देश जोगाउन निर्वाचनअघि नै राजा, दल र जेनजीबीच नयाँ समझदारी गरौं : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सरोकारवालाहरू सबैले नयाँ समझदारी गर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
उनले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गरे । उनले देश जोगाउने हो भने राजा, राजनीतिक दल र जेन–जी सहितको नयाँ समझदारी गर्नुपर्ने बताए। अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठुलो द्वन्द्व निम्त्याउने बताए । उनले अहिले देश गम्भीर दुर्घटनाको डिलमा रहेको बताए ।
अध्यक्ष लिङदेनले भने ‘यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता, यही संविधान र यही संवैधानिक व्यवस्थाबाट यो देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ रु यही संविधान र यही व्यवस्थाअन्तर्गत हुने चुनावबाट भविष्यमा यो भन्दा पनि ठुलो द्वन्द्व हुनसक्ने सम्भावनाबाट रोक्न सकिन्छ ? नेपाली पन र नेपाली मन जीवित छ भने यो भ्रष्ट व्यवस्थाबाट देश उँभो लाग्दैन ।’
उनले भने, ‘देश बचाउने र बनाउने हो भने यो चुनावअघि नै राजा, राजनीतिक दल, नवयुवाहरूको पुस्ता र सबै सरोकारवालाहरूसँगबाट नयाँ समझदारी कायम गरेर कुनै पार्टी, कुनै शक्तिले हार्ने, जित्ने नभई कसैले नहार्ने र देशले जित्ने नयाँ समझदारी कायम गरौँ । आज देश गम्भीर दुर्घटनाको मुखमा पुगेको छ । भदौ २३ र २४ गतेको घटना हाम्रो आँखाले देखेका छौँ । काँग्रेस र कम्युनिस्टहरूले नाम नै फेरिसके । माओवादीले त आफ्नो नाम पनि भन्न नसक्ने भनेर नाम नै फेरिसक्यो । माओवादी भन्यो भने त फेला परिएला भनेर । यिनीहरूले देश चलायौँ भन्थे, हामीले देश चलाइरहेका छौँ भन्थे ।’ अध्यक्ष लिङदेनले नेपाली मन र नेपाली पन जीवित छ भने अहिलेकै प्रणालीबाट देश अघि बढ्न नसक्ने बताए ।
