण तर असन्तोषजनक सम्बन्धमा बाँध्न सक्छ । दायित्व पूरा नहुँदा लाज महसुस हुन सक्छ, डा. अख्तर–खान भन्छिन् । व्यक्तिवादी संस्कृतिमा भने, मानिसलाई आफूलाई दुःखी बनाउने सम्बन्ध तोड्ने स्वतन्त्रता बढी हुन्छ ।
…मैले कस्तो अनुभूति गरिरहेको छु भन्ने बुझ्नुहोस्
गरिबी घटाउने कुनै पनि उपायले संसारलाई कम एक्लो बनाउने सम्भावना छ । तर एक्लोपनलाई सिधै लक्षित गर्दा पनि काम गर्न सक्छ । मडागास्करबाट करिब १०,००० किलोमिटर टाढा, सामाजिक सम्बन्ध सुधार्ने एउटा प्रयोग चलिरहेको छ । यो इङ्ग्ल्यान्डको सानो बजार सहर फ्रुममा हो—धनी देशका मापदण्डले सामान्य, तर अम्बोभोम्बेभन्दा धेरै सम्पन्न। वरपरको ग्रामीण क्षेत्र हरियो र उर्वर छ । मुख्य सडक स्वतन्त्र क्याफे, पुस्तक पसल र कला ग्यालरीले भरिएको छ । पोस्टरहरूले जाज कन्सर्ट र नृत्य कक्षाको विज्ञापन गर्छन् ।
यहाँ पनि धेरै स्थानीय बासिन्दा एक्ला छन्। डाक्टर हेलन किङ्स्टनले एक्लोपनले बिरामीलाई झन् अस्वस्थ बनाउने मात्र होइन, कसैसँग बोल्न पाइयोस् भनेर उनीहरूलाई चिकित्सककहाँ बारम्बार जान बाध्य बनाउने कुरा देखिन् । सन् २०१३ मा डा. किङ्स्टन र उनकी सहकर्मी जेनी हार्टनलले आफ्नो अभ्यास पुनःडिजाइन गरे । उनीहरूले सामाजिक सम्पर्क ’प्रिस्क्राइब’ गर्न थाले र हजारौँ बासिन्दालाई छिमेकीलाई सहयोग गर्ने र सामाजिक गतिविधितर्फ डोर्याउने ‘कम्युनिटी कनेक्टर’ का रूपमा तालिम दिए । यसको नतिजा उल्लेखनीय थियो । २०१३ देखि २०१७ सम्म फ्रुममा आकस्मिक अस्पताल भर्ना १४ प्रतिशतले घट्यो, जबकि वरपरको समरसेट काउन्टीमा करिब ३० प्रतिशतले बढेको थियो । अनुसन्धानकर्ताहरूले यो योजनाले स्थानीय स्वास्थ्य सेवाको एक मिलियन पाउन्डभन्दा बढी बचत गरेको अनुमान गर्छन् । सयौँ अन्य सहर र नगरपालिकाहरूले यो मोडेल दोहोर्याउन सम्पर्क गरेका छन् ।
यस्तै विचारहरू गरिब देशहरूमा पनि काम गर्न सक्छन् । जिम्बाब्वेमा, क्लिनिकबाहिर सयौँ ‘फ्रेन्डशिप बेन्च’ स्थापना गरिएका छन् । ‘हजुरआमा’ भनेर चिनिने वृद्ध महिलाहरूलाई बस्न, सुन्न, सल्लाह दिन र सहयोग खोज्न प्रोत्साहित गर्न तालिम दिइन्छ । ‘अरूलाई सहयोग गर्नुका साथै ती हजुरआमाहरूले आफैं पनि नयाँ उद्देश्यको अनुभूति पाउँछन्’, डा. र्वाफा–माड्ज्भामुत्से भन्छन् । फेरि अम्बोभोम्बेमा अपाङ्गता भएका मानिसहरू हरेक शनिबार एक क्रिश्चियन संस्थाले उपलब्ध गराएको ठाउँमा भेला हुन्छन् । उनीहरू घुलमिल गर्छन् र अपाङ्ग तथा एक्ला अन्य मानिसहरूलाई भेट्न जान्छन् । यस वर्ष आएको चक्रवातले छाना उडाइदिएको थियो, र संवाददाताले भ्रमण गर्दा पनि मर्मत भएको थिएन । मौसमको प्रत्यक्ष असरले उपस्थितिमा केही कमी आएको छ, तर आउनेहरूले आपसी सम्बन्ध र अरूलाई सहयोग गर्दा पाउने उर्जा बारे बोल्छन् । ‘हामी राम्रोसँग जोडिन्छौँ,’ एक महिलाले भनिन्, ‘र हामी भविष्यप्रति आशावादी छौँ ।’
(द इकोनोमिस्टमा ‘द मस्ट फ्रेन्डलेस प्लेस अफ द अर्थ’ शीर्षकमा प्रकाशित स्टोरीको नेपाली अनुवाद)
