`

बालेन–हर्कलाई बाबुरामको सुझाव : संविधानको रक्षाका लागि मिल्नुस्

Nepal One HD ९ असोज २०८२ १४:१४
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्ने उनले बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदय हुनु भएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जुन नयाँ पुस्ता आगाडि आएको छ, तपाईंहरू एक ठाउँमा आउने, सहकार्य गर्ने वातावरण तपाईंहरूले बनाउनु पर्छ ।’

उनले भने, ‘सकेसम्म मिल्नेहरू जतिले खास एजेण्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने, त्यो खास एजेण्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ त्यसमा टेक्ने । योभन्दा पछाडि फर्कने होइन । यसमा टेकेर कति थप्न सकिन्छ थप्ने ।’

भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधारस्तम्भ भन्दै त्यसलाई साझा विन्दु मानेर वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘कथंकदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर, मोर्चा बनाएर, अल्टरनेटिभ एलाइन्स गरेर पनि जान सकिन्छ,’ उनले भने ।

उनले कांग्रेस, एमाले, माओवादीलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिएका छन् । ती पार्टी सच्चिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘सँगसँगै मेरो आग्रह– पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन् । कांग्रेस, एमाले, माओवादी सच्चिने सम्भावना देख्दिनँ । टाउकैसम्म कुहिएर बसेको त्यो शक्ति छ त्यसको रुपान्तरणको सम्भावना म देख्दिनँ ।’

ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका युवाहरूलाई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर फेरि वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,’ डा. भट्टराईले भने, ‘त्यसो हुन सक्यो भने छिटो नै तपाईंहरूले चाहेजस्तो शासकीय सुधारमा परिवर्तन ल्याएर निर्वाचन तोकिएकै समयमा हुनेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *