जेनजी आन्दोलनबारे मानवअधिकार आयोगले लियो बालेनसँग दुई घण्टा बयान
काठमाडौं । भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग करिब दुई घन्टा लामो बयान लिएको छ ।
आयोगको बोलावटमा सोमबार आयोग पुगेका मेयर शाहसँग आन्दोलनका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमार्फत आएका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्थापन तथा दमकल घटनास्थलमा ढिलो पुगेको विषयमा विस्तृत सोधपुछ गरिएको आयोग स्रोतले जनाएको छ । यद्यपि, शाहले दिएको जवाफ छानबिन प्रक्रियाको संवेदनशीलता कारण सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले विवरण खुलाएको छैन ।
जेन–जी आन्दोलनका क्रममा भएको भनिएका मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा आयोगले सदस्य लिली थापाको संयोजकत्वमा विशेष छानबिन समिति गठन गरी काम गरिरहेको छ । आयोगका अनुसार हालसम्म १४६ जनाको बयान संकलन भइसकेको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, प्रहरीद्वारा गरिएको बल प्रयोग, राज्यका निकायहरूको पारदर्शिता र जवाफदेहिता, साथै दण्डहीनताको अवस्थालाई आधार बनाएर छानबिन भइरहेको छ । उनले छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी नेपाल प्रेसलाई दिएका छन् । आयोगले छानबिनको निष्कर्ष सार्वजनिक भएपछि आवश्यक सिफारिससहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्ने तयारी गरेको जनाएको छ ।
