संस्थापन पक्षका नेताहरुलाई गगन–विश्वले भने–पार्टी विभाजन हुँदैन
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर चर्किँदै गएको विवादबीच संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टी नेतृत्वसँग लगातार छलफल थालेका छन् । पार्टी विभाजनको आशंका बढ्न थालेपछि ती नेताहरूले सभापति शेरबहादुर देउवालगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरी सहमतिमार्फत निकास खोज्न आग्रह गरेका हुन् । शुक्रबार बिहान सभापति देउवासँग छलफल सकेर निस्किएका २५ केन्द्रीय सदस्यले काठमाडौंको महाराजगञ्ज आसपासमा महामन्त्रीद्वयसँग भेट गरेका थिए । भेटमा विशेष वा नियमित महाधिवेशनको नाममा पार्टीलाई विभाजनतर्फ नलैजान आग्रह गरिएको सहभागी नेताहरूले बताएका छन् ।
केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार महाधिवेशनसम्बन्धी विवादले पार्टी कमजोर हुने संकेत देखिएपछि संयुक्त रूपमा नेतृत्वसँग संवाद गरिएको हो । ‘पार्टीभित्र देखिएको अन्योल र असहमतिको समाधान सहमतिमै खोज्नुपर्छ भन्ने हाम्रो आग्रह हो’, उनले भनिन्, ‘महामन्त्रीहरू पनि समाधानप्रति सकारात्मक देखिनु भएको छ ।’ उनका अनुसार महामन्त्री थापा र शर्माले पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको स्पष्ट सन्देश दिएका छन् । ‘उहाँहरूले कांग्रेसलाई फुटतर्फ लैजाने कुनै कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो’, संग्रौलाले जानकारी दिइन् ।
त्यस्तै, केन्द्रीय सदस्य पुष्पा भुसालले पनि भेटमा पार्टीलाई कमजोर बनाउने वा फुटाउने कुनै मनसाय नरहेको कुरा महामन्त्रीद्वयले स्पष्ट पारेको बताइन् । ‘पार्टी एकताबद्ध राख्नु नै अहिलेको आवश्यकता हो भन्नेमा उहाँहरूको जोड थियो’, भुसालले भनिन् । महाधिवेशनको समय र स्वरूपलाई लिएर कांग्रेसभित्र फरक–फरक मत देखिँदै आएको छ । यही विषयले आन्तरिक तनाव बढ्दै गएपछि संस्थापन पक्षका नेताहरूले सक्रिय रूपमा नेतृत्वसँग संवाद थालेका हुन् । उनीहरूको पहलले पार्टीभित्र सहमतिको वातावरण बन्ने अपेक्षा गरिएको छ । कांग्रेस नेतृत्वस्तरमा भएको पछिल्लो छलफललाई पार्टीलाई विभाजनबाट जोगाउँदै एकताबद्ध रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ ।
