कांग्रेसले मंगलबार राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलवार (भोली) उम्मेदवार टुंगो लगाउने भएको छ । सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो । सो निर्वाचनमा अन्य दलहरुसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुंगो लगाउन मंगलवार पुनः ११ बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले आजको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरुसँग पार्टीको शिर्ष तहबाट छलफल भइराखेकाले भोली बैठक बसेर त्यस बारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।
प्रवक्ता महतले भने, ‘कार्य सम्पादन समितिको बैठक भोलि ११ बजे पनि बस्दैछ । राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय कसरी गर्ने ? छलफल जारी छ । अन्य राजनीतिक दलहरुसँगको सहकार्यको विषयमा नेतृत्व तहबाट छलफल भइरहेको छ । आज बेलुका, भोलिसम्म एउटा निष्कर्ष आउन सक्छ । कुराकानी हुँदैछ, भोलि फेरि कार्य सम्पादन समितिको बैठक बसेपछि अनि छलफल कसरी अघि बढ्यो, त्यसको आधारमा हामीले के निर्णय गर्ने भन्ने निधो हुन्छ । छलफल सबै दलहरुसँग भईराखेको छ ।’
उनले भने, ‘जसको भोटिङ स्ट्रेन्थ छ । राष्ट्रिय सभा निर्वाचनको लागि जसको निर्वाचित हुन हैसियत राख्ने दलहरु सबैसँग सहकार्यको कुरा भईराखेको छ । राष्ट्रिय सभा निर्वाचनको लागि सबै दलहरु जो राष्ट्रिय सभा निर्वाचनका लागि म्याटर गर्छ । जसको हैसियत छ । सबैसँग कुराकानी भइराखेको छ । कुराकानीको निष्कर्ष के निस्कियो, त्यो भोलि बिहानसम्म थाहा पनि हुन्छ । अनि त्यसको आधारमा भोलि हाम्रो ११ बजे नै केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्छ । भोलि नै हामी यो उम्मेदवारबारे टुंगो लगाउन कोशिस गर्छौं ।’ नेपाली कांग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरुसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।
