चितवन पुगेर रविको प्रष्टिकरण : बालेनलाई प्रधानमन्त्री बनाउने छलफल भएको छैन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने विषयमा कुनै औपचारिक छलफल सुरु नभएको स्पष्ट पारेका छन् । नयाँ र वैकल्पिक भनिएका शक्तिहरूबीच संवाद र सहकार्यको प्रयास स्वरूप मात्रै भेटघाट भएको उनको भनाइ छ ।
अदालतको तारेखमा हाजिर हुन भैरहवा जानुअघि मंगलबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सोमबार राति काठमाडौँमा भएको बालेनसँगको भेटघाट एक–अर्कालाई बुझ्ने चरणमै सीमित रहेको बताएका हुन् । ‘हामी त्यस चरणमा प्रवेश गरेका छैनौं । पहिले त बुझ्नु पर्छ, कुराकानी गर्नुपर्छ, परिस्थितिबारे जानकारी लिनुपर्छ’, उनले भने ।
पत्रकारहरूले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो कि होइन भन्ने प्रश्न गरेपछि लामिछानेले त्यसलाई हल्ला मात्रै भएको संकेत गरे । उनका अनुसार अहिलेको प्राथमिकता सत्ता समीकरण होइन, साझा दृष्टिकोण भएका नयाँ शक्तिहरूबीच विश्वास र समझदारी बढाउनु हो । ‘विस्तारै राजनीतिक विषयमा प्रवेश गर्छौँ’, उनले थपे ।
लामिछानेले रास्वपाले अघि सारेको नीति अनुसार नै नयाँ र वैकल्पिक भनिएका सबै व्यक्तित्व तथा समूहहरूसँग संवाद भइरहेको बताए । बालेनसँगको भेट पनि सोही निरन्तर प्रयासको एक कडी भएको उनको भनाइ छ । ‘हामीले सुरुदेखि नै नयाँ शक्तिहरूसँग संवाद गर्ने भनेका थियौं’, उनले भने, ‘त्यही अनुसार छलफल अगाडि बढेको हो ।’ उनले बालेनसँग मात्र नभई अन्य व्यक्तित्वहरूसँग पनि छलफलको तयारी भइरहेको जानकारी दिए । ‘अब हामी अन्य राजनीतिक तथा वैकल्पिक शक्तिहरूसँग पनि कुरा गर्छौँ’, उनले भने, ‘हामी नेपाली नामक एनजीओका सुदन गुरुङजीसँग र कुलमान घिसिङजीसँग पनि छलफल गर्ने तयारीमा छौं ।’
लामिछानेका अनुसार यी सबै संवादको उद्देश्य कुनै एक व्यक्तिलाई अघि सार्नु भन्दा पनि साझा एजेण्डा र सहकार्यको सम्भावना खोज्नु हो । ‘सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौ’, उनले भने, ‘मैले भनेअनुसार रास्वपा आफ्नै बाटोमा अगाडि बढिरहेको छ ।’ यसरी, पछिल्लो समय चर्चामा आएका भेटघाट र संवादहरूलाई सत्ता केन्द्रित सहमतिको रूपमा बुझ्नु हतारो हुने र अहिलेको चरण विश्वास निर्माण र समझदारी विस्तारमै केन्द्रित रहेको रास्वपाको स्पष्ट सन्देश छ ।
