सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने
सुदूरपश्चिम – लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ ।
सभामुख भीमबहादुर भण्डारीले आज बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पुस ११ गते प्रदेशसभाको बैठक बस्ने निर्णय भएको जानकारी दिनुभयो ।
चालु बजेट अधिवेशनअन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएपछि नियमित बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले क्षति पुगेका संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको र पुस ११ गते दिउँसो २ः०० बजे चालु बजेट अधिवेशनको बैठक बस्ने निर्णय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुष ११ मा बैठक बस्ने र लगत्तै चालु अधिवेशन अन्त्य गरेर हिउँदे अधिवेशन बोलाउने विषयमा सरकारसँग परामर्श भइरहेको छ । त्यसो हुन नसकेमा चालु अधिवेशनका थप बैठक बस्नेछन् ।”
