जाँचबुझ आयोगले बयानमा बोलाएपछि सभापति देउवासँग परामर्श लिँदै लेखक
काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझका लागि गठित आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि तत्कालीन गृहमन्त्री रमेश लेखक आन्तरिक परामर्शमा जुटेका छन् । आयोगमा जाने वा नजाने भन्ने विषयमा निर्णय लिन लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।
आयोगलाई दिइने सम्भावित बयानबारे सल्लाह लिन लेखक बुधबार सभापति देउवाको महाराजगञ्जस्थित भाडाको निवासमा पुग्ने तयारीमा छन् । महाराजगञ्ज स्रोतका अनुसार छलफलका लागि लेखकलाई बोलाइएको हो, यद्यपि भेटघाटको ठ्याक्कै समय सार्वजनिक गरिएको छैन । ‘छलफलका लागि आउने कुरा छ,’ स्रोतले जनाएको छ । यसअघि लेखकले आयोगले बयान दिन बोलाएको विषयमा ‘सल्लाह गरिरहेको’ प्रतिक्रिया दिएका थिए । आयोगले पत्र पठाएको खबर सुने पनि आफूले औपचारिक पत्र नपाएको उनको भनाइ छ । ‘हिजो पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन,’ उनले भनेका थिए, ‘के गर्ने भन्ने विषयमा सल्लाह गर्दैछु ।’
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार उक्त पत्र लेखकलाई पठाइसकिएको छ । आयोगले लेखकको बयान सकिएपछि तत्कालीन प्रधानमन्त्रीको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र लेख्ने तयारी गरेको छ । प्रवक्ता शर्माले आयोगले चरणबद्ध रूपमा तत्कालीन जिम्मेवार पदाधिकारीहरूसँग कुरा गर्ने योजना बनाएको बताए । ‘पहिला तत्कालीन गृहमन्त्री ज्यूसँग कुरा हुन्छ, त्यसपछि तत्कालीन प्रधानमन्त्री ज्यूलाई पत्र लेखिन्छ,’ उनले भने ।
आयोगले छिटोभन्दा छिटो जाँचबुझको काम सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य लिएको शर्माको भनाइ छ । ‘सत्यतथ्य के हो, त्यही जानकारी सरकारलाई दिने हाम्रो दायित्व हो,’ उनले भने, ‘अहिलेसम्म जिम्मेवार पदाधिकारीहरूले सहयोग गर्दै आउनु भएको छ, आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास छ ।’ यद्यपि, आयोगबाट पत्र पठाइएको समाचार सार्वजनिक भएपछि लेखक बयानमा उपस्थित हुने वा नहुने भन्ने विषयमा अझै परामर्शमै छन् । अर्कोतर्फ, तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगको हैसियतमाथि नै प्रश्न उठाउँदै बयान दिन नजाने अडान लिँदै आएका छन् ।
