‘गगन–विश्वका गतिविधि नेविसंघको झगडा जस्तै, विशेष महाधिवेशन आवश्यक छैन’
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको झगडा जस्तै भएको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेसभित्र तत्काल विशेष महाधिवेशनको आवश्यकता नरहेको जिकिर गर्दै कांग्रेस जस्तो लामो इतिहास बोकेको, देश र जनताप्रति जिम्मेवार पार्टीको गरिमा जोगाउने जिम्मेवारी पार्टी महामन्त्रीहरूको भएको बताए ।
उनले पार्टी फुट्ने सम्भावना नरहेको दाबी समेत गरे । सहमहामन्त्री राठौरले गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको स्मरण समेत गराए । उनले विशेष महाधिवेशन केन्द्रिय समितिले नभई महामन्त्रीहरूले अघि सारेको दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा नआउन आग्रह गरिसकिएको समेत जानकारी दिए ।
उनले भने, ‘महामन्त्रीहरुले गरेको गतिविधि नेविसंघका महामन्त्रीहरुले गरेको जस्तो गतिविधि भयो के । नेपाली कांग्रेस यति लामो इतिहास भएको पार्टी, देश र जनताप्रति जिम्मेवार र उत्तरदायी पार्टीको गरिमा बचाउने जिम्मेवारी उहाँहरुको हो । नेविसंघको अध्यक्ष र महामन्त्रीको झगडा जस्तो भयो । पार्टी महामन्त्री भनेको धेरै ठूलो कुरा हो । त्यसको गरिमा उहाँहरुले बचाएर जानुपर्छ । पार्टी नै फुट्छ जस्तो मलाई लाग्दैन । पार्टी फुटाएर कसैलाई फाइदा पनि हँुदैन बरु बाहिरी शक्ति र अन्य दलहरुलाई फाइदा हुन्छ ।’
उनले भने, ‘अहिले यो विषेश महाधिवेशनको फण्डा ल्याउनुपर्ने जरुरी नै छैन । पार्टीभित्र त्यो परिस्थिति होइन । हाम्रो कार्यकाल चार वर्षको हो । गिरिजाप्रसाद कोइरालादेखि अहिलेसम्म कहिले एक वर्ष त कहिले डेढ वर्ष थप नै गरेको हो । सभापतिले त मंसिरमै महाधिवेशन गर्नु भनेर कार्यवाहक सभापति र महामन्त्रीहरुलाई भन्नु भएको रहेछ । हामीलाई उहाँहरुले त्यही भन्या हो । त्यसकारण अहिले पार्टीभित्र विषेश महाधिवेशन गर्नुपर्ने आवश्यकता पनि छैन । यो अवस्था पनि होइन । यो विषेश महाधिवेशन केन्द्रीय समितिले बोलाएको होइन महामन्त्रीहरुले बोलाएको होला नआउनु होला भनेर महाधिवेशन प्रतिनिधि साथिहरुलाई भनेका छौँ ।’ उनले सभापति शेरबहादुर देउवाले गत मंसिरमै नियमित महाधिवेशन गर्न भनेको भएपनि कार्यवाहक सभापति र महामन्त्रीकै कमजोरीका कारण हुन नसकेको जिकिर गरे ।
