परिवारवादबारे स्पष्ट छौं, विधि बाहिर गएर रास्वपाले कसैलाई पनि बोक्दैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समानुपातिक सूचीमा केही समस्या देखिए सच्याइने बताएका छन् । आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले समानुपातिक सूचीमा देखिएका समस्या समीक्षा हुने बताए । राजनीतिक ध्रुवीकरणका कारण पनि समय अभाव भएको सभापति लामिछानेको भनाइ छ । ‘नयाँहरू एक ठाउँमा जाने भन्ने छोटो समयमै निर्णय भएकाले तयारीमा हाम्रो समय नपुगेको जरुर हो । कुलमानजीसँग त हामीले इलाभेन्थ आवरमा एकता गरेका हौँ । उता सूची बुझाउनु छ । यता हामी सहमति गर्दै थियौँ,’ उनले भने ।
रास्वपाले परिवारवाद र नातावाद मान्दै नमान्ने पनि उनको भनाइ छ । ‘रास्वपासँग विधि छ विधिभन्दा बाहिर रास्वपा कुनै हालतमा जाँदैन । परिवारवादमा रास्वपाको विधानले मान्दैन । कथंकदाचित कोही जानु नै भएछ भने पनि रास्वपाको विधानले नै राइट टु रिकलको व्यवस्था गरेको छ । हामी सचेत छौँ । अरु केही पनि विवाद आउँछ कि भनेर वेट गरिरहेका छौँ । यो दुई दिनमा देखिएका जायज गुनासा सम्बोधन गर्छौँ । पार्टीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन,’ उनले भने ।
अहिले भइरहेको खबरदारी आफूहरूका लागि राम्रो भएको पनि सभापति लामिछानेले भनेका छन् । ‘इलिट’ र चर्चामा आएका मान्छेहरू मात्र सूचीमा छन् भन्ने प्रश्नमा उनले भने, ‘नेपाल राजनीतिक रूपमा जुन अवस्थाबाट गुज्रिएको छ । त्यस कारणले सबै तप्का वर्ग, पेसा व्यवसायमा भएका मान्छेको राजनीतिमा चासो छ । जुन किसिमको राजनीति देशमा चल्यो । राजनीति नगर्ने मान्छेलाई पनि जुर्मुरायो । राजनीतिक रूपमा सचेत साथीहरू कलाकार, पत्रकार, खेलाडी, पर्वतारोही आउनु भएको हो । दलको दबदबा हटाउन उहाँहरू जोडिनु भएको हो ।’
सूचीमा परेका सबैको राजनीतिक चेतना अब्बल भएको पनि लामिछानेले दाबी गरेका छन् । प्राइमरी इलेक्सनमा अगाडि आएका मान्छे पछाडि परेको भन्ने प्रश्नमा उनी भोटिङको वेटेज नै ५० प्रतिशत मात्र रहेको दाबी गरे । भोटिङ मात्र नभई उम्मेदवारहरूको ‘पोलिटिकल प्रक्सिमटी’ लगायतका मापदण्ड पनि हेरिएको उनले बताएका छन् ।
