`

हेटौडा सडक विस्तारबारे कमल थापाको टिप्पणी : कानुनी राज्यको नाङ्गो उपहास

Nepal One HD २० मंसिर २०८२ ११:५५
प्रमुख खबर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् हेटौंडामा कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका हुन् ।

‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नू’ भन्ने आदेश दिँदादिँदै पनि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दैछ,’ अध्यक्ष थापाले लेखेका छन् । बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती र जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको उनले जिकिर गरेका छन् ।

‘शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ,’ अध्यक्ष थापाले भनेका छन् । यसअघि हेटौडामा भइरहेको सडक विस्तारको विरोध गर्दै नवगठित उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामाको घोषणा गरेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *