संविधानको मार्गदर्शनअनुसार समस्या समाधान गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य


लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौती र समस्या समाधान गर्न सकिने बताएका छन् । बडादसैँ २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिने बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले सुशासन प्रवद्र्धन र भ्रष्टाचार अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । युवापुस्ताको सोचअनुसार कामलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले शक्तिस्वरूपा दुर्गा भवानीले सत्य, न्याय, सहकार्य र अग्रगमनको बाटोमा अघि बढ्ने प्रेरणा दिऊन् भन्ने कामना गरेका छन् ।
मुख्यमन्त्री आचार्यले बडादसैँले नेपालीबीच आपसी भ्रातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । ‘चाडपर्वले सबै जातजाति र धर्मावलम्बीहरूको साझा फूलबारीका रूपमा रहेका र यी पर्वहरूले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर साझा पहिचानलाई सबल बनाउन मद्दत गरेका छन्’, सन्देशमा भनिएको छ, ‘हाम्रा कला–संस्कृति, रीतिथिति र परम्पराहरू नै हाम्रो अमूल्य सम्पदा हुन् । यिनको संरक्षण, प्रवद्र्धन र विकासमार्फत प्रदेशको समृद्धिको चाहना पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ छौँ ।’