वैकल्पिकको एकता यात्रा: को-को छुटे, कोको समेटिँदै छन् ?
साढे तीन महिना चलेको अनौपचारिक छलफल र एक साताको रस्साकस्सीबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सात बुँदे सहमतिमा पुगेका छन् । समर्थकहरूमाझ ठूलो उत्साह ल्याउन सफल हुँदाहुँदै पनि यो सहमति नयाँ र वैकल्पिकहरूबीचको बृहत एकता गर्ने भनिए पनि यो रास्वपा र टिम बालेनबीचको एकता मात्रै हुन पुग्यो ।
यसअघि नै रास्वपासँग सहमति गरेको विवेकशील साझा यो एकतामा समेटियो । रास्वपा-विवेकशील एकता हुँदा छुटेका मिलन पाण्डे, रमेश पौडेल लगायत पूर्वविवेकशीलहरू हिजोको एकतापछि समावेश हुने तयारीमा छन् । छुट्टै पार्टी खोलेका खगेन्द्र सुनार र राप्रपामा रहेका ज्ञानेन्द्र शाही पनि बालेनको बाटो हुँदै रास्वपा पुग्दैछन् । खगेन्द्र सुनारले सार्वजनिक सबै मिले समावेश हुने बताइसकेका छन् भने ज्ञानेन्द्र शाहीले बालेनसँगको भेटमा रास्वपा र बालेन मिले आफू राप्रपा छोडेर आउन तयार रहेको बताएका थिए ।
तर, एक साताको रस्साकस्सीमा संलग्न कुलमान घिसिङ भने मिर्मिरे बिहानीको सहमतिमा अँटाउन सकेनन् । उनले एकतामा आफ्नो सम्मानजनक स्थान खोजेका थिए । पार्टी सभापति, चुनाव चिन्ह, पार्टीको नाम वा प्रधानमन्त्रीको उम्मेद्वारमध्ये कुनै एक त दिएर उज्यालो नेपाल पार्टीको देखिने अस्तित्व स्वीकार गरियोस् भन्ने उनको अडान थियो । तर, रवि र बालेनबीचको छलफल प्रधामन्त्रीको उम्मेद्वारका रुपमा बालेनलाई अघि सार्ने बिन्दूबाट सुरू भएको थियो, यसमा कुलमानको ठाउँ नै रहेन । यता, पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी जनतामा परिचित भएको यसलाई फेर्ने पक्षमा रवि र बालेन दुवै थिएनन् ।
उनीहरूले कुलमानलाई पार्टीको वरिष्ठ नेताका रुपमा लामिछानेपछिको दोस्रो बरियता दिएर राख्ने प्रस्ताव गरे । यतिलेमात्रै हुँदैन भन्ने अडान राखेका कुलमानले अन्तिम क्षणमा महामन्त्री लगायत पदाधिकारीमा हिस्सा मागे । तर, यो छलफल लम्बिने भएपछि यसलाई थाँती राख्न रवि र बालेन सहमत भए । अनि, कुलमान सातबुँदेमा हस्ताक्षर गर्न सकेनन् ।
आइतबार बिहान आफू अझै पनि सकेसम्म एउटै पार्टीबाट मिलेर जाने र नभए चुनावमा सहकार्य गर्ने प्रयासमा रहेको बताएका छन् । ‘सबै नयाँ र वैकल्पिकहरू एक भएर जानुपर्ने, नभए कार्यगत एकता गरेर जानुपर्ने अवस्थामा हामी छौं,’ उनले भने, ‘त्यसैले, नयाँ मेनस्ट्रिम शक्तिहरूलाई म एकताको लागि आव्हान गर्छु ।’
यता, बालेनले एकतामा समावेश गर्न चाहका मधेशका दुई नयाँ पार्टीहरू सिके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई पनि आइतबारे सहमतिले समेटेको छैन । उनीहरूसँग रास्वपामा नै आउन तयार हुन्छन् कि हुन्नन् भन्ने प्रश्न बाँकी नै छ । रास्वपामा नै आउन तयार नभए चुनावी सहकार्यको वातावरण मिलाउन बालेनको समूहले प्रयास गरिरहेको छ ।
धरानका मेयर हर्क साङपाङभने सुरू देखि नै एकता वा सहकार्यको पक्षमा छैनन् । सबैले चाहँदा पनि जेनजी आन्दोलनपछि बालेनले मुलुकको नेतृत्व गर्ने हिम्मत पनि नगरेको र आफूलाई प्रधामन्त्री बनाउन सहयोग पनि नगरेको भन्दै उनले सहकार्यको पक्षमा नरहेको बताएका छन् । उनले बालेन र रवि दुवैलाई विदेशीबाट परिचालित भएको आरोप लगाइरहेका छन् । त्यसैले, अहिलेसम्मको अवस्थामा साङ्पाङ एकतामा मात्रै होइन, चुनावी सहकार्य समेत हुने देखिएको छैन ।
धनगढीका मेयर गोपी हमालले भने आफू संसदीय राजनीतिमा नआए पनि एकता भएर आउने वैकल्पिक पार्टीलाई सहयोग गर्ने बताएका छन् ।
वैकल्पिक शक्ति दाबी गर्ने बाबुराम भट्टराईको नयाँ शक्ति भने माओवादी छोडेका जनार्दन शर्मासँग एकता गरेर प्रगतिशिल लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टी पनि रास्वपासँगको सहमतिमा आउने देखिँदैन ।
जेनजी आन्दोलनपछि उदाएका नेताहरूमध्ये रक्षा बम बालेनसँगै छिन् । बालेनले उनलाई सबै जेनजीहरूलाई समेट्ने जिम्मा दिएका छन् । अर्का नेता सुदन गुरूङ पनि अधिकांश समय बालेनसँगै देखिइरहेका छन् । उनले रवि र बालेनबीच सहमतिका लागि निरन्तर दबाव दिइरहेका थिए । जेनजी आन्दोलनबाट नेताका रुपमा उदाएका पुरुषोत्तम यादव यसअघि नै रास्वपा प्रवेश गरिसकेका छन् । आन्दोलनमै चर्चा कमाएका मिराज ढुंगाना भने यो संवादमा समेत देखिएका छैनन् ।
