मुगुमा भाइरल ज्वरोको प्रकोपबाट एक वडाका पाँचको मृत्यु, विशेषज्ञ टोली पठाउन माग
मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट १७ दिनमै एकै वडाका पाँच जनाको ज्यान गएको छ । राराछायाँनाथ–१२ बामगाउँका पाँच जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रण बाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।
स्थानीय युवा आशिष देवकोटाका अनुसार मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानु दिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रण बाहिर जाने अवस्था छ । मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जासम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शैंया छन् । लामो समयदेखि एक्स–रे मेशिन बिग्रिएको छ । आवश्यक औषधि र मेडिकल उपकरणको अभाव छ । अक्सिजन प्लान्ट समेत सञ्चालनमा छैन ।
‘गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या छ’, देवकोटाले भने । युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्स–रे मेशिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ । हालको ५० शैंया क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शैंयामा विस्तार गर्नुपर्ने माग गरिएको छ ।
२०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला÷हैजाको महामारीको स्मरण गराउँदै युवाहरुले समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने मन्त्रीसमक्ष माग गरेका छन् । ‘कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,’ उनीहरूले भनेका छन् ।
मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न स्थानीयले सरकारसँग जोडदार माग गरेका छन् ।
