`

रेशम चौधरीको प्रश्न : ओली, बालेन र रविले चुनाव लड्न पाउने, मैले नपाउने भन्ने हुन्छ ?

Nepal One HD १४ पुष २०८२ १७:३५
निर्वाचन विषेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरीले आफूलाई चुनाव लड्न नदिने हो भने देशका शीर्ष नेताहरू पनि चुनाव लड्न अयोग्य हुने दाबी गरेका छन् । आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई लिएर उठाइएका प्रश्नहरूलाई उनले ‘राजनीतिक पूर्वाग्रह’ को संज्ञा दिएका छन् ।

आफ्नो दलको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू चुनाव लड्न नपाउने भन्ने बहस नै गलत रहेको बताएका छन् । ‘रेशम चौधरीले चुनाव लड्न पाउँदैन भन्नु सबैभन्दा गलत प्रश्न हो’, उनले भने, ‘यदि म अयोग्य हुँ भने केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा वा रवि लामिछाने कसरी योग्य हुन्छन् ?’

उनले कानुनी र नैतिक मापदण्ड सबैका लागि समान हुनुपर्नेमा जोड दिए । जेल जीवन भोगेका वा विभिन्न विवादमा मुछिएका नेताहरूलाई चुनाव लड्न दिइने तर आफूलाई रोक्ने प्रयास हुनु अन्यायपूर्ण भएको उनको भनाइ थियो । चौधरीले २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’ स्मरण गर्दै उक्त आन्दोलन राज्य दमनविरुद्ध भएको दाबी गरे । आन्दोलनका क्रममा ७७ जनाले ज्यान गुमाएको र धेरै घाइते अझै उपचाररत रहेको उल्लेख गर्दै उनले ती घटनाका बेला सत्तामा रहेका नेताहरूलाई चुनाव लड्न छुट दिइनु तर आफूलाई वञ्चित गरिनु दोहोरो मापदण्ड भएको बताए ।
‘जेनजी आन्दोलनमा बगेको रगत सुक्न नपाउँदै ओली–देउवाहरू चुनाव लड्न पाउने, थारु भएकै कारण म नपाउने ?’ उनले प्रश्न गरे ।

उनले अदालत र राज्य संयन्त्रप्रति पनि प्रश्न उठाउँदै भने, ‘यहाँ जे पनि सम्भव छ । अदालतले प्रचण्डलाई चुनाव लड्न दिने अधिकार दिन्छ भने मलाई किन नदिने ?’ टीकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका बेला राष्ट्रपतिबाट सजाय मिनाहा भएको विषय उठेपछि चौधरीले आफू घटनामा संलग्न नै नरहेको दोहोर्‍याए । ‘फौजदारी कार्यविधि संहिताअनुसार घटनास्थलमा नभएको व्यक्तिलाई अभियुक्त बनाउन मिल्दैन’, उनले भने, ‘म घटनास्थलमै थिइनँ, त्यसपछि म कसरी दोषी भएँ ?’ उनले नेपालमा अझै पनि जातीय पहिचानका आधारमा विभेद र अन्याय भइरहेको आरोप लगाउँदै थारु समुदाय भएकै कारण आफूलाई लक्षित गरिएको दाबी गरे । ‘जातका आधारमा अन्याय र दमन अब स्वीकार्य हुँदैन, चौधरीले भने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *