`

साँच्चीकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कै हुन्थ्यो : गृहमन्त्री अर्याल

Nepal One HD २४ पुष २०८२ १४:४०
प्रमुख खबर

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठूलो समस्या आउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताए । उनले राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताए ।

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि विस्तारै स्थिति सुदृढीकरण भइरहेको अर्यालले बताए । आफू दण्डहिनताको पक्षमा नरहेको बताउँदै गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउने बताए । अन्तरिम सरकारले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि स्थितिको सामान्यीकरण हुने बताए । जेनजीको सम्झौतामा लेखिएको कुरा नै सही रोडम्याप भएकाले बाहिरबाट संविधान फाल्ने कुरा हुन नसक्ने बताए । आफू कुनै सत्ताको मोहले सरकारमा नगएको जिकिर गर्दै आवश्यक परे मर्नु पर्ने पहिलो व्यक्ति हुनका लागि जोखिम लिएर सरकारमा आएको जिकिर गरे ।

उनले भने, ‘स्थिति सुदृढीकरण हुँदै गएको छ । मनोबल सुदृढ हुँदै गएको छ । २३ र २४ गतेको घटना भन्दा अघिको मनोबलसँग तुलना गरेर त हुँदैन, त्यहाँबाट यहाँसम्म आएको स्थितिमा पनि ठिकै भयो होला भन्नुस् न । बंगलादेशको हालत के हुँदैछ ? त्यस्तो त हामीले हुन दिएनौं नि । साँच्चीकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कै हुन्थ्यो । यो सबै कुरा दीर्घकालीन शान्तिको मार्गमा जानुपर्छ । यो राष्ट्र जोगाउनु पर्छ । त्यो बेला राष्ट्रको जीवन नै जोखिममा थियो । राष्ट्रिय सुरक्षा संकट आइसकेको थियो, औपचारिक रुपमा घोषणा नगरेको मात्रै हो ।’

उनले भने, ‘एक दिन मात्रै अघि बढेको भए धेरै कुरा अर्कै हुन्थ्यो । एक्लै परेको बेलामा मनोबल बढाइ दिन आउनु पर्छ । राम्रो काम गर्दा साथ दिनुपर्छ । म नागरिक भएर पेशामै फर्किन्छु । म दण्डहिनताको पक्षमा छैन । गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउँछन् । संविधानको व्यवस्थालाई पनि बहाली गर्नको लागि अहिले चुनाव अपरिहार्य हो । यो व्यवस्था, संविधान जाँदा देशको भविष्यमा ठूलो धक्का पर्दछ । यो कुरा ख्याल गरौं । व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा होइन । राष्ट्रको जीवन र यो लोकतान्त्रिक व्यवस्था, यो संविधान अन्योन्याश्रित छ ।’ मन्त्री अर्यालले देश नै कालोसूचीमा रहने गरी कुनै अराजकता हुन नदिने बताए ।

गृहमन्त्री अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति पनि जनाए । उनले परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व नदोहोरिने बताए । मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे । आफू गृहमन्त्री भएर आएपछि देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गरे । सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गरे । उनले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताए ।

उनले भने, ‘कतिपय कुराहरु परिवर्तनलाई स्वीकार्नु पर्छ । परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो कुराको सुनिश्चितता यो सरकारले गरेको छ । अब यसलाई केही पनि भएन । हो भएन, हिंसा भएन नि । गृहमन्त्री आएपछि केही पनि भएन, हिंसा भएन। आगजनी रोकियो, मान्छे मर्न छोड्यो । अरु हत्या, हिंसा हुन छोड्यो, राजनीतिक प्रकृतिको । केही पनि भएन ? यस्तो भाष्य पत्याइ दिने मान्छेले ? यो भाष्य पत्याइ दिनु भएन । विधिको शासन मिचिनु हुन्न । विधिको शासन बमोजिम कारबाही हुनुपर्छ भनेको हुँ । यो कमजोरी हुन्छ ? सुशासनको मुद्दाभित्र केके पर्छ ? त्यो बुझ्नु पर्छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *