मन्त्री खरेलद्वारा पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट
गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गर्नुभएको छ ।आज बिहान पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल’ को उद््घाटनपश्चात् उहाँले नेपाल टेलिकमको प्रादेशिक कार्यालय र तालचोकस्थित एनसेल डाटा सेन्टरको निरीक्षण गर्नुभयो ।
टेलिकम कार्यालयमा निर्देशक वसन्त लिङथेप, उपप्रबन्धक हरि के शर्मालगायतले मन्त्री खरेललाई स्वागत गर्नुभएको थियो । उहाँहरूले कार्यालयबाट भइरहेका सेवा प्रवाहबारे जानकारी गराउनुभयो ।
त्यस अवसरमा मन्त्री खरेलले नेपाल टेलिकमको सेवालाई समयसापेक्ष प्रभावकारी बनाउनुपर्ने बताउँदै विद्यमान समस्या समाधानाका लागि नीतिगत रूपमा गर्नुपर्ने विषयलाई अघि बढाउनेमा आफू तयार रहेको बताउनुभयो । उहाँले देश निर्वाचनमा अघि बढिसकेको उल्लेख गर्दै देशलाई स्थायित्वसँगै समृद्धि र विकासको बाटोमा लैजान निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।
एनसेल डाटा सेन्टरको अवलोकनका क्रममा मन्त्री खरेललाई उक्त सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले विविध विषयमा जानकारी गराउनुुभयो ।मन्त्री खरेलले आजै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव डण्डुराज शर्मासहित सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी लिनुभएको थियो ।उहाँले आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका साथै विभिन्न विकायका प्रमुख तथा प्रतिनिधिसँग पनि भेटघाट गर्नुभएको छ ।
