कुन्ती पोखरेलको चेतावनी : युवामाथि कारबाही गर्ने नैतिक अधिकार गृहमन्त्रीसँग छैन
काठमाडौं । राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले जेनजी आन्दोलनमा सहभागी युवामाथि कारबाही गर्न खोजिएकोप्रति कडा आपत्ति जनाउँदै त्यसको नैतिक र राजनीतिक अधिकार वर्तमान गृहमन्त्रीसँग नभएको दाबी गरेकी छन् । पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनमा घाइते तथा प्रताडित युवाको आवाज प्रतिनिधित्व गर्न आफू आएको उल्लेख गरिन् ।
उनका अनुसार जेनजी आन्दोलनबाट मुलुकले अपेक्षाअनुसार उपलब्धि नपाए पनि युवाको त्याग–समर्पणको सम्मान गर्नुपर्नेमा उल्टै उनीहरूलाई दण्डित गर्न खोजिनु अन्याय हो । पोखरेलले भनिन्, ‘०८४ को निर्वाचन ०८२ मा सारिएकोबाहेक कुनै महत्वपूर्ण उपलब्धि देखिएन, तर देशका लागि लड्ने युवामाथि अहिले कारबाही थोपिन लागेको छ । रगत बगाएर उठाएका युवाको बलिदानमा बनेका गृहमन्त्रीले उनीहरूलाई दण्डित गर्ने हिम्मत कसरी गर्नुहुन्छ ?’ उनले चुनौतीपूर्ण शैलीमा भनिन् कि यदि गृहमन्त्रीमा साँच्चीकै कानुनी कठोरता देखाउने साहस छ भने माओवादी जनयुद्धका नाममा भएका विध्वंसका जिम्मेवारमाथि कारबाही गर्न अग्रसर हुनुपर्ने हो, न कि आन्दोलनकारीमाथि ।
कार्यक्रममा पोखरेलले देशको वर्तमान राजनीतिक द्वन्द्व समाधान गर्न राजा, राजनीतिक दल र जेनजी आन्दोलनबीच नयाँ प्रकारको समझदारी निर्माण आवश्यक रहेको मत व्यक्त गरिन् । नारायणहिटी दरबारमा सुरक्षित राखिएको श्रीपेच राजा संस्थाको औचित्य र निरन्तरताको संकेत भएको उल्लेख गर्दै उनले भनिन्, ‘श्रीपेच म्यूजियम सजाउन राखिने वस्तु होइन, उचित समझदारी बनेका दिन यो फेरि राजाको शीरमा अट्नेछ । देशलाई अघि बढाउने नयाँ सहमति आवश्यक छ ।’ पोखरेलको अभिव्यक्तिले हालै शान्त हुँदै गएको जेनजी आन्दोलन, सरकारको प्रतिक्रिया र मुलुकमा पुनः उठिरहेको राजसंस्थाको बहसबारे राजनीतिक वृत्तमा नयाँ चर्चा जन्माएको छ ।
