विप्लवको चेतावनी : सर्वपक्षीय सरकार गठन नभए जेनजीलाई लिएर सडक आन्दोलनमा जान्छौं
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक दल र आन्दोलनरत जेनजी समूहलाई समेटेर सर्वपक्षीय सरकार गठन नभए सडक आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सर्वपक्षीय सरकार गठनको माग निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको ब्यारेकबाट निस्कनु भन्दा अगावै आफूहरूले उठाएको समेत उनले बताएका छन् । नेकपा माओवादीको चौंथो केन्द्रीय कमिटी बैठकको उद्घाटन मन्तव्यमा बिहीबार विप्लवले सर्वपक्षीय सरकार गठन नभइ चुनाव हुन नसक्ने बताएका हुन् ।
‘भदौ २३–२४ को घटनालगत्तै हामीले सर्वपक्षीय सरकार हुनुपर्छ, सकेसम्म राजनीतिक नेतृत्व आन्दोलनरत, विद्रोही शक्तिलाई स्वीकार हुनेगरी गठन गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हो’ विप्लवले भने, ‘हाम्रो माग पूरा भएन भने जेनजी समूहलाई साथमा लिएर सडक आन्दोलनमा जान्छौं ।’ सर्वपक्षीय सरकार गठनको विषयलाई लिएर आफूहरूले एमाले अध्यक्ष ओली मात्र नभइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको उनले बताए ।
‘सर्वपक्षीय सरकारको कुरा हामीले शुरूमै ल्याएको हो । एमालेसँग मात्र छलफल गरेर निष्कर्ष निकालेको होइन, सबै दलसँग सहमति हुनुपर्छ’, उनले भने, ‘राष्ट्रवादको विषयमा सेना, देशभक्तसँग पनि कुरा मिल्छ ।’ विप्लवले सर्वपक्षीय सरकारको नेतृत्वका लागि पहिलो हकदार राजनीतिक दल भएपनि सबैलाई स्वीकार्य हुने साझा व्यक्ति खोज्न तयार रहेको बताए । त्यसरी बन्ने सरकारले चुनाव अघि नै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन लगायत केही प्रतिबद्धता गर्नुपर्ने उनले बताए ।
