संस्थापन पक्षधर कांग्रेस नेता भन्छन्–कांग्रेस फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले कांग्रेस एकतावद्ध भएर निर्वाचनमा जाने बताएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान विशेष महाधिवेशनको समयताका काठमाडौंमा भेला भएका संस्थापन पक्षधर नेताहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले निर्वाचनको कार्यतालिका आइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए । नेपाली कांग्रेसका नेता शिव हुमागाईंले आम निर्वाचनको समय आइसकेकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै बुद्धिमानी हुने बताए । उनले नेपाली कांग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्न आफूहरु लागिपरेको र शनिवारसम्म निकास निस्किने दाबी गरे ।
उनले प्रक्रियागत रुपमा सबैसँग छलफल गरेर नयाँ रणनीतिका साथ कांग्रेस अघि बढ्ने बताए । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाप्रति आफूहरुको कुनै भनाइ नरहेको तर महामन्त्री पदलाई सबैलाई विश्वासका साथ अघि बढ्ने भूमिका निर्वाह गर्नुपर्ने बताए । नेपाली राजनीतिमा कुनै पनि निर्णय राति अन्तिम क्षणमा टुंगिने गरेको भन्दै निर्वाचनको मुखमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन जरुरी रहेको बताए ।
उनले भने, ‘निर्वाचनको सेड्युल अघि बढिसकेको छ । आम निर्वाचनको समय आइसकेको छ । यस्तो बेलामा नेपाली कांग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्ने भनेर हामी उपलब्ध मन मिल्नेले पार्टीलाई विभाजनको संघारमा पु¥याउनु हुँदैन। एकतावद्ध बनाउनु पर्छ भनेर लागेका छौँ । सबैलाई एक ढिक्का बनाएर लैजाने नयाँ उपायबारे छलफल गर्दैछौँ ।’
उनले भने, ‘निर्वाचनको मुखमा नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि लैजाने काममा हामी लाग्छौँ । निर्वाचनको सेड्युल अघि आइसक्यो, यो बीचमा महाधिवेशन, विशेष महाधिवेशन हुने र फाइदा पुर्याउने अवस्था छैन । नेपाली राजनीतिमा कुनै पनि निर्णय राति अन्तिम क्षणमा टुंगिन्छ । नेपाली काँग्रेस पार्टी अहिलेको क्षणमा कुनै पनि हालतमा फुटको संघारमा जाँदैन । एकतावद्ध भएर चुनाव फेस गर्दछ ।’ अर्को नेता मदनकृष्ण श्रेष्ठले विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरुले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गरेकाले सोहीअनुसार निर्णय गरिएको बताए । उनले निर्वाचन अगाडि महाधिवेशन गर्नसक्ने अवस्था नरहेको बताए । दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको बताए । नेपाली कांग्रेस कुनै पनि हालतमा नफुट्ने र एकतावद्ध भएर जाने बताए ।
उनले भने, ‘हामी नेपाली कांग्रेसको पक्षमा छौँ । विशेष र नियमित महाधिवेशनको पक्षमा बहस चलिरहेको छ । विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरुले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गर्नुभएको छ । नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको माग गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यसम्पादनका बैठकमा धेरै कुरा भएका छन् । चुनाव अघि महाधिवेशन सम्भव नरहेकाले चुनाव पछि गर्नुपर्छ भन्ने माग धेरै सदस्यहरुको छ ।’ नेताहरुले नेपाली कांग्रेसको विधानमा एक वर्ष समय थप गर्न पाइने व्यवस्था रहेकाले वैशाखमा नियमित महाधिवेशन गर्नुलाई अवैधानिक भन्न नमिल्ने तर्क गरे । छिटो महाधिवेशन गर्न क्रियाशिल सदस्यताको काम सम्पन्न गरेको भए पुसभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था रहेको बताए ।
