`

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना नभई राप्रपा सत्तामा जाँदैन : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना नभईकन राप्रपा सत्तामा नजाने बताएका छन् । आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पारे । उनले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर गरे । उनले काठमाडौँ क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरूको धेरै ठुलो संख्या रहेको बताए । राजतन्त्रवादी जनमतलाई भोटमा बदल्न सके विजयी निश्चित रहेको बताए ।

उनले भने ‘हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना नभईकन हामी सत्तामा जानु छैन । सत्ता केन्द्रित राजनीति गर्ने छैनौँ । यो सन्देश हामीले प्रत्येक नेपालीलाई दिन सक्नुपर्छ । स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर जाँदा देश विदेशमा एउटा बलियो सन्देश जान्छ । त्यसका लागि हामी निरन्तर रूपमा खटिरहेका छौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरूको धेरै ठुलो संख्या छ । जनमत छ । त्यो जनमतलाई भोटमा परिणत गराउनसके फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ ।’ उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने भए राप्रपालाई विजयी गराइ काम गर्ने मौका दिन आग्रह गरे ।

रुपन्देही–२ मा राप्रपाकी कर्भिका थापाले फिर्ता लिइन् उम्मेदवारी

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राप्रपा उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । कसैले विरोध र उजुरी नगरे पनि पार्टीले भनेपछि उम्मेदवारी फिर्ता लिएको उनले बताइन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिनु पर्नेमा त्यो अवधि नपुग्दै उम्मेदवारी दिएको हुँदा फिर्ता लिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनका लागि मनोनयन पाउनु आफ्नो लागि ठूलो सम्मान भएको उनले उल्लेख गरेकी छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार थापा विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन तथा सीप आर्जनमा संलग्न रहँदै आएकी थिइन् ।

राप्रपा उम्मेदवार भण्डारीसँग आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–४ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) उल्लंघन गर्दै लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित घृणित अभिव्यक्ति दिएको र समाजमा भ्रम फैलाएको आरोपमा उनीविरुद्ध आयोगमा उजुरी परेको थियो । उजुरीमा भण्डारीको उम्मेदवारी तत्काल खारेज गरी हदैसम्मको कारबाही गर्न माग गरिएको थियो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा भण्डारीले बोलेको देखिने श्रव्यदृश्य सामग्रीसमेत प्राप्त भएकाले स्पष्टीकरण सोधिएको उल्लेख छ । पत्रमा ज्येष्ठ नागरिक, महिला, यौनिक अल्पसङ्ख्यक समुदाय तथा अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्रहत्या हुने किसिमको निर्वाचन प्रचारप्रसार गर्न नहुने आचारसंहिताको व्यवस्था विपरीत अभिव्यक्ति दिएको हो वा होइन भन्ने प्रश्न गरिएको छ ।

यदि त्यस्तो अभिव्यक्ति दिएको हो भने किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही गर्नु नपर्ने हो भन्ने स्पष्ट आधारसहित जवाफ दिन आयोगले निर्देशन दिएको छ । आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न भण्डारीलाई भनेको छ ।

 

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो, राप्रपाको आपति

काठमाडौं । साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ । ब्युरोको टोलीले उनलाई फोन गरी कार्यालयमा बोलाएको हो । उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

‘गम्भीर विषय होइन, केही विषयमा बुझ्नका लागि उहाँलाई बोलाइएको हो,’ उनले भने । नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनु पर्छ भनेर टिप्पणी गरेका थिए । उनी राप्रपाबाट झापा–२ मा उम्मेदवार छन् । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएकोमा विरोध जनाएका छन् ।

‘पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए अहिले पनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउनु पर्छ, म पृथ्वीनारायण शाह जस्तै आफ्नै परिवारको भएपनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउँछ भनेको विषयमा पक्राउ गर्न खोजिएको रहेछ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् । उनले अनावश्यक दुःख दिन खोजेको र चुनावी गति अवरूद्ध गर्ने प्रयास सह्य नहुने पनि बताएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे झापा–३ मा उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् । लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि उनले देश बचाउन र बनाउन आफूलाई जिताउन आह्वान गरेका छन् ।

 

काठमाडौं–१ मा तेस्रो पटक रवीन्द्र मिश्र, आठ उम्मेदवार टुङ्गो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । मिश्रलाई काठमाडौं–१ को उम्मेदवार बनाउने राप्रपाको निर्णय छ ।
उनी यसअघि दुई पटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेर पराजित भएका हुन् ।

राप्रपाले काठमाडौं–२ बाट कुन्ति पोखरेल ३ मा डा. सुन्दरसिंह बोहरा, ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, ५ मा कमल थापा, ६ मा उद्धवराज भेटवाल, ७ मा लालकुमार लामा ८ मा नविन शाही र १० मा बलराम थापा उम्मेदवार चयन गरिसकेको छ । राप्रपाले काठमाडौंका ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी २ क्षेत्रमा पनि सहमति नजिक रहेको पार्टी स्रोतले बतायो ।

 

 

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्न सक्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताएका छन् । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउन सके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाए ।

उनले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरु एक भइरहेकाले यो असम्भव नरहेको बताए । उनले राप्रपामा समाहित हुने क्रम तीब्र रुपमा बढेर गएको पनि बताए । २०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गरे ।

उनले भने, ‘आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो पार्टीको रुपमा हामी ले जिताउन सक्छौँ । पहिलो पार्टी बनाउनु पर्छ । सामान्य आँखाले हे¥यो भने कठिन जस्तो, असम्भव जस्तो लाग्छ तर आज तपाईंहरु हेर्नुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा २०५१ सालको निर्वाचन बाहेक राप्रपा कहिले दुई वटा, कहिले तीन वटा गरी अनेक खण्डमा विभाजित भएर चुनावमा गयो । पहिलोपल्ट राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राप्रपा पार्टी मात्रै भएर चुनावमा जाँदैछ । राप्रपामा समाहित हुने क्रम तीब्र रुपमा बढेर गएको छ । २०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ ।’

अध्यक्ष लिङदेनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए । आगामी दिनमा आफू राजतन्त्र पुनःस्थापनाको लागि प्रतिवद्ध रहने बताए । आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा लागन आग्रह गरे । मुलुकमा अभिभावकको भुमिकामा राजसंस्था हुुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्नेहरु एक हुनुपर्ने बताए ।

 

 

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उहाँहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो ।

भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिए । सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताएका थिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

 

भू–राजनीतिक चुनौतीबीच मौलिक पहिचान आवश्यक : खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीले भेनेजुएलामा भर्खरै घटेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले आफ्नो राष्ट्रिय हित, मौलिक पहिचान र आन्तरिक शक्ति सुदृढीकरणमा गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् । ओलीले सार्वजनिक गरेको धारणा अनुसार शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकाससहित विभिन्न शहरमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको घटनाले आजको अन्तर्राष्ट्रिय राजनीतिक यथार्थलाई उजागर गर्छ ।

उनका अनुसार विश्व शक्तिहरूले आफ्नै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कदम चाल्ने प्रवृत्ति नयाँ नभए पनि यसले साना र भू–राजनीतिक रूपमा कमजोर राष्ट्रहरूलाई गहिरो चुनौती दिएको छ । उनले भेनेजुएलाले इतिहासभरि आफूलाई जोगाउने प्रयास गरे पनि अन्ततः बाह्य दबाब सामना गर्न नसकेको दाबी गर्दै यसलाई ‘आजको वैश्य–युगको यथार्थ’ का रूपमा व्याख्या गरेकी छन् । यही सन्दर्भ जोड्दै उनले नेपाल जस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशले अन्तर्राष्ट्रिय राजनीतिक पौंठेजोरीमा सधैं आफ्नै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन् ।

नेपालको वर्तमान अवस्थातर्फ संकेत गर्दै ओलीले देशले आफ्नै राष्ट्रिय आधार बलियो बनाउनुको साटो माक्र्सवाद, लेनिनवाद, माओवाद, धर्मनिरपेक्षता र संघीयता जस्ता आयातित विचारधाराको संरक्षणमा बढी समय खर्चिएको आरोप लगाइन् । उनका अनुसार यी विचारधाराहरू न त नेपालको माटोबाट जन्मिएका हुन्, न त नेपाली सभ्यता र ऐतिहासिक अनुभवबाट विकसित र तिनले अहिलेसम्म नेपालको दीर्घकालीन राष्ट्रिय हित सुरक्षित गर्न सकेको प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने अवस्था आएको छ । राप्रपाले दशकौँदेखि वैचारिक परनिर्भरताको विरोध गर्दै आएको उल्लेख गर्दै ओलीले पार्टीको धारणा स्पष्ट रहेको बताइन्–नेपालको राष्ट्रिय हित आयातित विचारबाट होइन, देशको मौलिकता, सभ्यतागत पहिचान र ऐतिहासिक निरन्तरताबाट मात्र सुरक्षित हुन सक्छ ।

उनले अब समय आएको भन्दै हिन्दू राष्ट्रको अवधारणा, राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था, तथा केन्द्र–स्थानीय तहमा आधारित संरचनामार्फत आर्थिक विकासका विषयमा खुला, साहसी र निर्णायक राष्ट्रिय बहस आवश्यक रहेको बताइन् । शक्तिमा आधारित र व्यवहारिक राष्ट्रिय हितद्वारा निर्देशित वर्तमान विश्व व्यवस्थामा नेपालले ‘वैचारिक भ्रमको विलास’ गर्न नसक्ने उनको निष्कर्ष छ । ओलीको भनाइ अनुसार अब नेपालले बाहिरमुखी सोचभन्दा भित्रतिर फर्किएर आफ्नै पहिचान, शक्ति र आर्थिक सबलतामा आधारित राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ । उनले अन्त्यमा राष्ट्रवादप्रति प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय हित केन्द्रमा राखिएको बहस र निर्णयको आह्वान गरेकी छन् ।

 

लिङदेनको आरोप : कति सिट जित्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ भन्नेहरू सिद्धान्त र विचारले नयाँ नभएको जिकिर गर्दै प्रधानमन्त्रीको दलालीमा लागेको आरोप लगाएका छन् । राप्रपा र राप्रपा नेपालबीच बुधबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नयाँ पार्टीहरू एकाएक जोडिनुलाई शंकाका रुपमा लिएको जनाएका छन् ।

‘नयाँ भन्ने पार्टीहरू कसरी जोडिए ? अघिल्लो दिन एकले अर्कोलाई के भनेर गाली गरिरहेका थिए, रातारात जोडिए । कसले जोड्यो ?,’ अध्यक्ष लिङदेनले भने, ‘जोडिएर के गर्ने भन्ने केही थाहा छैन । कति जित्ने भन्ने थाहा छैन । पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो ।’ नयाँ पार्टीहरू विचारविहीन भएको उनको भनाइ थियो । ‘सिद्धान्त के हो, विचार के हो, स्पष्ट छैन,’ उनले भने । जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) पनि कमजोर भएको उनले जिकिर गरे । माओवादी त आफ्नो नामै फेरेर गएको उल्लेख गर्दै लिङदेनले भने, ‘हाम्रो एजेण्डाका लागि यो उर्वर समय हो ।’

यस्तो अवस्थामा आउँदो प्रतिनिधि सभाको चुनावलाई आन्दोनलका रुपमा लिन अध्यक्ष लिङदेनले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘फागुन २१ को चुनाव समस्याको समाधान होइन । जेनजी विद्रोह २०८४ सालको चुनाव २०८२ मा गर्नका लागि भएको होइन । राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सबैको सर्वपक्षीय सहमतिबाट चुनाव गर्नुपर्छ । तर, जबजस्ती गरेर मुलुक चुनावतिर गएको छ,’ उनले भने, ‘चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेछ । चुनावलाई आन्दोलनका रुपमा प्रयोग गर्न, आफ्नो क्षेत्रमा खटिन आग्रह गर्दछु ।’

अध्यक्ष लिङदेनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् । ‘कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छाडेर जानुभयो, म पार्टीको अध्यक्ष, मैले रोएर हिँड्न पनि नहुने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि नहुने । उहाँ नभएर पनि चल्छ भन्नुपर्‍यो । चलायौं पनि,’ उनले भने । लिङ्देनले भने, ‘तर मनमा एक प्रकारको रिक्तता भइरहेको थियो । आज त्यो पूरा भएको छ । सबै जना बेखुसी हुनुहुन्थ्यो, आज त्यो पूर्ण भएको छ । सबैजना खुसी हुनुहुन्छ, सबैभन्दा बढी म खुशी छु ।’

उनले पार्टीलाई कसैले पनि एक्लै चलाउन नसक्ने भन्दै सबै मिलेर अघि बढ्नु पर्ने बताए । पार्टी अध्यक्षको हिसाबले आफूले त्यसको नेतृत्व लिने पनि बताए । ‘कोही एक्लैले चलाउने होइन, हामी सबैले मिलेर चलाउने हो । पार्टी अध्यक्षको हिसाबले सबैलाई मिलाएर लान्छु । तपाईंहरूले अन्यथा सोच्नु पर्दैन, सबैलाई मिलाएर लैजाने जिम्मा मेरो हो,’ अध्यक्ष लिङ्देनले भने ।

नयाँ उदाएका शक्तिहरुमा जेलेन्स्की प्रवृति : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । बुधवार काठमाडौँमा एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वषौँपछि घर फर्किएको अनुभूति भइरहेको बताए । उनले २०७८ सालको ऐतिहासिक महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट एक्लै अलग्गिएको भए पनि देशभरको संगठनसहति घर फर्किएको जिकिर गरे । उनले आफूमाथि लाग्दै आएको गीताको कसम खाएर पनि पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गरे ।

उनले भने, ‘मलाई आज घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कदाखेरि जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ । वास्तवमा २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राष्ट्रिय प्रजातन्त्र पार्टी (घर) छोडेर गएको थिएँ खुशीले होइन । मन रोईरोई एक्लै अलग भएको थिएँ । त्यसपछि मान्छेहरूले गीताको कसम खाएको मान्छेले पार्टी फुटायो भनेर आरोप पनि लगाएँ । हारेर भाग्यो पनि भने तर यी सबै आरोपहरूमा कुनै सत्यता छैन । एउटा खेलाडी पनि भएको नाताले हारलाई सहर्ष स्वीकार गर्ने चरित्र ममा छ । विभिन्न कारणले घर छोडेर गएँ । गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप निकारण होला पनि भन्ने ठानेको छु । यद्यपि त्यसमा सत्यता थिएन ।’

उनले गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप असत्य आरोपहरू निराकरण भइसकेको आफ्नो विश्वास रहेको पनि बताए । उनले इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए । २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छोडेका थिए । चार वर्षपछि दुवै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः मूल राप्रपामा फर्किएका हुन् ।

उनले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुक आज समस्या नै समस्याको दलदलमा फसेको आरोप पनि लगाए । थापाले नयाँ उदाएका शक्तिहरूमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की प्रवृत्ति देखिरहेको बताएका छन् । थापाले जेलेन्स्की प्रवृत्तिबाट बच्नुपर्ने बताएका छन् । ‘अहिलेसम्मका घटना क्रम हेर्ने हो भने नयाँ उदयमान शक्तिहरूमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रवृत्ति देखिरहेको छु,’ थापाले भने, ‘चर्काचर्का नारा दिएर लोप्रियता हासिल गर्ने, त्यसकै आधारमा जनमत लिने र अनि मुलुकलाई बर्बाद पार्ने जेलेन्स्की प्रवृत्ति देखिएको छ ।’

कला क्षेत्रबाट उदाएका युक्रेनी राष्ट्रपति जेलेन्स्की हाँस्य कलाकार हुन् । उनी हाँस्य कलाबाट लोकप्रिय हुँदै राजनीतिमा आएका थिए । उनी राष्ट्रपति भएपछि युक्रेनले रूससँग युद्ध खेपिरहेको छ । थापाले त्यसैलाई इंगित गर्दै अहिलेका नयाँ शक्तिहरूबाट सचेत रहन आग्रह गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र रास्वपाको उपसभापति कुलमान घिसिङले सच्चिनु पर्ने उनको भनाइ थियो । उनीहरू विचारविहीन भएको थापाको टिप्पणी थियो ।

‘कुनै वैचारिक धरातल छैन, कुनै एजेण्डा छैन,’ थापाले भने, ‘रवि, बालेन, कुलमानभन्दा ओली, देउवा र प्रचण्ड कम क्रान्तिकारी थिएनन् । तर, अवधारण, संरचनागत र नीतिगत परिवर्तन नगर्ने हो भने ओली, देउवा र प्रचण्डलाई यो अवस्थामा आउन २० वर्ष लाग्यो, नयाँ प्रवृत्तिलाई पाँच वर्ष पनि लाग्दैन ।’ जेनजी आन्दोलनको एजेण्डा अपरहण गरिएको उनको आरोप थियो । जेनजी आन्दोलन एकाएक नआएको उनको जिकिर थियो । ‘हामीले तयार गरेको जनचेतना र जनजागरणको जगमा जेनजी आन्दोलन भएको हो । तर सकिन पाउँदा नपाउँदै मध्य रातमा देशी विदेशी शक्तिले आन्दोलनले मुखरित गरेको एजेण्डलाई अपरहण गरे,’ थापाले भने, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकलाई जोगाइयो ।’

आगामी निर्वाचनका लागि सबै मिलेर लागौं, आँट ठूलो कुरा हो : जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्ने गरी निर्वाचन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आउने चुनावको सामना गर्न सक्ने आँट सबैभन्दा ठूलो कुरा भएको बताए । उनले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताए । सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उनको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा प्रयत्न गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘अब आउने चुनाव सामना गर्ने आँट हाम्रो सबैभन्दा ठूलो कुरा हो । त्यसमा हामी सबै मिलेर त्यसमा लागौं । कमल थापाजीलाई म स्वागत गर्दछु । हामी सबै मिलेपछि महत्वपूर्ण जित निकाल्ने छौँ । हामीले हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा हाम्रो प्रयत्न हुनुपर्छ । तर जहाँ हाम्रो सम्भावना दरो छ, जहाँ जित्ने निर्वाचन क्षेत्र छ, त्यसमा हामी लागि पर्नुपर्छ ।’ पूर्व अध्यक्ष जबराले सबै नेताहरू निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए । उनले रास्वपाका रवि लामिछाने, कुलमान घिसिङ र बालेन मिलेर चुनावमा गए वहुमत ल्याउन सक्ने समेत बताएका छन् ।

 

राप्रपा र राप्रपा नेपालबीच एकताको ६ बुँदामा के छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चार वर्षपछि फेरि एकता भएको छ । यसअघि पनि यी दुई पार्टीबीच एकता भएको थियो । तर एकीकृत पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्यूँताएका थिए । उनले सोही वर्ष फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए । आज फेरि ६ बुँदे आधार पत्रमा हस्ताक्षर गर्दै उनीहरू एक ठाउँमा आएका छन् । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ एकीकरणको निर्णयमा पुगेको उनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एकताका ६ बुँदाहरू :

१) राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शन अन्तर्गत सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरणपश्चातको मार्ग दर्शन हुनेछ ।

२) राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित विधान पार्टीको विधान हुनेछ । एकीकरण पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह (हलो) र झण्डा नै कायम हुनेछ ।

३) राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको केन्द्रीय अध्यक्ष हुनु हुनेछ ।

४) राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय कार्य समितिका सदस्यहरू एकीकृत पार्टीमा तत्कालीन महाधिवेशन हुँदा कायम रहेको पदमा रहने छन् । सहमतिको आधारमा एकीकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहने छन् ।

५) सहमतिको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसिरमा सम्पन्न महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिनेछ ।

६) राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्बन्धित भातृसंगठनहरूमा सम्मानजनक ढंगबाट समायोजन गरिने छ ।

देश जोगाउन निर्वाचनअघि नै राजा, दल र जेनजीबीच नयाँ समझदारी गरौं : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सरोकारवालाहरू सबैले नयाँ समझदारी गर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गरे । उनले देश जोगाउने हो भने राजा, राजनीतिक दल र जेन–जी सहितको नयाँ समझदारी गर्नुपर्ने बताए। अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठुलो द्वन्द्व निम्त्याउने बताए । उनले अहिले देश गम्भीर दुर्घटनाको डिलमा रहेको बताए ।

अध्यक्ष लिङदेनले भने ‘यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता, यही संविधान र यही संवैधानिक व्यवस्थाबाट यो देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ रु यही संविधान र यही व्यवस्थाअन्तर्गत हुने चुनावबाट भविष्यमा यो भन्दा पनि ठुलो द्वन्द्व हुनसक्ने सम्भावनाबाट रोक्न सकिन्छ ? नेपाली पन र नेपाली मन जीवित छ भने यो भ्रष्ट व्यवस्थाबाट देश उँभो लाग्दैन ।’

उनले भने, ‘देश बचाउने र बनाउने हो भने यो चुनावअघि नै राजा, राजनीतिक दल, नवयुवाहरूको पुस्ता र सबै सरोकारवालाहरूसँगबाट नयाँ समझदारी कायम गरेर कुनै पार्टी, कुनै शक्तिले हार्ने, जित्ने नभई कसैले नहार्ने र देशले जित्ने नयाँ समझदारी कायम गरौँ । आज देश गम्भीर दुर्घटनाको मुखमा पुगेको छ । भदौ २३ र २४ गतेको घटना हाम्रो आँखाले देखेका छौँ । काँग्रेस र कम्युनिस्टहरूले नाम नै फेरिसके । माओवादीले त आफ्नो नाम पनि भन्न नसक्ने भनेर नाम नै फेरिसक्यो । माओवादी भन्यो भने त फेला परिएला भनेर । यिनीहरूले देश चलायौँ भन्थे, हामीले देश चलाइरहेका छौँ भन्थे ।’ अध्यक्ष लिङदेनले नेपाली मन र नेपाली पन जीवित छ भने अहिलेकै प्रणालीबाट देश अघि बढ्न नसक्ने बताए ।

 

चुनाव जित्नु छैन, प्रधानमन्त्री बाँडिसके : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भएको छैन प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिसकेको भन्दै व्यङ्ग गरेका छन् । उनले झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै यस्तो व्यङ्ग गरेका हुन् ।

उनको यस व्यङ्ग रास्वपा र काठमाडौँका मेयर बालेन शाहलाई लक्षित देखिन्छ । उनले भनेका छन् ‘चुनाव भएको छैन, जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गर्नुभएको साथीहरूलाई सोध्न चाहन्छु, यी संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट रोक्न सकिन्छ ।’ उनले वर्तमान संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट रोक्न नसकिने बताएका छन् ।

दुई राप्रपाबीच एकताको सम्झौता, लिङ्देन र थापाले खुशी हुँदै मारे अँगालो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आइतबार काठमाडौंको धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया अघि बढाएका हुन्।

दुई वाक्य मात्र समेटिएको सहमतिपत्रमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने र त्यसको औपचारिक घोषणा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा गर्ने उल्लेख छ । सहमतिपत्रमा हस्ताक्षरपछि दुवै नेता खुशी हुँदै एक–अर्कालाई अंकमाल गरेका थिए ।

एकतापछि पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन रहने सहमति भएको छ भने कमल थापालाई पूर्व अध्यक्षको हैसियत प्रदान गरिनेछ । लामो समयदेखि विभाजित रहेको राप्रपाको दुई धार पुनः एक ठाउँमा आउनुलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।

२०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । त्यसअघि मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा उनी अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । थापाले निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । तर, त्यसमा सहमति नजुटेपछि उनी अलग भएर राप्रपा नेपाल गठन गरेका थिए ।

करिब चार वर्षपछि दुई पार्टीबीच पुनः एकताको सहमति जुटेपछि राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा बोकेको राप्रपाको शक्ति एकीकृत हुने अपेक्षा गरिएको छ । पुस १६ गते हुने एकता घोषणासभालाई दुवै पक्षले भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेका छन् ।

राजा, दल र जेनजीबीच समझदारी गरेर चुनाव सुनिश्चित गरौं : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताएका हुन् । उनले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउन सक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताए ।

नेता गुरुङले भने, ‘मुलुकलाई नविन समझदारीमार्फत निकास दिनेतर्फ हामीहरु अगाडि बढौं । यो शंका, उपशंका सबैलाई समाप्त पारेर अघि केही साथीहरुले भनिसक्नु भयो । निषेधको राजनीतिलाई त्यागौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको जुन मार्गचित्र छ । राजा, राजनीतिक दल र जेनजी पुस्ताका बीचमा एउटा नविन समझदारी गरेर अनि चुनावलाई सुनिश्चित गरौँ । यसो गरेर देशलाई निकास दिनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह, अनुरोध हो ।’ नेता गुरुङले जेनजी पुस्ताको मागलाई पूरा गराउन पनि राजा, राजनीतिक दल र उनीहरुबीच नयाँ समझदारी आवश्यक रहेको जिकिर समेत गरे ।

संविधान मरेको जस्तै अवस्थामा छ, नयाँ राष्ट्रिय सहमति अपरिहार्य : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान व्यवहारिक रूपमा निष्क्रिय भइसकेको दाबी गर्दै देशलाई थप दुर्घटनातर्फ धकेल्ने गरी जबरजस्ती ब्युँताउने प्रयास नगर्न चेतावनी दिएका छन् । राजनीतिक, सामाजिक र पुस्तागत रूपमा मुलुक गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै उनले अब नयाँ राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

काठमाडौंमा आयोजित नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले संविधानलाई लिएर समाजमा गहिरो मतभेद रहेको बताए । उनका अनुसार कसैले यही संविधानबिना देश चल्दैन भन्ने धारणा राखिरहेका छन् भने कसैले यसलाई अपूर्ण र असफल ठानिरहेका छन् । संविधानलाई धर्मग्रन्थजस्तो अपरिवर्तनीय ठान्नु गलत भएको उल्लेख गर्दै उनले समयअनुसार परिवर्तन आवश्यक हुने तर्क गरे ।

‘हामीले सधैँ भनिरहेका छौँ, संविधान गीता, बाइबल वा पुराण होइन। यसलाई आवश्यक परे परिवर्तन गर्नुपर्छ’, लिङ्देनले भने, ‘आजको अवस्थामा संविधान जिवित छैन, मरेको जस्तै भइसकेको छ । यस्तो अवस्थामा जबरजस्ती ब्युँताएर देशलाई थप दुर्घटनामा लैजानुभन्दा नयाँ समझदारी गर्नु बुद्धिमानी हुन्छ ।’ उनले अब देशको भविष्य जोगाउन राजा, राजनीतिक दलहरू र नयाँ पुस्ता अर्थात् जेन–जीबीच नयाँ सहकार्य र समझदारी आवश्यक रहेको धारणा राखे। परम्परागत शक्ति, राजनीतिक नेतृत्व र नवयुवालाई एकै ठाउँमा उभ्याएर राष्ट्रिय एकताको आधार तयार गर्न नसके मुलुक झन् जटिल संकटमा फस्ने उनको चेतावनी थियो ।

लिङ्देनले विगतका राजनीतिक परिवर्तनबाट प्राप्त तीन महत्वपूर्ण उपलब्धिलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२÷०६३ को आन्दोलनबाट स्थापित समावेशीता र समानुपातिकताको उपलब्धिलाई राष्ट्रिय सम्पत्तिको रूपमा संरक्षण गर्नुपर्ने बताए । ‘यी उपलब्धि बचाएर मात्र अब नयाँ राष्ट्रिय सहमति सम्भव छ’, उनले स्पष्ट पारे । देश बचाउने र देश बनाउने अभियानमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने समय आएको उल्लेख गर्दै उनले दलगत स्वार्थभन्दा माथि उठेर सोच्न आग्रह गरे । कार्यक्रममा उनले एमालेको महाधिवेशन उद्घाटन समारोह भव्य र व्यवस्थित रहेको भन्दै प्रशंसा पनि व्यक्त गरे । लिङ्देनको अभिव्यक्तिले वर्तमान राजनीतिक संरचना र संविधानबारे पुनर्विचारको बहसलाई थप चर्काउने संकेत गरेको विश्लेषण गरिएको छ ।

कुन्ती पोखरेलको चेतावनी : युवामाथि कारबाही गर्ने नैतिक अधिकार गृहमन्त्रीसँग छैन

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले जेनजी आन्दोलनमा सहभागी युवामाथि कारबाही गर्न खोजिएकोप्रति कडा आपत्ति जनाउँदै त्यसको नैतिक र राजनीतिक अधिकार वर्तमान गृहमन्त्रीसँग नभएको दाबी गरेकी छन् । पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनमा घाइते तथा प्रताडित युवाको आवाज प्रतिनिधित्व गर्न आफू आएको उल्लेख गरिन् ।

उनका अनुसार जेनजी आन्दोलनबाट मुलुकले अपेक्षाअनुसार उपलब्धि नपाए पनि युवाको त्याग–समर्पणको सम्मान गर्नुपर्नेमा उल्टै उनीहरूलाई दण्डित गर्न खोजिनु अन्याय हो । पोखरेलले भनिन्, ‘०८४ को निर्वाचन ०८२ मा सारिएकोबाहेक कुनै महत्वपूर्ण उपलब्धि देखिएन, तर देशका लागि लड्ने युवामाथि अहिले कारबाही थोपिन लागेको छ । रगत बगाएर उठाएका युवाको बलिदानमा बनेका गृहमन्त्रीले उनीहरूलाई दण्डित गर्ने हिम्मत कसरी गर्नुहुन्छ ?’ उनले चुनौतीपूर्ण शैलीमा भनिन् कि यदि गृहमन्त्रीमा साँच्चीकै कानुनी कठोरता देखाउने साहस छ भने माओवादी जनयुद्धका नाममा भएका विध्वंसका जिम्मेवारमाथि कारबाही गर्न अग्रसर हुनुपर्ने हो, न कि आन्दोलनकारीमाथि ।

कार्यक्रममा पोखरेलले देशको वर्तमान राजनीतिक द्वन्द्व समाधान गर्न राजा, राजनीतिक दल र जेनजी आन्दोलनबीच नयाँ प्रकारको समझदारी निर्माण आवश्यक रहेको मत व्यक्त गरिन् । नारायणहिटी दरबारमा सुरक्षित राखिएको श्रीपेच राजा संस्थाको औचित्य र निरन्तरताको संकेत भएको उल्लेख गर्दै उनले भनिन्, ‘श्रीपेच म्यूजियम सजाउन राखिने वस्तु होइन, उचित समझदारी बनेका दिन यो फेरि राजाको शीरमा अट्नेछ । देशलाई अघि बढाउने नयाँ सहमति आवश्यक छ ।’ पोखरेलको अभिव्यक्तिले हालै शान्त हुँदै गएको जेनजी आन्दोलन, सरकारको प्रतिक्रिया र मुलुकमा पुनः उठिरहेको राजसंस्थाको बहसबारे राजनीतिक वृत्तमा नयाँ चर्चा जन्माएको छ ।

 

रविकिरणको चेतावनी : जेनजी विद्रोहलाई अपराधीकरण गर्ने प्रयास भए फेरि सडकमा उत्रिन्छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता रवि किरण हमालले भदौ २३–२४ गतेको जेनजी आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास भए आफूहरु फेरि सडकमा उत्रिने चेतावनी दिएका छन् । आज (मंगलबार) राप्रपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा हमालले मुख्य राजनीतिक दलका नेताहरू जेनजी आन्दोलनलाई अपराधीकरण गर्न लागे राप्रपाले आन्दोलनको स्वामित्व लिने बताएका हुन् ।

‘जेनजी आन्दोलनपछि देशले नयाँ संविधान प्राप्त गर्छ भन्ने आशा थियो । अहिले त्यो विद्रोहलाई अपराधीकरण गर्ने दिशातर्फ मुख्य राजनीतिक दल गएको बेला राप्रपाले स्वामित्व लिन्छ । जेनजी पुस्ताको भावना बोक्ने पार्टी राप्रपा छ,’ हमालले भने । हमालले राजासहितको नयाँ समझदारी गर्नु जेनजी आन्दोलनको म्यान्डेट रहेको दाबी गरे । ‘जेनजी विद्रोहलाई दमन गर्नेहरूले टाउको उठाए त्यसका विरुद्ध हामी उभिन्छौं । सुशीला कार्की र ओमप्रकाश अर्यालहरूले हाम्रो सामु घुँडा टेक्नु पर्छ । हामी फेरि सडक संघर्षमा जान तयार छौं,’ हमालले भने ।

हेटौडा सडक विस्तारबारे कमल थापाको टिप्पणी : कानुनी राज्यको नाङ्गो उपहास

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नू’ भन्ने आदेश दिँदादिँदै पनि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दैछ,’ अध्यक्ष थापाले लेखेका छन् । बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती र जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको उनले जिकिर गरेका छन् ।

‘शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ,’ अध्यक्ष थापाले भनेका छन् । यसअघि हेटौडामा भइरहेको सडक विस्तारको विरोध गर्दै नवगठित उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामाको घोषणा गरेकी थिइन् ।

 

राप्रपाको बैठक जारी, दुई महामन्त्रीले गरे बहिष्कार

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित रहेको बताए । आजको बैठक संस्थापन इतर पक्षले बहिष्कार गरेको छ ।

महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरू बैठकमा अनुपस्थित भएका हुन् । बैठकअघि महामन्त्रीद्वयले केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिस्कार गर्ने जानकारी अध्यक्ष लिङ्देनलाई दिएका थिए ।

प्रधानमन्त्रीलाई शाहीको सुझाव : दबाबमा होइन, विधिको शासनले देश चलाउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासनमा चलाउन सुझाव दिएका छन् ।

विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार नचलाउन भन्दै उनले विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउन आग्रह गरेका हुन् ।

‘आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस् शहीद र घाइते एवं पीडितलाई न्याय दिनुहोस् यो देश कुनै एउटा समूह कुनै एउटा व्यक्तिको होइन यो सबैको साझा मुलुक हो,’ सामाजिक सञ्जालमा लेख्दै शाहीले भने, ‘त्यसैले विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन । विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो ।’

 

माइतीघरमा राप्रपाका युवाहरूको मौन प्रदर्शन

काठमाडौं । राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा आज (शनिबार) सांकेतिक मौन प्रदर्शन गरेका छन् । जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै उनीहरूले शनिबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले क्रान्तिको भावनाविपरीत नजान र शहीदको बलिदानीलाई नजरअन्दाज नगर्न माग गरेका छन् । आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले क्रान्तिको भावनाबिपरित अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउन सांकेतिक मौन प्रदर्शन गरिएको जानकारी दिएकी छन् । प्रदर्शनमा सहभागीहरूले महंगो र विखण्डनकारी प्रदेश खारेजी कहिले ?, देशलाई दुर्घटनाबाट जोगाउन नविन समझदारी गर, ७५ जनाको बलिदान फेरि यहि संविधान ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।