गगनसहित विशेष महाधिवेशन पक्षधर बुद्धिजीवीसँग परामर्शमा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीको भविष्य र नेतृत्व पुनर्निर्माणसम्बन्धी रणनीति बनाउन बुद्धिजीवीहरूसँग परामर्श थालेका छन् । पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका महामन्त्री थापासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे लगायतका नेताहरू नक्सालस्थित एक होटलमा छलफलमा सहभागी छन् ।
यो छलफलमा विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय बुद्धिजीवीहरूलाई समेटिएको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले बुधबार दिउँसो अनामनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वलाई विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । उनका अनुसार पार्टीलाई थप सुदृढ, गतिशील र जनभावनासँग मेल खाने बनाउन, समसामयिक नीति निर्माण र नयाँ ऊर्जा र नेतृत्वका साथ पार्टी पुनर्निर्माण गर्न यो विशेष महाधिवेशन अपरिहार्य छ ।
पार्टी विधानको धारा १७ उपधारा (२) अनुसार २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको नेताहरूले जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई छैन । यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो । यसलाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो ।’
यसअघि, पार्टीको संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो, तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् । विशेष महाधिवेशन पक्षधर नेताहरूको यो कदमले पार्टीभित्रको आन्तरिक संवादलाई थप सशक्त बनाउने र नेतृत्वसँग सम्बन्धित विभिन्न धाराहरूबीच विचार विमर्शलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।
