`

रोल्पादेखि घुम्दै गोर्खा पुगेका ‘प्रचण्ड’ यसपालीको निर्वाचन कताबाट लड्दैछन् ?

Nepal One HD १२ पुष २०८२ १७:४७
निर्वाचन विषेश

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट पनि प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेका छन् । यसअघि सिन्धुलीबाट चुनाव लड्ने चर्चा चलेका प्रचण्ड गोर्खाबाट पनि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका रुपमा सिफारिस भएका थिए ।

प्रचण्डको राजनीतिक यात्रा दशकौं पुरानो छ । १० वर्षे शसस्त्र विद्रोहपछि २०६४ सालको संविधान सभा निर्वाचनबाट उनी चुनावी राजनीतिमा प्रवेश गरेका थिए । २०६४ को निर्वाचनमा उनले काठमाडौँ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट विजयी भई संसदमा स्थान बनाए । त्यसयता प्रचण्ड हरेक निर्वाचनमा फरक क्षेत्रबाट चुनाव लड्दै आएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा उनी सिराहा क्षेत्र नम्बर पाँचबाट विजयी भए । त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट चुनाव जिते । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित बने ।

हाल सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ । यसपटक पनि प्रचण्ड गोरखा छोडेर अर्को फरक निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । रोल्पा, काठमाडौं, सिराहा, चितवन र गोरखामा विजय हासिल गरेपछि प्रचण्ड यसपटक जन्मथलो कास्कीबाट चुनाव लड्ने चर्चा बढेको छ । तर प्रचण्ड लड्ने भनेको कास्की निर्वाचन क्षेत्र नम्बर-३ मा उनको पार्टीको जनमत कमजोर रहेको बताईन्छ । 

अहिलेसम्म गोरखा–२ बाट प्रचण्डको नाम सिफारिस भइसकेको छ । तर सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, महोत्तरी र रोल्पा लगायतका जिल्लाबाट पनि प्रचण्ड चुनावमा उठ्ने सम्भावना रहेको चर्चा भइरहेका छन् । यद्यपि, प्रचण्डले अहिलेसम्म कताबाट निर्वाचन लड्ने भन्ने करामा अन्तिम निर्णय गरेका छैनन् । उनले राजनीतिक रणनीति र क्षेत्रको चुनावी अवस्था अनुसार निर्णय गर्ने बताइएको छ । यसरी प्रचण्डको चुनावी यात्राले नेपालको प्रतिनिधि सभा निर्वाचनमा निकै रोचक मोड ल्याउने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *