रवि र बालेनबाट अलग्गिए कुलमान, जुटे समानुपातिक सूची तयारीमा
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पक्षबीच सम्भावित सहकार्य तथा एकताको प्रयास अन्ततः असफल भएको छ । पदीय तथा शक्ति बाँडफाँटमा सहमति जुट्न नसक्दा उनेपा अब छुट्टै रूपमा निर्वाचन प्रक्रियामा अघि बढ्ने निष्कर्षमा पुगेको हो ।
आइतबार राति रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन्द्र शाह र उनेपाका संरक्षक कुलमान घिसिङबीच भएको निर्णायक छलफल सहमतिविना टुंगिएको उनेपाका एक नेताले जानकारी दिए । उनका अनुसार छलफलका क्रममा उनेपामाथि अपमानजनक हुने गरी शक्ति बाँडफाँटको प्रस्ताव आएको भन्दै कुलमान घिसिङले त्यसलाई अस्वीकार गरेका थिए ।
ती नेताले भने, ‘२० प्रतिशतभन्दा कम सहभागिताको प्रस्ताव आयो, जुन हामीलाई स्वीकार्य भएन । त्यसपछि एकताको सम्भावना कमजोर बन्यो ।’ बैठकपछि सोमबार बिहान थप छलफल गर्ने भनिए पनि त्यसतर्फ कुनै पहल नभएको पनि उनेपाले जनाएको छ । एकताका प्रयास असफल भएपछि उनेपाले समानुपातिक तर्फका उम्मेदवार चयन प्रक्रियालाई तीव्र बनाएको छ । पार्टी प्रवक्ता डा. राजु थापाले अब उनेपा आफ्नै दलगत निर्णयअनुसार बन्दसूची तयार पार्ने जानकारी दिए । ‘एकता सम्भव नभएपछि हामी समानुपातिक उम्मेदवारको सूची अन्तिम रूप दिन जुटेका छौँ’, उनले भने ।
उनेपाले यसअघि रास्वपा, मेयर बालेन शाह पक्ष तथा अन्य केही दलसँग संवाद गरेको थियो । विशेषतः बालेन शाह पक्षसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको थियो । बालेन रास्वपासँग नजिकिएपछि त्रिपक्षीय संवाद समेत भएको थियो । तर पदीय बाँडफाँट र नेतृत्व भूमिकामा सहमति नजुट्दा प्रक्रिया अगाडि बढ्न सकेन । बालेन शाह पक्षका एक नेताका अनुसार आइतबारको वार्तामा बालेन र महानगरका केही नेताहरू कुलमान घिसिङलाई समेटेर अघि बढ्न लचक देखिएका थिए । तर रास्वपातर्फबाट त्यति उत्साह नदेखिएको दाबी गरिएको छ ।
‘यदि सबै पक्षबाट इच्छाशक्ति देखिएको भए समाधान सम्भव थियो’, ती नेताले बताए । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम पेस गर्ने अन्तिम समयसीमा तोकिसकेको अवस्थामा उनेपाले समावेशी मापदण्डअनुसार ११० जनाको सूची तयारीमा अन्तिम तयारी गरिरहेको जनाएको छ । एकता प्रयास विफल भए पनि उनेपा आफ्नै राजनीतिक एजेण्डा र संगठनात्मक संरचनासहित चुनावी मैदानमा उत्रने तयारीमा देखिएको छ ।
