कांग्रेस पनि बल्ल पुग्यो समानुपातिक उम्मेदवारको सूची बुझाउन
काठमाडौं । नेपाली कांग्रेसले ढिलो गरेर समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगले तोकेको अन्तिम समय नजिकिँदै गर्दा मंगलबार बिहान कांग्रेसका नेताहरू सूची लिएर आयोग पुगेका हुन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माको नेतृत्वमा नेताहरू आयोग पुगेका थिए। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समय दिएको थियो । कांग्रेस सोमबार नै सूची बुझाउने तयारीमा थियो, तर अन्तिम समयमा सूचीमा समेटिएका नामहरूमा हेरफेर गर्नुपरेपछि प्रक्रिया लम्बिएको नेताहरूको भनाइ छ ।
सूची बुझाउन थप ढिलाइ हुनुको अर्को कारण पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिनु रहेको बताइएको छ । डिजिटल हस्ताक्षर अस्वीकृत भएपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितका नेताहरू मंगलबार बिहान महाराजगञ्जस्थित देउवाको निवासमा पुगेर हस्ताक्षर गराएका थिए । त्यसपछि मात्र सूची आयोगमा पेस गरिएको हो । निर्वाचन आयोगले कांग्रेसले समयमै निवेदन दिइसकेको र उम्मेदवारको सनाखत प्रक्रिया पूरा भएकाले मंगलबार पनि सूची बुझाउन सकिने स्पष्ट पारेको थियो । कांग्रेसले यस पटक समानुपातिक उम्मेदवार छनोटमा नयाँ अनुहारलाई विशेष प्राथमिकता दिएको जनाएको छ । पार्टीका अनुसार २०६४ सालयता समानुपातिक प्रणालीबाट सांसद बनेका कुनै पनि नेताको नाम यसपटकको सूचीमा समावेश गरिएको छैन ।
प्रचार विभाग प्रमुख विश्वकर्माले प्रादेशिक भूगोल र जनसंख्याका आधारमा प्रतिनिधित्वको कोटा निर्धारण गरेर उम्मेदवार छनोट गरिएको जानकारी दिए । उनका अनुसार समानुपातिक सूचीमा ५ प्रतिशतभन्दा बढी ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन संस्थापन पक्षलाई ६० प्रतिशत र इतर पक्षलाई ४० प्रतिशत भागबन्डा गरेर सूची तयार गरिएको कांग्रेसको भनाइ छ। समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे र वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम पनि समेटिएको स्रोतले जनाएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फको ११० सिटलाई प्रादेशिक जनसंख्याको अनुपातमा बाँडफाँट गरिएको कांग्रेसले जनाएको छ । त्यसअनुसार कोसी प्रदेशबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जनाको नाम सूचीमा समावेश गरिएको छ । ढिलाइ भए पनि कांग्रेसले समावेशीता, पुस्तान्तरण र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राखेर समानुपातिक सूची तयार गरेको दाबी गरेको छ ।
