`

दुई राप्रपाबीच एकताको सम्झौता, लिङ्देन र थापाले खुशी हुँदै मारे अँगालो

Nepal One HD ९ पुष २०८२ २०:१५
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आइतबार काठमाडौंको धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया अघि बढाएका हुन्।

दुई वाक्य मात्र समेटिएको सहमतिपत्रमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने र त्यसको औपचारिक घोषणा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा गर्ने उल्लेख छ । सहमतिपत्रमा हस्ताक्षरपछि दुवै नेता खुशी हुँदै एक–अर्कालाई अंकमाल गरेका थिए ।

एकतापछि पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन रहने सहमति भएको छ भने कमल थापालाई पूर्व अध्यक्षको हैसियत प्रदान गरिनेछ । लामो समयदेखि विभाजित रहेको राप्रपाको दुई धार पुनः एक ठाउँमा आउनुलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।

२०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । त्यसअघि मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा उनी अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । थापाले निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । तर, त्यसमा सहमति नजुटेपछि उनी अलग भएर राप्रपा नेपाल गठन गरेका थिए ।

करिब चार वर्षपछि दुई पार्टीबीच पुनः एकताको सहमति जुटेपछि राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा बोकेको राप्रपाको शक्ति एकीकृत हुने अपेक्षा गरिएको छ । पुस १६ गते हुने एकता घोषणासभालाई दुवै पक्षले भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *