एकैचोटी फर्किदै अमेरिका र चीनका राजदूत
काठमाडौँ । नेपालमा कार्यरत अमेरिका र चीनका राजदूत एकै समयमा स्वदेश फर्किन लागेपछि कूटनीतिक तथा राजनीतिक वृत्तमा चासो बढेको छ । आन्तरिक राजनीतिक उतारचढावबीच शक्ति राष्ट्रका प्रतिनिधिहरूको प्रस्थानलाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ ।
बेइजिङको निर्णयअनुसार चीनका राजदूत चेन बुधबार नेपाल छोड्ने तयारीमा छन् । उनलाई चिनियाँ विदेश मन्त्रालयको एसियाली विभागको महानिर्देशक पदमा बढुवा गरिएको छ । यसबारे चिनियाँ पक्षले नेपाल सरकारलाई औपचारिक जानकारी गराइसकेको छ । चेनले काठमाडौंमा आफ्नो कार्यकाल समापन गर्दै प्रधानमन्त्री सुशीला कार्की, उच्च सरकारी अधिकारी तथा विभिन्न राजनीतिक नेताहरूसँग विदाई भेटघाट गरिसकेका छन् । तर उनको स्थानमा को आउने भन्ने विषयमा बेइजिङले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
जनवरी २०२३ मा कूटनीतिक जिम्मेवारीसहित काठमाडौं आएका चेनले नेपाल–चीन सम्बन्धलाई विशेष र अनौठो मित्रताका रूपमा व्याख्या गर्दै आएका थिए । आइतबार चिनियाँ दूतावासमा आयोजित विदाई समारोहमा उनले आफू जहाँ रहे पनि नेपालको विकास प्रयासलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल आउनुअघि नै चीन–नेपालमैत्रीको समर्थक रहेको उल्लेख गर्दै उनले तीन वर्षको अवधिपछि आफू दुवै देशका जनताको आजीवन मित्र बनेको गर्वका साथ बताएका थिए । उनले नेपाल सरकार, कर्मचारीतन्त्र, कूटनीतिक समुदाय, सञ्चारकर्मी र नेपाली समाजका विभिन्न वर्गप्रति सहयोगका लागि धन्यवाद समेत व्यक्त गरे ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनलाई पनि फिर्ता बोलाएको छ । वासिङ्टन डिसी डेटलाइनमा एशोसिएटेड प्रेसले प्रकाशित गरेको समाचारअनुसार थम्पसनसहित कम्तिमा २९ जना राजदूत तथा वरिष्ठ कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरिएको हो । उनीहरूको कार्यकाल जनवरीमा सकिन लागेको जानकारी दिइएको छ । काठमाडौँसँगै श्रीलंकाबाट पनि अमेरिकी राजदूतलाई फिर्ता बोलाइएको एपीले जनाएको छ ।
थम्पसनलाई जो बाइडेन नेतृत्वको सरकारले मार्च २०२२ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनले अक्टोबर २०२२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । दुई दशकभन्दा बढी, करिब २८ वर्ष अमेरिकी कूटनीतिमा काम गरेको अनुभव बोकेका थम्पसनको फिर्तीबारे भने अमेरिकाले अहिलेसम्म नेपाल सरकारलाई औपचारिक जानकारी गराइसकेको छैन ।
एकै समयमा अमेरिका र चीनका राजदूत नेपालबाट विदा हुन लाग्नु सामान्य संयोग मात्रै हो वा बदलिँदो भूराजनीतिक सन्दर्भसँग जोडिएको विषय हो भन्ने प्रश्नले अहिले कूटनीतिक वृत्तमा चर्चा पाएको छ । नेपालमा आगामी दिनमा हुने कूटनीतिक गतिविधि र नयाँ राजदूतहरूको नियुक्तिलाई चासोका साथ हेरिने संकेत देखिएको छ ।
