श्रीमती र छाेरीकाे हत्या गरेका एक नेपालीलाई अमेरिकी प्रहरीले मारिदिए
काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली मूलको परिवारमा हृदयविदारक घटना भएकाे छ ।
प्रहरीका अनुसार करिब ५० वर्षभन्दा माथिका एक पुरुषले आफ्नै श्रीमती र छोरीमाथि करिब १० इन्च लामो धारिलो हतियार प्रहार गरेका थिए।
आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरण छ। त्यसक्रममा आफ्ना ज्वाइँमाथि पनि उनले आक्रमण गरेका थिए ।
ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका बेला घरभित्र चर्को झगडाको आवाज सुनेर भित्र पसेका थिए। भित्र पुग्दा उनले आफ्नी श्रीमतीलाई रगताम्मे अवस्थामा ढलेको र ससुराले सासूमाथि आक्रमण गरिरहेको दृश्य देखेको प्रहरीको भनाइ छ।
आक्रमणकारीले ज्वाइँमाथि समेत अन्धाधुन्ध चक्कु प्रहार गरेपछि उनले तत्काल ९११ मा फोन गरी प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको कारबाही प्रहरी टोली घटनास्थलमा पुग्दा आक्रमणकारी अझै पनि ज्वाइँमाथि हमला गरिरहेका थिए।
प्रहरीले पटक–पटक हतियार फाल्न चेतावनी दिए पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए। गोली लागेर ती आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनामा गम्भीर घाइते भएका ज्वाइँलाई तत्काल अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
याे घटनाले नेपाली-अमेरिकी समुदायमा त्रास र शोक छाएकाे छ । तर आधिकारिक पुष्टि नभएसम्म पीडितको पहिचान सार्वजनिक नगरिएको प्रहरीले स्पष्ट पारेको छ।
