`

भू–राजनीतिक चुनौतीबीच मौलिक पहिचान आवश्यक : खुश्बु ओली

Nepal One HD २० पुष २०८२ १३:४६
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीले भेनेजुएलामा भर्खरै घटेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले आफ्नो राष्ट्रिय हित, मौलिक पहिचान र आन्तरिक शक्ति सुदृढीकरणमा गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् । ओलीले सार्वजनिक गरेको धारणा अनुसार शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकाससहित विभिन्न शहरमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको घटनाले आजको अन्तर्राष्ट्रिय राजनीतिक यथार्थलाई उजागर गर्छ ।

उनका अनुसार विश्व शक्तिहरूले आफ्नै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कदम चाल्ने प्रवृत्ति नयाँ नभए पनि यसले साना र भू–राजनीतिक रूपमा कमजोर राष्ट्रहरूलाई गहिरो चुनौती दिएको छ । उनले भेनेजुएलाले इतिहासभरि आफूलाई जोगाउने प्रयास गरे पनि अन्ततः बाह्य दबाब सामना गर्न नसकेको दाबी गर्दै यसलाई ‘आजको वैश्य–युगको यथार्थ’ का रूपमा व्याख्या गरेकी छन् । यही सन्दर्भ जोड्दै उनले नेपाल जस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशले अन्तर्राष्ट्रिय राजनीतिक पौंठेजोरीमा सधैं आफ्नै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन् ।

नेपालको वर्तमान अवस्थातर्फ संकेत गर्दै ओलीले देशले आफ्नै राष्ट्रिय आधार बलियो बनाउनुको साटो माक्र्सवाद, लेनिनवाद, माओवाद, धर्मनिरपेक्षता र संघीयता जस्ता आयातित विचारधाराको संरक्षणमा बढी समय खर्चिएको आरोप लगाइन् । उनका अनुसार यी विचारधाराहरू न त नेपालको माटोबाट जन्मिएका हुन्, न त नेपाली सभ्यता र ऐतिहासिक अनुभवबाट विकसित र तिनले अहिलेसम्म नेपालको दीर्घकालीन राष्ट्रिय हित सुरक्षित गर्न सकेको प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने अवस्था आएको छ । राप्रपाले दशकौँदेखि वैचारिक परनिर्भरताको विरोध गर्दै आएको उल्लेख गर्दै ओलीले पार्टीको धारणा स्पष्ट रहेको बताइन्–नेपालको राष्ट्रिय हित आयातित विचारबाट होइन, देशको मौलिकता, सभ्यतागत पहिचान र ऐतिहासिक निरन्तरताबाट मात्र सुरक्षित हुन सक्छ ।

उनले अब समय आएको भन्दै हिन्दू राष्ट्रको अवधारणा, राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था, तथा केन्द्र–स्थानीय तहमा आधारित संरचनामार्फत आर्थिक विकासका विषयमा खुला, साहसी र निर्णायक राष्ट्रिय बहस आवश्यक रहेको बताइन् । शक्तिमा आधारित र व्यवहारिक राष्ट्रिय हितद्वारा निर्देशित वर्तमान विश्व व्यवस्थामा नेपालले ‘वैचारिक भ्रमको विलास’ गर्न नसक्ने उनको निष्कर्ष छ । ओलीको भनाइ अनुसार अब नेपालले बाहिरमुखी सोचभन्दा भित्रतिर फर्किएर आफ्नै पहिचान, शक्ति र आर्थिक सबलतामा आधारित राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ । उनले अन्त्यमा राष्ट्रवादप्रति प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय हित केन्द्रमा राखिएको बहस र निर्णयको आह्वान गरेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *