नातावादको विरोधी हुँ, भान्जा र ससुरालाई बन्दसूचीमा राखेको छैन : कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् । मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक उम्मेदवारसँग आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका हुन् ।
केही दिन अघिदेखि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच भएको सहमतिपछि समानुपातिक निर्वाचनमा आफ्नो ‘भान्जा’ र ‘ससुरा’ लाई उम्मेदवार बनाएको भन्दै मन्त्री घिसिङको चौतर्फी आलोचना भइरहेको छ । उनले लेखेका छन्, ‘समाचार तथा चर्चामा ‘भाञ्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भाञ्जा होइनन्, उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् । त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’
मन्त्री घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामुहिक निर्णय प्रक्रियाबाट तयार गरिएको दाबी गरेका छन् । राजनीतिक असहमति स्वाभाविक भएता पनि झूट र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक भएको उनले बताए । मन्त्री घिसिङले नातावाद र कृपावादको राजनीतिविरुद्ध आफू लामो समयदेखि उभिरहेको पनि उल्लेख गरेका छन् । उनले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयभित्र सच्याइने प्रतिबद्धता जनाएका छन् । मन्त्री घिसिङले पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा आफू दृढ रहेको उल्लेख गर्दै सबैलाई भ्रामक समाचार र टिप्पणीको भ्रममा नपर्न आग्रह गरेका छन् ।
