`

जेनजी आन्दोलन संविधानको मर्मलाई सुदृढ बनाउने अवसर : उपराष्ट्रपति यादव

Nepal One HD ११ पुष २०८२ १३:३३
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले जेनजी आन्दोलनले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको बताए ।

‘गत भदौमा जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ। यसले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको छ,’ उनले भने । उनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि जेनजी आन्दोलनले प्रदान गरेको उल्लेख गरे। ‘लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ । त्यसैले थप परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन जरुरी छ,’ उनले भने ।

मुलुकमा परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए । ‘निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा थप योगदान पुर्‍याउने विश्वास मैले लिएको छु । यसका लागि सरकार नीतिसँग मेल खाने, स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठयक्रम विकासमा यस संस्थाले सहकार्य गर्दै अघि बढ्नु पर्दछ,’ उनले भने । उनले सरकार नीतिसँग मेल खानेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालको ध्यानाकर्षण गराए । ‘शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवद्र्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनु पर्दछ । समावेशी शिक्षा, समुदायसँग सहकार्य र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित छ,’ यादवले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *