एमाले सचिवालय बैठक जारी, यस्ता छन् आठ एजेण्डा (तस्वीरहरु)
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिको समग्र समीक्षा गर्दै आगामी निर्वाचन र संगठनात्मक तयारीलाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
बैठकको मुख्य केन्द्रबिन्दु माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन रहेको छ । यसअन्तर्गत एमालेले उम्मेदवार चयन गर्ने निर्णय आजै टुंगो लगाउने तयारी गरेको छ । यसअघि नेपाली कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच सिट बाँडफाँडका विषयमा छलफल भइसकेको सन्दर्भमा आजको बैठकले सहकार्यको मोडालिटी र उम्मेदवारीलाई अन्तिम रूप दिनेछ ।
सचिवालय बैठकमा प्रस्तुत आठ कार्यसूचीमध्ये दोस्रो र तेस्रो एजेन्डामा आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन घोषणा–पत्र तयारी समिति र निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव छ । साथै निर्वाचन केन्द्रित भूगोलको कार्य विभाजन गरी पार्टी संगठनलाई थप सक्रिय बनाउने योजना पनि बैठकमा छलफल भइरहेको छ ।
युवालाई लक्षित विशेष निर्वाचन परिचालन रणनीति बनाउने विषय पाँचौं कार्यसूचीका रूपमा समेटिएको छ । पार्टीले आगामी निर्वाचनमा युवा सहभागिता र परिचालनलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ । संगठनात्मक पक्षमा पनि बैठक महत्वपूर्ण छ । संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी तथा सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने प्रस्ताव बैठकमा छ । यससँगै पार्टी नियमावली र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्ने एजेण्डा पनि सचिवालय बैठकमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी, पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकका लागि प्रस्तावहरूलाई अन्तिम रूप दिने विषयमा पनि सचिवालय बैठकमा छलफल भइरहेको छ । समग्रमा, आजको बैठकले एमालेको आन्तरिक संगठन सुदृढीकरणदेखि बाह्य राजनीतिक रणनीतिसम्मका विषयमा दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
हेर्नुस् तस्वीरहरु

