जावेद अख्तर र मुफ्ती शमाइल नदवीको बहस: के भगवान छन् ?
के ईश्वरको अस्तित्व छ ? यो प्रश्न एउटा सदाबहार प्रश्न जस्तै हो । अध्यात्मिकहरू ईश्वर छन् भन्ने विश्वास गर्छन् भने नास्तिकहरू ईश्वर छैनन् भन्ने विश्वास गर्छन् । यी दुवै विश्वास हुन् । यी दुई विश्वासबीच हजारौं वर्षदेखि बहस जारी छ । केही समयअघि भारतीय पत्रकार सौरभ द्वीवेदीले यही प्रश्नमा दुई विद्वानलाई बहसमा उतारे ।
मुफ्ती शमाइल नदवी इस्लामिक विद्वान् र शिक्षाविद् हुन्। उनी कोलकाताको वाहन फाउन्डेसनका संस्थापक पनि हुन्। लखनऊको प्रतिष्ठित दारुल उलूम नदवतुल उलमाबाट स्नातक गरेका नदवी सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा अध्यापन र बौद्धिक गतिविधिमा सक्रिय छन्। साथै, मलेसियाको इन्टरनेशनल इस्लामिक युनिभर्सिटीबाट पीएचडी पनि गर्दैछन् । उनी ट्राभल ब्लग पनि बनाउँछन् ।
जावेद अख्तर प्रसिद्ध कवि, शायर, गीतकार र लेखक हुन् । उनी वैज्ञानिक सोच र आफ्नो घोषित नास्तिकताबारे पनि खुलेर बोल्ने गर्छन् र आफूलाई तर्कशीलताको पक्षमा उभ्याउँछन् ।
यी दुई विद्वानबीच हिन्दी भाषामा भएको बहसको सम्पादित सारांश नेपाली अनुवादसहित प्रस्तुत गरिएको छ:
शमाइल नदवी
सम्पूर्ण प्रशंसा त्यस सृष्टिकर्ताका लागि जसले यस ब्रह्माण्डलाई एउटा उद्देश्यका साथ सिर्जना गर्नुभएको छ।
आदरणीय जावेद अख्तर साहब, श्रीमान् सौरभ द्विवेदी र सम्मानित दर्शकवृन्द,आज यहाँ उपस्थित हुनुभएकोमा तपाईं सबैलाई धन्यवाद।
आजको बहसमा हामी “डस गड एक्जिस्ट?” भन्ने विषयमा कुरा गर्न गइरहेका छौँ। यो यस्तो विषय हो, जसको सम्बन्धमा निर्णय लिन विभिन्न मापदण्ड हुन सक्छन्। त्यसैले बहस सुरु हुनु अघि यो जान्नु आवश्यक छ कि आजको विषयमा कुन मापदण्ड सही हुनेछ र कुन गलत हुनेछ। सबैभन्दा पहिलो मापदण्ड, जसतर्फ हाम्रो सम्मानित जावेद अख्तर साहब छिट्टै जानुहुनेछ, त्यो हो विज्ञान। तर विज्ञान वास्तवमा भगवान्को अस्तित्वलाई प्रत्यक्ष रूपमा प्रमाणित गर्न वा अस्वीकार गर्न मापदण्ड बन्न सक्दैन। यसको कारण के हो? यो म मात्र भन्दिनँ। विज्ञानका विशेषज्ञहरू स्वयं यो भन्छन्। नेशनल एकेडेमी अफ साइन्स भन्छ,विज्ञानसँग भगवान्को अस्तित्व प्रमाणित वा खण्डन गर्ने प्रक्रिया छैन। किनभने विज्ञानको सम्बन्ध अनुभवजन्य प्रमाणसँग हुन्छ र अनुभवजन्य प्रमाणको सम्बन्ध हाम्रो प्राकृतिक र भौतिक संसारसँग हुन्छ, जबकि भगवान् गैर–भौतिक र अलौकिक वास्तविकता हुनुहुन्छ। त्यसैले गैर–भौतिक वास्तविकतालाई त्यस्तो उपकरणबाट जाँच्न सकिँदैन, जसको काम भौतिक वास्तविकता खोज्नु हो। त्यसैले आजको बहसमा भगवान्को अस्तित्व प्रमाणित वा अस्वीकार गर्न वैज्ञानिक प्रमाण स्वीकार गरिने छैन।
दोस्रो मापदण्ड हुन सक्छ प्रकट हुनु, अर्थात् रिभेलेशन । धार्मिक ग्रन्थमार्फत हामी भगवान् अस्तित्वमा छन् कि छैनन् भन्ने कुरा प्रमाणित गरौँ। तर आजको बहसमा यो मापदण्ड पनि अप्रासंगिक छ। किनभने रिभेलेशन मेरो नजिक ज्ञानको स्रोत हो, वैध ज्ञानको स्रोत हो, तर जावेद अख्तर साहबका लागि यो वैध ज्ञानको स्रोत होइन। त्यसैले आजको बहसमा म कुनै पनि धार्मिक ग्रन्थबाट एक पनि प्रमाण प्रस्तुत गर्ने छैन, ताकि जावेद अख्तर साहबका लागि त्यो अस्वीकार्य नहोस्।
तेस्रो मापदण्ड हुन सक्छ अवलोकन। अर्थात् कसैले भन्यो,हामीलाई भगवान् देखाइदिनुहोस्। यदि हुनुहुन्छ भने देखाइदिनुहोस्। वा भगवान्को अस्तित्वका लागि अनुभवजन्य प्रमाण दिनुहोस्। तर यो वास्तवमा गलत उपकरणको प्रयोग हो। यो त्यस्तै हो, जस्तै जावेद साहबले मसँग माग गर्नुभयो कि मुफ्ती साहब, तपाईं मेटल डिटेक्टर प्रयोग गरेर प्लास्टिक पत्ता लगाएर देखाउनुहोस्। अब जब प्लास्टिक पत्ता लाग्दैन, त्यसैले प्लास्टिक अस्तित्वमा छैन भन्नु गलत हुन्छ। तपाईं गलत उपकरण प्रयोग गर्दै हुनुहुन्छ। यो उपकरण प्लास्टिक पत्ता लगाउनका लागि बनाइएको नै होइन। त्यसैले भगवान्को अस्तित्वका लागि अनुभवजन्य प्रमाण माग गर्नु एक बालसुलभ माग हो, र म विश्वास गर्छु कि हाम्रो सम्मानित जावेद अख्तर साहब यो स्तरभन्दा धेरै अघि बढिसक्नुभएको छ।
अब बाँकी रहन्छ केवल एउटा मात्र मापदण्ड,अकल, अर्थात् तर्क र विवेक। यही त्यो मापदण्ड हो, जसअन्तर्गत भगवान्को अस्तित्व प्रमाणित वा अस्वीकार गरिनेछ। तर किनकि यो विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील छ, त्यसैले तर्क पनि यस्तो हुनुपर्छ, जो निर्णायक होस्, अनिश्चित नहोस्, दुई र दुई चार जत्तिकै स्पष्ट होस्, र जसलाई तर्कसंगत रूपमा अस्वीकार गर्न सम्भव नहोस्।
उदाहरणका लागि, यदि हामी भनौँ,हाम्रो सम्मानित श्री सौरभ साहब एक मानिस हुनुहुन्छ, र सबै मानिसहरू चेतनशील प्राणी हुन्छन्, त्यसैले हाम्रो सौरभ साहब पनि चेतनशील प्राणी हुनुहुन्छ। अब यो तर्क अनिश्चित हो कि निर्णायक? यो पूर्ण रूपमा निर्णायक तर्क हो। यो दुई र दुई चार जत्तिकै स्पष्ट छ। यसलाई तर्कसंगत रूपमा अस्वीकार गर्न सकिँदैन। त्यसैले यदि आज जावेद अख्तर साहबले भगवान् अस्तित्वमा छैनन् भन्ने पक्षमा यस्तै कुनै निर्णायक, अक्लीय र तर्कसंगत प्रमाण प्रस्तुत गर्नुभयो भने, म घोषणा गर्दछु कि म निश्चय नै त्यस प्रमाणलाई स्वीकार गर्नेछु र त्यसमा गहिरो विचार गर्नेछु। तर यससँगै म भविष्यवाणीको रूपमा यो पनि घोषणा गर्छु कि यस्तो कुनै निर्णायक तर्क कसैले प्रस्तुत गर्न सक्दैन। हामी तर्क प्रस्तुत गर्नेछौँ, र निर्णायक तर्क प्रस्तुत गर्नेछौँ।
हामी तर्कसंगत दलील दिनेछौँ, यस्ता दलील, जसलाई सम्पूर्ण नास्तिक संसारले पनि खण्डन गर्न सक्दैन। अब एउटा सरल उदाहरण सोचौँ। म सम्पूर्ण दर्शकहरूलाई अनुरोध गर्छु,कल्पना गर्नुहोस्, हामी सबै एक अलग्गै टापुमा छौँ। यस्तो टापु, जहाँ हामीभन्दा पहिले कहिल्यै कोही पुगेको छैन। हिँड्दाहिँड्दै अचानक तपाईंले आफ्नो अगाडि गुलाबी रङको एउटा बल देख्नुभयो, जमिनमा राखिएको।
सबैभन्दा पहिलो प्रश्न तपाईंको दिमागमा के आउनेछ? यो बल यहाँ किन आयो? कसरी आयो? यो गुलाबी रङको नै किन छ? कुनै अर्को रङको पनि हुन सक्थ्यो। यो यस्तै आकारको नै किन छ? कुनै अर्को आकारको पनि हुन सक्थ्यो। स्वाभाविक रूपमा तपाईं यस निष्कर्षतर्फ पुग्नुहुनेछ कि अवश्य नै कसैले यी विशिष्ट गुणहरू सहित यो बल बनाएको छ र यहाँ राखेको छ। किनकि तपाईंलाई थाहा छ,यो बलको अस्तित्व अनिवार्य थिएन। यो अस्तित्वमा नहुन पनि सक्थ्यो। र यदि अस्तित्वमा आउनै थियो भने, कुनै अर्को रूप र रङमा पनि आउन सक्थ्यो।
अब यही बललाई विस्तार गर्दै जानुहोस्, विस्तार गर्दै जानुहोस्, विस्तार गर्दै जानुहोस् । यहाँसम्म कि त्यो बल ब्रह्माण्डकै आकारको भइदियोस्। अब बताउनुहोस्,के आकार बढ्दै जानाले प्रश्न बदलिन्छ? कदापि बदलिँदैन। प्रश्न अझै पनि यही रहन्छ,यो ब्रह्माण्ड कहाँबाट आयो? यी विशिष्ट गुणहरू सहित कहाँबाट आयो? किन आयो? कसले बनायो? यो प्रश्न त्यतिबेला पनि पूर्ण रूपमा वैध रहन्छ।
तर, यदि हामी यही प्रश्न जावेद अख्तर साहबसमक्ष राख्छौँ र केवल उहाँ मात्र होइन, सबै नास्तिकहरू र नास्तिक दृष्टिकोण राख्ने मानिसहरूसँग सोध्छौँ, यो ब्रह्माण्ड कहाँबाट आयो? तिनीहरूको उत्तर या त अज्ञानतामा आधारित तर्क हुनेछ वा ‘डग्म्याटिक’ हुनेछ। या त तिनीहरू भन्छन्, मलाई थाहा छैन यो कहाँबाट आयो, त्यसैले भगवान् अस्तित्वमा छैनन्। यो अज्ञानतामा आधारित तर्क हो। वा तिनीहरू भन्छन्,यो ब्रह्माण्ड आफैं बन्यो। यसको अर्थ यो हुन्छ कि त्यो बल पनि आफैं बनिनु पर्थ्यो। तर बलको सन्दर्भमा यस्तो व्याख्या स्वीकार गरिँदैन कि यो आफैं बन्यो, तर ब्रह्माण्डको सन्दर्भमा भने स्वीकार गरिन्छ। यसलाई हामी अर्को शब्दमा ‘डग्मा’ पनि भन्न सक्छौँ।
अर्को कुरा, हाम्रो जावेद अख्तर साहब अवश्य पनि “गड अफ ग्याप्स” को उदाहरण दिनुहुनेछ। उहाँ भन्नुहुनेछ, पहिले बिजुली चम्किँदा मानिसहरूले कुनै देवतालाई जिम्मेवार ठान्थे, पानी पर्दा अर्को देवतालाई ठान्थे। उनीहरूसँग प्रमाण थिएन। तर यो हाम्रो विश्वदृष्टि होइन। यो हाम्रो विश्वदृष्टि नै होइन। किनकि प्राकृतिक घटनाहरूको प्रक्रियाको व्याख्या बुझ्नुले कसरी यो प्रमाणित हुन्छ कि भगवान् अस्तित्वमा छैनन्? यसबारे म अझै अगाडि कुरा गर्नेछु।
म यो पनि अपेक्षा गर्छु कि हाम्रो सम्मानित जावेद अख्तर साहब भावनात्मक तर्कहरू पनि प्रस्तुत गर्नुहुनेछ, जुन सत्य निर्णय गर्ने सन्दर्भमा तर्कदोष हुन्छ। उदाहरणका लागि उहाँ भन्नुहुनेछ,यदि भगवान् छन् भने खराबी किन अस्तित्वमा छ? तर म भन्छु,खराबीको अस्तित्व भगवानको अस्तित्वको विरोधमा होइन, बरु समर्थनमा तर्क हो। किनकि यदि भगवान् छन् भने हामी सबै उहाँका सामु उत्तरदायी छौँ। र यदि हामी उत्तरदायी छौँ भने, उत्तरदायित्वका लागि खराबीको अस्तित्व आवश्यक हुन्छ। यसको बिना हामी उत्तरदायी हुनै सक्दैनौँ।
र, यदि हामी उत्तरदायी छैनौँ भने जावेद अख्तर साहबलाई सोध्नेछौँ,यदि भगवान् छैनन् भने यस संसारमा पीडा किन छ? अनि ती मानिसहरूको भावना र न्याय के, जसले पीडा सहेर बदला लिने इच्छा मनमै लिएर यस संसारबाट गए? के उनीहरूको सबै पीडा व्यर्थ गयो?
अब फेरि त्यही उदाहरणतर्फ फर्कौँ,यदि कसैले मसँग सोध्यो, यो बल कसले बनायो? वा यो विस्तारित बल कसले बनायो? म भन्छु,किनकि यो ब्रह्माण्ड र यसभित्रका सबै वस्तुहरू कन्टिन्जेन्ट छन्। कन्टिन्जेन्ट हुनुको अर्थ,आफ्नो अस्तित्वका लागि कसैमाथि निर्भर हुनु। स्पष्ट रूपमा यो ब्रह्माण्ड कन्टिन्जेन्ट छ। यदि कसैले भन्यो, ब्रह्माण्डमा कुनै चीज कन्टिन्जेन्ट छैन, म विनम्रतापूर्वक अनुरोध गर्छु, कृपया देखाइदिनुहोस्, कुन चीज कन्टिन्जेन्ट छैन। हामी पनि हेरौँ, हामी पनि विचार गरौँ।
दर्शनशास्त्रीहरूको शब्दावलीअनुसार ‘कन्टिन्जेन्ट’ वस्तुहरू अस्तित्वमा हुँदा हामी त्यस्तो अस्तित्वसम्म पुग्छौँ, जसलाई “नेसेसरी बीइंग” भनिन्छ । यस्तो अस्तित्व नहुनु असम्भव हो। किनकि यदि त्यो अस्तित्वमा नहुने हो भने कुनै पनि वस्तु अस्तित्वमा आउनै सक्दैन। र, यी सबै कन्टिन्जेन्ट वस्तुहरू अन्ततः उसैमा निर्भर छन्।
अब यदि तपाईं सोध्नुहुन्छ, त्यो अस्तित्वलाई कसले बनायो? त्यसको कारण के हो? फेरि त्यसको कारण के हो? र यसरी अनन्तसम्म जानुहुन्छ भने यसलाई हामी कारणहरूको अनन्त प्रतिगमन (इन्फिनिट रिग्रेस अफ कॉजेज) भन्छौँ, जुन तर्कदोष हो। अवधारणात्मक रूपमा अनन्त सम्भव हुन सक्छ, जस्तै सङ्ख्याहरू एक, दुई, तीन गर्दै गनिरहँदा अनन्तसम्म जान सकिन्छ। तर, म अवधारणाको कुरा गरिरहेको छैन। म व्यवहारिक वास्तविकतामा कुरा गरिरहेको छु। व्यवहारिक रूपमा देखाएर प्रमाणित गरिदिनुहोस् कि कारणहरूको अनन्त श्रृंखला सम्भव छ। यदि सम्भव छ भने, हामी मान्नेछौँ। उदाहरण दिनुहोस्। र, यदि सम्भव छैन भने, केवल एउटा मात्र विकल्प बाँकी रहन्छ: नेसेसरी बीइंग।
त्यस्तो नेसेसरी बीइंग, जो पूर्ण रूपमा स्वतन्त्र छ। किनभने, यदि त्यो पनि निर्भर भयो भने नेसेसरी रहनेछैन। त्यस्तो अस्तित्व, जो शाश्वत हो। यदि त्यो शाश्वत भएन र कुनै सुरुवात भयो भने स्वयं कन्टिन्जेन्ट हुनेछ। त्यस्तो अस्तित्व, जो शक्तिशाली छ किनभने कन्टिन्जेन्टलाई वास्तविक बनाउन शक्ति आवश्यक हुन्छ। त्यस्तो अस्तित्व जो बुद्धिमान र ज्ञानवान छ किनभने यो ब्रह्माण्ड विशिष्ट रूप र विशिष्ट प्राकृतिक नियमहरूअन्तर्गत अत्यन्तै सटीक रूपमा चलिरहेको छ।
जावेद अख्तर
धन्यवाद। सबैभन्दा पहिले म यो स्पष्ट गर्न चाहन्छु कि म यहाँ कुनै धर्ममाथि आक्रमण गर्न आएको छैन। म यहाँ कुनै धर्मको अपमान गर्न आएको छैन। म यहाँ कुनै धार्मिक विश्वास राख्ने मानिसलाई कम आँक्न आएको छैन। म केवल आफ्नो दृष्टिकोण, आफ्नो सोच, आफ्नो तर्क राख्न आएको छु।
म यो पनि स्पष्ट गर्न चाहन्छु कि नास्तिक हुनु कुनै घमण्डको विषय होइन, कुनै श्रेष्ठताको दाबी होइन। यो केवल एउटा निष्कर्ष हो, जुन म आफ्नो जीवनअनुभव, अध्ययन र सोचको आधारमा निकाल्न पुगेको छु। जति अधिकार एक धार्मिक मानिसलाई भगवान्माथि विश्वास गर्ने छ, उति नै अधिकार मलाई भगवान्माथि विश्वास नगर्ने पनि छ।
आजको बहसको विषय “के भगवान् अस्तित्वमा छन्?” हो। मेरो सीधा उत्तर छ,मलाई थाहा छैन। र म यो “मलाई थाहा छैन” भन्नु इमानदार उत्तर ठान्छु। किनभने जहाँ प्रमाण छैन, त्यहाँ निश्चित दाबी गर्नु बौद्धिक इमानदारी हुँदैन।
मुफ्ती साहबले विज्ञानको कुरा गर्नुभयो। म यसमा सहमत छु कि विज्ञान भगवान्को अस्तित्व न त प्रमाणित गर्न सक्छ, न त खण्डन। तर विज्ञानले एउटा कुरा अवश्य सिकाएको छ,हामीलाई नथाहा भएका कुराहरूको सूची निरन्तर सानो हुँदै गइरहेको छ। एक समय थियो, जब मानिसहरूलाई बिजुली चम्किँदा डर लाग्थ्यो, जब पानी पर्दा डर लाग्थ्यो, जब रोग लाग्दा डर लाग्थ्यो। आज ती सबै कुराहरूको वैज्ञानिक व्याख्या छ।
जब हामी मलाई थाहा छैन भन्छौँ, यसको अर्थ हामीले त्यस खाली ठाउँमा भगवान् राखिदिनुपर्छ भन्ने हुँदैन। इतिहासले हामीलाई यही कुरा सिकाएको छ कि हरेक “ग्याप” मा भगवान् राख्ने बानी अन्ततः गलत सावित भएको छ। आज हामी त्यसलाई “गड अफ ग्याप्स” भन्छौँ।
मुफ्ती साहबले एउटा बलको उदाहरण दिनुभयो। म त्यो उदाहरणसँग सहमत छैन। किनभने, बल एउटा मानव निर्मित वस्तु हो। हामीलाई थाहा छ, बल बनाइन्छ। हामीले बल बनाउँदै गरेको देखेका छौँ। तर ब्रह्माण्डको सन्दर्भमा हामीले कहिल्यै कुनै ब्रह्माण्ड बनाउँदै गरेको देखेका छैनौँ। त्यसैले दुवैलाई एउटै तराजुमा राख्नु बौद्धिक रूपमा सही छैन।
हामीलाई यो स्वीकार गर्नुपर्छ कि “मलाई थाहा छैन” भन्नु कमजोरी होइन। यो वैज्ञानिक सोचको आधार हो। यदि आज हामीले थाहा नभएको हरेक कुरामा भगवान् घुसाइदियौँ भने अनुसन्धान, जिज्ञासा र खोज सबै बन्द हुन्छन्। प्रश्न सोध्ने परम्परा नै समाप्त हुन्छ।
अब म खराबीको प्रश्नतर्फ आउँछु। यदि भगवान् सर्वशक्तिमान छन्, यदि भगवान् सर्वज्ञ छन्, यदि भगवान् पूर्ण रूपमा दयालु छन् भने, यस संसारमा यति धेरै पीडा, अन्याय, हिंसा र दुःख किन छ? बालबालिका किन पीडित छन्? निर्दोष मानिसहरू किन मारिन्छन्? यदि हामी भन्छौँ,यो सबै परीक्षा हो,त्यो उत्तर मलाई स्वीकार्य लाग्दैन।
यदि भगवान् छन् भने र उहाँले सबै देखिरहनुभएको छ भने उहाँ मौन किन हुनुहुन्छ? र, यदि भगवान् छैनन् भने कम्तिमा हामीलाई यो थाहा छ कि यो संसार हाम्रो जिम्मेवारी हो। तब अन्यायका लागि हामी एक–अर्कालाई दोष दिन सक्छौँ र सुधार गर्ने प्रयास गर्न सक्छौँ।
नैतिकता भगवानबाट आउँछ भन्ने कुरा पनि म स्वीकार गर्दिनँ। मानिसहरूले भगवान् नभए पनि नैतिकता विकास गरेका छन्। सहानुभूति, करुणा, सहयोग सबै मानवीय गुण हुन्। यी गुणहरू केवल धार्मिक विश्वासका कारण होइन, सामाजिक सहअस्तित्वका कारण विकसित भएका हुन्।
अन्त्यमा म यति मात्र भन्न चाहन्छु; म भगवान् अस्तित्वमा छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ। तर म भगवान् अस्तित्वमा छन् भनेर विश्वास गर्नका लागि पर्याप्त कारण पनि देख्दिनँ। त्यसैले म “मलाई थाहा छैन” भन्ने स्थानमा उभिएको छु। र, म यसलाई बौद्धिक रूपमा सबैभन्दा इमानदार स्थान ठान्छु।
मुफ्ती शमाइल नदवी
म जावेद अख्तर साहबको वक्तव्यका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले इमानदारीपूर्वक “मलाई थाहा छैन” भन्ने स्थान रोज्नुभएको छ। तर, म सम्मानपूर्वक भन्न चाहन्छु, “मलाई थाहा छैन” भन्ने वाक्य एउटा मनोवैज्ञानिक अवस्था हुन सक्छ तर यो कुनै दार्शनिक निष्कर्ष होइन। यदि “मलाई थाहा छैन” नै अन्तिम उत्तर हो भने तब कुनै पनि दार्शनिक बहस सम्भव हुँदैन।
जावेद साहबले “गड अफ ग्याप्स” को कुरा गर्नुभयो। म स्पष्ट रूपमा भन्न चाहन्छु; हाम्रो तर्क “गड अफ ग्याप्स” होइन। हामी यो भनिरहेका छैनौँ कि जहाँ विज्ञानले उत्तर दिन सकेन, त्यहाँ भगवान् घुसाइदिउँ। हामी के भनिरहेका छौँ भने यो ब्रह्माण्ड स्वयं एक तथ्य हो । एक वास्तविकता हो । र, यस वास्तविकताको अस्तित्वका लागि अन्तिम व्याख्या आवश्यक छ। प्रक्रियाको व्याख्या हुनु र अस्तित्वको व्याख्या हुनु दुई फरक कुरा हुन्।
बलको उदाहरणबारे जावेद साहबले भन्नुभयो,बल मानव निर्मित हो, ब्रह्माण्ड होइन। तर म सोध्न चाहन्छु, बल मानव निर्मित हो भन्ने कुरा हामीलाई कसरी थाहा भयो? किनभने, बलमा विशिष्ट गुणहरू छन्, उद्देश्य देखिन्छ र हामीसँग तर्क छ। यही तर्क हामी ब्रह्माण्डमा पनि प्रयोग गरिरहेका छौँ। ब्रह्माण्डमा अझ धेरै नियम, सन्तुलन र विशिष्टता देखिन्छ। यदि सानो बलले निर्माता संकेत गर्छ भने असीमित रूपमा जटिल ब्रह्माण्डले निर्माता संकेत किन नगर्ने?
जावेद साहबले “मलाई थाहा छैन” भन्नु बौद्धिक इमानदारी हो भन्नुभयो। तर म भन्छु यदि सबै प्रमाणहरू एक दिशातर्फ इङ्गित गरिरहेका छन्; तब “मलाई थाहा छैन” भन्नु इमानदारी होइन, पलायन हुनसक्छ। यदि हामी धुवाँ देख्छौँ भने आगो हुन सक्छ भन्ने निष्कर्ष निकाल्नु तर्कसंगत हुन्छ।
अब खराबीको प्रश्नमा आउँछु। जावेद साहबले सोध्नुभयो, यदि भगवान् दयालु छन् भने संसारमा यति धेरै पीडा किन? तर म फेरि भन्छु; खराबीको अस्तित्व भगवानको विरोधमा होइन। नैतिकता, न्याय र अन्यायका अवधारणा स्वयं भगवानको अस्तित्वतर्फ इङ्गित गर्छन्। यदि कुनै परम नैतिक मापदण्ड छैन भने, “खराब” भन्नुको अर्थ के रहन्छ?
जावेद साहबले भन्नुभयो, यदि भगवान् मौन छन् भने? म भन्छु, भगवान् मौन छैनन्। प्रकृतिका नियमहरू, मानव विवेक, नैतिक चेतना, यी सबै उहाँका संकेत हुन्। र, यदि हामीले सबै कुरा जबरजस्ती प्रत्यक्ष चमत्कारमार्फत मात्र चाह्यौँ भने तर्क होइन, जिद्दी हुन्छ।
जावेद साहबले भन्नुभयो, नैतिकता भगवानबाट आएको होइन। तर म सोध्न चाहन्छु, यदि नैतिकता केवल सामाजिक सहमतिमा आधारित हो भने त्यो सधैँ परिवर्तनशील हुन्छ। तब, हिटलर गलत किन थियो? केवल किनभने बहुमतले अस्वीकार गर्यो? वा कुनै वस्तुगत नैतिक सत्य पनि हुन्छ?
जावेद अख्तर
मुफ्ती साहबले ‘मलाई थाहा छैन’ लाई दार्शनिक निष्कर्ष होइन भन्नुभयो। तर, म फेरि दोहोर्याउन चाहन्छु,जहाँ निश्चित ज्ञान छैन, त्यहाँ “मलाई थाहा छैन” भन्नु नै सबैभन्दा इमानदार निष्कर्ष हो। इतिहासले यही सिकाएको छ कि निश्चित दाबीहरू धेरै पटक गलत सावित भएका छन्।
मुफ्ती साहबले भन्नुभयो, अस्तित्वको व्याख्या आवश्यक छ। म सहमत छु। तर आवश्यक छ भन्दैमा हामीसँग उत्तर छ भन्ने हुँदैन। आवश्यकताले सत्य जन्माउँदैन। आवश्यकता र प्रमाण दुई फरक कुरा हुन्।
बलको उदाहरण फेरि आउँछ। तर म पुनः भन्छु, हामीले बल बनाउँदै गरेको देखेका छौँ। ब्रह्माण्ड बनाउँदै गरेको कहिल्यै देखेका छैनौँ। तुलना यहाँ असफल हुन्छ। जटिलता आफैंमा निर्माताको प्रमाण होइन। प्रकृतिमा जटिलता स्वतः विकसित हुन सक्छ, र यसका उदाहरणहरू हामी विकासवादमा देख्छौँ।
नैतिकताको प्रश्नमा म यो स्पष्ट गर्न चाहन्छु, नैतिकता परम आदेशबाट होइन, मानवीय अनुभव, सहानुभूति र सामाजिक आवश्यकताबाट विकसित हुन्छ। हिटलर गलत थियो किनभने उसले पीडा दियो, मानिसहरूलाई मारे, र मानव सहअस्तित्व नष्ट गर्यो। यसको लागि भगवान् आवश्यक छैन।
अन्त्यमा म फेरि यही भन्छु, म भगवान् छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ। तर, म भगवान् छन् भनेर विश्वास गर्न बाध्य पार्ने कुनै निर्णायक प्रमाण पनि देख्दिनँ। त्यसैले म “मलाई थाहा छैन” भन्ने स्थानमै उभिएको छु।
मुफ्ती शमाइल नदवी
म पुनः एक पटक स्पष्ट गर्न चाहन्छु, हामी “गड अफ ग्याप्स” को तर्क दिइरहेका छैनौँ। हामी कुनै पनि वैज्ञानिक खाली ठाउँमा भगवान् राख्न खोजिरहेका छैनौँ। हामी एउटा आधारभूत दार्शनिक प्रश्न सोधिरहेका छौँ, यो ब्रह्माण्ड अस्तित्वमा किन छ? विज्ञानले “कसरी” को उत्तर दिन सक्छ, तर “किन” को उत्तर दिन सक्दैन। अस्तित्वको अन्तिम कारण खोज्नु विज्ञानको विरोध होइन।
जावेद साहबले विकासवादको कुरा गर्नुभयो। विकासवाद जैविक विविधताको व्याख्या हो, अस्तित्वको अन्तिम कारणको होइन। जीवहरू कसरी विकसित भए भन्ने प्रश्न र ब्रह्माण्ड नै किन अस्तित्वमा आयो भन्ने प्रश्न एउटै होइनन्। यी दुईलाई मिसाउनु श्रेणीगत भ्रम हो।
जटिलता मात्र होइन, नियमबद्धता पनि महत्त्वपूर्ण छ। ब्रह्माण्ड अन्धाधुन्ध अराजकतामा छैन। यो निश्चित गणितीय नियमहरूअन्तर्गत चलिरहेको छ। यी नियमहरू यति सूक्ष्म रूपमा सन्तुलित छन् कि सानो परिवर्तनले पनि जीवन असम्भव हुन सक्थ्यो। यसलाई हामी “फाइन–ट्युनिङ” भन्छौँ। यो फाइन–ट्युनिङ संयोग हो भन्नु तर्कसंगत छैन।
अब नैतिकताको विषयमा फेरि फर्किन्छु। यदि नैतिकता केवल सामाजिक सहमति हो भने, समाजले गलत ठानेको कुरा गलत र सही ठानेको कुरा सही हुन्छ। तर इतिहासमा धेरै समाजहरूले दासप्रथा, नरसंहार र उत्पीडनलाई सही मानेका छन्। यदि त्यो बेला समाज सहमत थियो भने, के ती कुरा सही थिए? यदि होइन भने, तब नैतिकताको कुनै वस्तुगत मापदण्ड अवश्य हुनुपर्छ।
जाबेद अख्तर
मुफ्ती साहबले “किन” र “कसरी” को भिन्नता उल्लेख गर्नुभयो। तर, म यो भिन्नतालाई पूर्ण रूपमा स्वीकार गर्दिनँ। इतिहासले देखाएको छ, जहाँ “किन” को प्रश्न थियो, त्यहाँ “कसरी” को उत्तर आएपछि “किन” आफैं विलीन भयो। सूर्य किन उदाउँछ भन्ने प्रश्न थियो। आज हामीलाई थाहा छ,पृथ्वीको घुमाइका कारण उदाउँछ। अब त्यो “किन” अलग प्रश्न रहेन।
फाइन–ट्युनिङको तर्क पनि निर्णायक होइन। हामी एउटा मात्र ब्रह्माण्ड देखिरहेका छौँ। तुलना गर्नका लागि अर्को ब्रह्माण्ड छैन। यदि अरबौँ ब्रह्माण्ड छन् भने एउटा यस्तो हुनु असम्भव छैन, जहाँ जीवन सम्भव छ। यसलाई मल्टिभर्स परिकल्पना भनिन्छ। यो प्रमाणित छैन तर फाइन–ट्युनिङजस्तै अप्रमाणित छ।
नैतिकताको सन्दर्भमा समाजले गलत कामहरू स्वीकार गरेको इतिहास छ भन्ने कुरामा म सहमत छु। तर त्यसको अर्थ यो होइन कि नैतिकताको स्रोत भगवान् नै हुनुपर्छ। यसको अर्थ केवल यति हो मानव समाज अपूर्ण छ। हामी सिक्दै जान्छौँ, सुधार्दै जान्छौँ। नैतिक प्रगति स्वयं मानव अनुभवको परिणाम हो।
म यति मात्र भन्न चाहन्छु, अनिश्चितताको ठाउँमा विश्वास राख्नु व्यक्तिगत अधिकार हो। तर अनिश्चिततालाई निश्चित सत्यका रूपमा प्रस्तुत गर्नु समस्या हो।
शमाइल नदवी
जावेद साहबले मल्टिभर्सको कुरा गर्नुभयो। तर, मल्टिभर्स कुनै वैज्ञानिक तथ्य होइन, एउटा दार्शनिक परिकल्पना हो। यदि प्रमाण बिना मल्टिभर्स मान्न सकिन्छ भने प्रमाण बिना भगवान् मान्न किन समस्या हुन्छ? वास्तवमा मल्टिभर्स भगवानको विकल्प होइन, केवल प्रश्नलाई पछाडि सार्ने प्रयास हो।
“किन” को प्रश्न विज्ञानले समाधान गर्यो भन्ने दाबी पनि पूर्ण रूपमा सही छैन। पृथ्वी किन घुम्छ भन्ने प्रश्नको उत्तर दिन सकिन्छ। तर, अस्तित्व नै किन छ भन्ने प्रश्न त्यहीँ रहन्छ। केही नहुनुको सट्टा केही किन छ,यो प्रश्न विज्ञानको दायराभन्दा बाहिर छ।
मेरो अन्तिम बिन्दु यही हो, तर्क, विवेक र दर्शनले भगवानको अस्तित्वतर्फ संकेत गर्छन्।
जावेद अख्तर
मुफ्ती साहबले मल्टिभर्सलाई दार्शनिक परिकल्पना भन्नुभयो। म सहमत छु। तर फरक यति हो,मल्टिभर्स कुनै पूजा वा नैतिक आदेश माग्दैन। भगवान्को अवधारणा भने त्यससँगै धेरै दाबीहरू ल्याउँछ। त्यसैले दुवैलाई बराबर राख्न मिल्दैन।
“केही नहुनुको सट्टा केही किन छ” भन्ने प्रश्न रोचक छ, तर यसको उत्तर नहुनु पनि सम्भव छ। सबै प्रश्नको उत्तर हुनैपर्छ भन्ने मान्यता स्वयं प्रमाणित छैन। अज्ञातसँग शान्ति गर्न सिक्नु पनि बौद्धिक परिपक्वता हो।
मुफ्ती शमाइल नदवी
यो बहसको अन्त्यमा भन्न चाहन्छु, हामी भावनामा होइन, तर्कमा कुरा गरिरहेका छौँ। ब्रह्माण्डको अस्तित्व, यसको नियमबद्धता, नैतिकताको वस्तुगत स्वरूप,यी सबैले एउटा आवश्यक, स्वतन्त्र, बुद्धिमान अस्तित्वतर्फ इङ्गित गर्छन्। विज्ञानले प्रक्रियाहरू बताउँछ तर अस्तित्वको अन्तिम कारण बताउन सक्दैन। त्यसैले तर्क र विवेकले भगवान्को अस्तित्व स्वीकार गर्न बाध्य पार्छ।
जावेद अख्तर
अन्त्यमा, म भगवान् छैनन् भनेर प्रमाणित गर्न सक्दिनँ । र, मैले त्यसको प्रयास पनि गरेको छैन। तर म भगवान् छन् भनेर विश्वास गर्न पर्याप्त कारण देख्दिनँ। “मलाई थाहा छैन” भन्नु कमजोरी होइन, इमानदारी हो। प्रश्नहरू खुला राख्नु, खोज जारी राख्नु,यही मानव बुद्धिको सुन्दरता हो।
