रवि–बालेन भेटपछि झन बढेको हो दूरी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीको उम्मेदवारी र शक्ति बाँडफाँटमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै राजनीतिक बाटो रोज्ने संकेत गरेका छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ लाई अगाडि बढाउने तयारीमा उनी खुलेर लागेका छन् ।
सोमबार राति रवि र बालेनबीच करिब छ घण्टा लामो छलफल भए पनि ठोस सहमति बनेन । बालेन पक्षका अनुसार रविले पार्टी संरचना र नेतृत्वमा सम्मानजनक भूमिका नदिने, बरु साधारण सदस्यका रूपमा आउन सुझाव दिएको भन्दै असन्तुष्टि बढेको हो । त्यसमाथि चितवन पुगेका रविले बाहिर दिएको अभिव्यक्तिले ‘भित्र एक, बाहिर अर्को’ व्यवहार देखिएको ठहर बालेनले गरेका छन् ।
बालेनको स्पष्ट अडान छ–आउँदो निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सुनिश्चितता भए मात्र सहकार्य सम्भव छ । यही बटमलाइन स्वीकार नहुने देखिएपछि उनले ‘देश विकास पार्टी’ लाई सक्रिय रूपमा अघि बढाउने निष्कर्ष निकालेका हुन् । लौरो चुनाव चिह्नबाट काठमाडौँ महानगर जितेका बालेनले सोही चिह्न रहेको पार्टी अब आफ्नो राजनीतिक प्लेटफर्म हुने बताएका छन् ।
यसै सन्दर्भमा बालेनले पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट तीव्र पारेका छन् । कांग्रेस नेता चन्द्र भण्डारीदेखि राप्रपाका ज्ञानेन्द्र शाही, नाउपाका रेशम चौधरी, जनमत पार्टीका सीके राउत, चिकित्सक भगवान कोइराला, जेनजी अभियानका प्रतिनिधि तथा कलाकार निश्चल बस्नेतसम्मसँग उनले छलफल गरेका छन् । भेटघाटको केन्द्र ललितपुरस्थित आफ्ना निकट सहयोगीको निवास बनाइएको छ ।
बालेनले छलफलमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीप्रति आफ्नो धारणा पनि स्पष्ट पारेका छन् । संविधानभित्रै रहेर सामान्य संशोधन सम्भव भए पनि एक व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित हुने व्यवस्थाले देशको भूराजनीति र सुशासनलाई जोखिममा पार्ने निष्कर्षमा आफू पुगेको उनले बताएका छन् । उनका अनुसार अबको बहस सुशासन र विकासमा केन्द्रित हुनुपर्छ ।
देश विकास पार्टीका नेताहरूले बालेनलाई नेतृत्व दिन खुला रहेको बताएका छन् । पार्टीभित्र अध्यक्षदेखि जुनसुकै जिम्मेवारी दिन सकिने भन्दै छलफल भइरहेको छ। समानुपातिक उम्मेदवारको सूची तयारी समेत सुरु भइसकेको बालेन निकट स्रोतको भनाइ छ । यद्यपि बालेनले रास्वपासँगको ढोका पूर्ण रूपमा बन्द गरेका छैनन् । ‘आफ्नो तयारी गरौँ, तर सम्भावना खुला राखौं” भन्ने रणनीतिमा उनी छन् । तर सम्मानजनक प्रस्ताव नआए ‘देश विकास पार्टी’ नै उनको मुख्य राजनीतिक सवारी बन्ने संकेत स्पष्ट देखिएको छ ।
