`

चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिरहेको भेटियो : गगन थापा

Nepal One HD ७ पुष २०८२ १४:२९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको आफ्नो घरमा आफ्नै लुगा लगाएर चोर सुतिरहेको भेटिएको घटनाको खुलासा गरेका छन् । भदौ २४ गते रातोपुलस्थित थापाको घरमा आगजनी भएको थियो । घरमा आगजनी भएपछि परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा पठाइयो भने थापा आफैं अर्को स्थानतर्फ गए ।

घटनापछि तेस्रो दिन थापाका साथीहरूले घरमा गएर निरीक्षण गर्दा चोर आफ्नै लुगा लगाएर उनीहरूको खाटमा सुतेको भेटिएको थियो । चोरलाई सोध्दा उनले पहिलो दिन लुगा चोरेको र केही बाँकी रहेको हेर्न आएको र एकछिन सुत्न मन लागेको बताएको थापाले सुनाए । घटनास्थलमा चोरलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएको थियो ।

थापाले आफ्नो बसाइसम्बन्धी समस्या पनि सार्वजनिक गरे। घर जलेपछि बानेश्वरमा डेरा खोज्दा घरबेटीले सुरुमा कोठा दिने भनी भने पनि पछि ‘यहाँ पानी आउँदैन’ भन्दै बस्न नदिएको उनले बताए । पछि उनी बूढानीलकण्ठ चपलीमा आफ्ना आमाबुबासँगै बस्न बाध्य भए । घर जल्नुको घटना सामान्य रुपमा लिनुपर्ने उनको प्रतिक्रिया रहेको छ । उनले भने, ‘आमाले भन्नु भयो, तेरो ज्यान जोगियो, त्यही ठूलो कुरा भयो ।’ जन्मेको घर पूर्ण रूपमा जलेर पुनर्निर्माण आवश्यक भएकोले केही दिनभित्र घर भत्काएर पुनः बनाउने तयारी भइरहेको उनले जानकारी दिए । यसैबीच, थापाले आफ्नो अनुभव सुनाउँदै निर्दोषको मृत्यु हुने अन्य घटनासँग आफ्नो घर जल्नु सामान्य घटना भएको प्रतिक्रिया व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *