कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आज बस्ने बैठकमा पार्टीका थप नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
यसअघि हिजो बसेको बैठकले आगामी राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको थियो। बैठकमा राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर विस्तृत छलफल भएको बताइएको छ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, सम्भावित तालमेल र राजनीतिक अवस्थाबारे धारणा राखेका थिए। साथै बैठकमा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।
