`

रवि र बालेन भित्र वार्तामा, बाहिर सुदन भन्छन्–नमिलेसम्म चुकुल खोल्दैनौं

Nepal One HD १० पुष २०८२ १४:१५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरको कुपण्डोलमा निर्णायक छलफल चलिरहेको छ । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई नेता एक्ला–एक्लै वार्तामा जुटेका हुन् । छलफलका क्रममा बाहिर भने जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङ उपस्थित छन् । उनले ठट्यौली शैलीमा ‘नमिलेसम्म गेट नखोल्ने’ भन्दै ढोकामा चुकुल लगाएर बसिरहेको बताएका छन् ।

‘जबसम्म सहमति हुँदैन, तबसम्म बाहिर निस्कन पाइँदैन’, गुरुङको भनाइ छ। यसअघि पनि रवि र बालेनबीच कमलपोखरीमा करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो । तर त्यस भेटमा रविका तर्फबाट ठोस राजनीतिक प्रस्ताव नआएको भन्दै बालेन असन्तुष्ट थिए र अन्य नेताहरूसँग विकल्पबारे छलफल अघि बढाएका थिए । बालेनले लौरो चुनाव चिन्ह भएको ‘देश विकास पार्टी’ मार्फत राजनीति अघि बढाउने गृहकार्य समेत गरिरहेका छन् ।

तर त्यसअघि रवि लामिछानेसँगको सहकार्य टुंग्याउने चाहना बालेनको रहेको निकट स्रोत बताउँछन् । बालेन आगामी निर्वाचनमा संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित हुने स्पष्ट खाका चाहन्छन् । आजको छलफलले दुई नेता मिलेर अघि बढ्ने वा आ–आफ्नो बाटो रोज्ने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ । भित्र राजनीतिक समिकरणको गहिरो संवाद चलिरहँदा बाहिर सुदन गुरुङको ठट्यौली ‘गेट राजनीति’ ले कुपण्डोलको माहोल थप रोचक बनेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *