`

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको रौनक बढ्दै, तयारी अन्तिम चरणमा {तस्वीरहरु}

Nepal One HD २५ पुष २०८२ १३:४५
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । पुस २७ र २८ मा आयोजना हुने महाधिवेशनलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डप र त्यस आसपासका क्षेत्र यतिबेला कांग्रेसमय बन्दै गएका छन् ।

शुक्रबार बिहानै करिब ५ बजेदेखि कार्यकर्ताहरू चारतारे झण्डा, ब्यानर र सजावट सामग्रीसहित महाधिवेशन स्थल सिंगार्न जुटेका छन्। भृकुटीमण्डपको मूल परिसरदेखि प्रवेशद्वार र वरपरका सडकसम्म कांग्रेसको झन्डाले विशेष महाधिवेशनको माहोल सिर्जना गरेको छ ।
महाधिवेशन व्यवस्थापनका कामहरू पनि चरणबद्ध रूपमा अघि बढाइँदै छन् । मञ्च निर्माण, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रतिनिधि बसोबास, सुरक्षा र स्वयंसेवक परिचालनलगायत तयारीहरू अन्तिम चरणमा पुगेका छन् । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक महाधिवेशन अवधिभर परिचालन गरिनेछ ।

विशेष महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि पनि थप सक्रिय बनेको देखिन्छ । नेतृत्व, कार्यदिशा र आगामी रणनीतिलाई लिएर चासो बढ्दै गएको छ भने भृकुटीमण्डप यतिबेला केवल कार्यक्रम स्थल मात्र नभई कांग्रेसको आन्तरिक राजनीतिक बहसको केन्द्रका रूपमा उभिएको छ । नेतृत्व पक्षले महाधिवेशनलाई अनुशासित, व्यवस्थित र अर्थपूर्ण बनाउने तयारी भइरहेको दाबी गरेको छ । तयारीको तीव्रतासँगै कांग्रेस विशेष महाधिवेशनले कस्तो सन्देश दिनेछ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *