`

लुम्बिनीबाट झाँक्रीसहित कांग्रेस–एमाले उम्मेदवारको मनोनयन दर्ता

Nepal One HD २३ पुष २०८२ १५:३८
प्रमुख खबर

दाङ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका तीन उम्मेदवारले औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन् । गठबन्धनले तालमेलअनुसार उम्मेदवारी प्रस्तुत गर्दै महिला, अपाङ्गता र खुला क्लस्टरको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

एमालेकी रामकुमारी झाँक्री महिला क्लस्टरबाट, नेपाली कांग्रेसका वासुदेव जंगली अपाङ्गता क्लस्टरबाट, र चन्द्र केसी खुला क्लस्टरबाट उम्मेदवार बनेका हुन् । झाँक्रीको मनोनयनमा प्रस्तावकको भूमिका घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र समर्थक उपमहानगर उपप्रमुख हुमाकुमारी डिसी रहेका छन् । जंगलीको प्रस्तावक बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र समर्थक बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी हुन् । खुला क्लस्टरका उम्मेदवार केसीको प्रस्तावक दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समर्थक शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन् ।

लुम्बिनी प्रदेशबाट यसपटक महिला, अपाङ्गता र खुला गरी तीन जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । उनीहरू फागुन २० गते पदावधि सकिन लागेका सदस्यहरूको स्थान लिनेछन्। यसमा एमालेकी गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीकी जगप्रसाद शर्मा (अपाङ्गता) रहेका थिए ।

प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । यसमा कांग्रेसको मतभार ३,१७९, एमालेको २,८१०, र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २,६८६ रहेको छ । केन्द्रमा सहमति नबनेपछि, नेपाली कम्युनिष्ट पार्टीले लुम्बिनीबाट अलग्गै उम्मेदवारी दर्ता गरेको छ। पार्टीका नेता सुदर्शन बरालका अनुसार, यस अन्तर्गत दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक उम्मेदवार छन् । यो निर्वाचनले प्रदेशको राजनीतिक सन्तुलनमा नयाँ प्रभाव पार्ने अपेक्षा गरिएको छ र गठबन्धन–विरोधी प्रतिष्पर्धाले मतदातामा उत्सुकता थपेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *