`

संविधानको मार्गदर्शनअनुसार समस्या समाधान गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौती र समस्या समाधान गर्न सकिने बताएका छन् । बडादसैँ २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिने बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले सुशासन प्रवद्र्धन र भ्रष्टाचार अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । युवापुस्ताको सोचअनुसार कामलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले शक्तिस्वरूपा दुर्गा भवानीले सत्य, न्याय, सहकार्य र अग्रगमनको बाटोमा अघि बढ्ने प्रेरणा दिऊन् भन्ने कामना गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बडादसैँले नेपालीबीच आपसी भ्रातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । ‘चाडपर्वले सबै जातजाति र धर्मावलम्बीहरूको साझा फूलबारीका रूपमा रहेका र यी पर्वहरूले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर साझा पहिचानलाई सबल बनाउन मद्दत गरेका छन्’, सन्देशमा भनिएको छ, ‘हाम्रा कला–संस्कृति, रीतिथिति र परम्पराहरू नै हाम्रो अमूल्य सम्पदा हुन् । यिनको संरक्षण, प्रवद्र्धन र विकासमार्फत प्रदेशको समृद्धिको चाहना पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ छौँ ।’

बालेन–हर्कलाई बाबुरामको सुझाव : संविधानको रक्षाका लागि मिल्नुस्

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्ने उनले बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदय हुनु भएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जुन नयाँ पुस्ता आगाडि आएको छ, तपाईंहरू एक ठाउँमा आउने, सहकार्य गर्ने वातावरण तपाईंहरूले बनाउनु पर्छ ।’

उनले भने, ‘सकेसम्म मिल्नेहरू जतिले खास एजेण्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने, त्यो खास एजेण्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ त्यसमा टेक्ने । योभन्दा पछाडि फर्कने होइन । यसमा टेकेर कति थप्न सकिन्छ थप्ने ।’

भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधारस्तम्भ भन्दै त्यसलाई साझा विन्दु मानेर वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘कथंकदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर, मोर्चा बनाएर, अल्टरनेटिभ एलाइन्स गरेर पनि जान सकिन्छ,’ उनले भने ।

उनले कांग्रेस, एमाले, माओवादीलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिएका छन् । ती पार्टी सच्चिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘सँगसँगै मेरो आग्रह– पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन् । कांग्रेस, एमाले, माओवादी सच्चिने सम्भावना देख्दिनँ । टाउकैसम्म कुहिएर बसेको त्यो शक्ति छ त्यसको रुपान्तरणको सम्भावना म देख्दिनँ ।’

ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका युवाहरूलाई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर फेरि वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,’ डा. भट्टराईले भने, ‘त्यसो हुन सक्यो भने छिटो नै तपाईंहरूले चाहेजस्तो शासकीय सुधारमा परिवर्तन ल्याएर निर्वाचन तोकिएकै समयमा हुनेछ ।’

 

संविधान खारेज गरेर भए पनि जेनजीका माग सम्बोधन गर्नुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रदेश सरकार विघटन गरेर संघीयतालाई बलियो बनाउनु पर्ने बताएका छन् ।काठमाडौंमा जारी केन्द्रीय केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै संघीयतालाई बलियो बनाएर जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दल तन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ। हामीले दुई वर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको जगमा अहिले जेनजीको जनविद्रोह गरेका हुन् ।’

मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, दलहरूको लुटकारी दलतन्त्रका कारण मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै धराशायी बन्दै गएको भएको दाबी गरे। संविधान र व्यवस्था गलत भएकै कारण नेपाली जनताको अवस्था खराब भएको बताए । उनले भने, ‘संविधान र व्यवस्था गलत थियो, यही व्यवस्था कायम राखेर जेनजीहरूको माग सम्बोधन हुँदैन । यो संविधान खारेज गरेर भए पनि जेनजीहरूको माग सम्बोधन गर्नुपर्छ ।’

चुनाव भएपछि संविधान क्रियाशील हुनेछ : मीनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रतिनिधि सभाको निर्वाचन भएपछि संविधान फेरि पूर्णरूपमा क्रियाशील हुने बताएका छन् ।

नव नियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद् विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरेका छन् । प्रमुख राजनीतिक दलहरूले यसलाई असंवैधानिक भन्दै संविधानप्रति चिन्ता प्रकट गरिरहेका छन् ।

तर तिनैमध्ये एक कांग्रेसका नेता रिजालले भने राष्ट्रपतिको निर्णयले मुलुकले त्राण पाएको बताउँदै अब चुनाव गराउन सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

‘राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ । प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो । निर्वाचन सम्पन्न भएसँगै चार पुस्ताको संघर्षबाट निर्माण भएको संविधान फेरि पूर्णरूपमा क्रियाशील हुनेछ’, रिजालले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

संविधानको सही कार्यान्वयनबाट जेनजीको माग पूरा गर्नुपर्छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधानको सही कार्यान्वयनबाट नै जेनजीको माग पूरा गर्नुपर्ने सुझाव दिएका छन् । एक वक्तव्य जारी गर्दै घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति गम्भीरतापूर्वक लिन अपिल गरेका छन् ।

जेनजी आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डो¥याउन जिम्मेवार निकायलाई अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो । झण्डै सात दशकको सपना र सयौँ शहीदको बलिदानपश्चात्, जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ को सही कार्यान्वयनबाट नै जेन–जी पुस्ताका आकाङ्क्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ ।’

युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘तिनले उठाएको माग हामी जो–कोहीका पनि अभीष्ट हुन् । तर, आन्दोलनका नाममा त्यस दिन र भोलिपल्ट समेत मुलुकमा जुन तहको विनाश र विध्वंस मच्चाइयो–त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु आज अति जरुरी छ ।’

पाँच दलका युवा नेताहरूको संयुक्त विज्ञप्ति : संविधानभित्रबाटै निकास खोजियोस्

काठमाडौं । पूर्व विद्यार्थी नेताहरूले जेनजी आन्दोलनका नाममा भएको विध्वंसको आवरणमा संसद विघटन गर्नुपर्ने कुरा उठाइएको भन्दै कडा रूपमा प्रतिवाद गर्न आह्वान गरेका छन् ।

पूर्व विद्यार्थी नेताहरू नैनसिंह महर, माधव ढुंगेल, नरेन्द्र न्यौपाने, पञ्चा सिंह, आरती लामा, विमल पोखरेल, राजीव ढुंगाना, रुपनारायण श्रेष्ठ, नवीना लामा, रञ्जित तामाङ, सुदेश पराजुली र अनिलकिशोर घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा र राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन आह्वान गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित संसद् जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भएको हुनाले प्रतिगामी तथा केही अवान्छित तत्वहरूबाट गरिएको संसद् विघटन गर्ने मागलाई दृढतापूर्वक अस्वीकार गरी आम जनता र युवाहरूको भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने जस्ता मागलाई सम्बोधन गर्न, संसदबाटै राजनीतिक निकास खोज्न, संसदभित्रबाटै नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउनु आजको वास्तविक यथार्थ र आवश्यकताको जोड दिन चाहन्छौँ ।’

विद्यार्थी र युवाहरूले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकता अनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुनसक्नेमा उनीहरूको विश्वास छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहना अनुरूप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौं । संसद् विघटन, राष्ट्रपतिको राजीनामा, कथित स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागका विरुद्धमा सडक सङ्घर्षमा उत्रिन तयार रहन सम्पूर्ण युवा विद्यार्थीहरूलाई अपिल गर्दछौं ।’

हेर्नुस् विज्ञप्ती

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पसमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । संविधान रक्षा गरौं भन्दै नेकपा (एमाले) र एकीकृत समाजवादीका नेता–कार्यकर्ता प्रदर्शनमा निस्कन थालेका छन् । एमाले र एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरूले काठमाडौंको मीनभवनस्थित कमर्स क्याम्पसको गेटमा उभिएर प्रदर्शन गरेका हुन् ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियुका पूर्वअध्यक्ष समिककुमार बडाल, पूर्व उपाध्यक्ष गोविन्द गिरी, एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ लगायतले प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘संविधानको रक्षा गरौं’, ‘यही संविधानको मान्यताअनुरूप निकास खोजौं’ भन्दै प्रदर्शन गरेका हुन् । ‘सम्पूर्ण राजनीतिक समस्याको समधान लोकतान्त्रिक मूल्य–मान्यता भित्रबाट हुनुपर्छ,’ पराजुलीले भने ।