कांग्रेस महाधिवेशन कार्यतालिका अन्योलमा, तीन तहको अधिवेशन प्रस्तावमा छलफल जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा पार्टीको आगामी महाधिवेशन कार्यतालिका पुनः अन्योलमा परेको छ । समसामयिक राजनीतिक अवस्था, पार्टी संगठनको तयारी, राष्ट्रियसभा निर्वाचन र उम्मेदवार छनोटका मापदण्डलगायत विषयमा केन्द्रित बैठकमा मुख्य चासो भने महाधिवेशन समयमै सम्पन्न गर्न सकिने–नसकिने विषयमै देखिएको छ ।
कांग्रेसले यसअघि पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि त्यसका लागि आधारभूत मानिने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम अझै टुंगिन सकेको छैन । कार्यतालिका अनुसार काम अघि नबढेपछि तोकिएको समयमै वडा, क्षेत्र, प्रदेश हुँदै केन्द्रसम्मका सबै तहका अधिवेशन सम्पन्न गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन् । यही कारणले बैठकमा हालको अवस्थामा सबै तहको अधिवेशन सम्भव नभएकाले तीन तहको अधिवेशन मात्रै गरेर केन्द्रीय महाधिवेशनमा जाने विकल्पबारे गम्भीर छलफल भएको छ ।
मंसिर १५ गते सार्वजनिक गरिएको कार्यतालिकाअनुसार पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गरी छ तहको अधिवेशन पूरा गर्दै पुस २६–२८ मा केन्द्रीय महाधिवेशन गर्ने योजना थियो । तर सदस्यता वितरणकै काम नसकिँदा उक्त तालिका व्यवहारिक नभएको नेताहरूको बुझाइ छ । त्यसैले वडा अधिवेशनको मिति केही पर सार्दै पुस २० गतेतिर वडा, पुस २३–२४ तिर क्षेत्रीय र पुस २६–२८ गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव बैठकमा अघि सारिएको छ, जसमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।
महामन्त्री गगन थापाले आम निर्वाचनअघि महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने धारणा राख्दै तीन तहको अधिवेशन गरेर भए पनि पार्टीलाई महाधिवेशनमा लैजान सकिने प्रस्ताव अघि सारेका छन् । उनको तर्क छ– संगठनात्मक वैधता र नेतृत्व चयनबिनै चुनावमा जानु पार्टीका लागि दीर्घकालीन रूपमा घातक हुन सक्छ । यसका विपरीत सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू भने अहिलेको अवस्थामा महाधिवेशन गर्न समय अपुग हुने भन्दै आवश्यक परे वैशाखसम्म सार्नुपर्ने मतमा देखिएका छन् ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति नजुटेमा विशेष महाधिवेशनको विकल्प समेत तयार राख्ने महामन्त्री थापा पक्षको रणनीति रहेको बताइएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा उम्मेदवारको मापदण्ड र पार्टीको भूमिका बारे पनि छलफल हुने कार्यक्रम छ । कार्यसम्पादन समिति बैठकको निष्कर्षले कांग्रेसको महाधिवेशनको दिशा मात्र होइन, आगामी आम निर्वाचनतर्फ पार्टी कसरी अघि बढ्छ भन्ने कुरा पनि तय गर्ने अपेक्षा गरिएको छ ।

