विशेष महाधिवेशनमा नारा : नेपाली कांग्रेस के भन्छ ? गगन–विश्व ले भन्छ
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु हुनुअघि राजधानी काठमाडौं आज राजनीतिक रूपमा निकै तातिएको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा हुने उद्घाटन समारोहअघि काठमाडौं र ललितपुरका छ स्थानबाट छुट्टाछुट्टै र्याली निस्किएर भृकुटीमण्डपमा केन्द्रित भएका छन् । कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट निस्किएका जुलुसहरू बाजागाजा, झाँकी र नारासहित भृकुटीमण्डप पुगेका हुन् । र्यालीमा सहभागी कार्यकर्ता तथा प्रतिनिधिहरूले ‘नेपाली कांग्रेस के भन्छ ? गगन–विश्व ले भन्छ’, ‘जेनजी युवा के भन्छ ? गगन–विश्व ले भन्छ’ जस्ता नाराहरू घन्काएका छन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नीति र नेतृत्व परिवर्तनको माग गर्दै हस्ताक्षर गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन बोलाइएको हो । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन अनिवार्य भएको भन्दै आयोजकहरूले यसलाई पार्टी रुपान्तरणको निर्णायक क्षणका रूपमा व्याख्या गरेका छन् ।
भृकुटीमण्डपमा पुगेका प्रतिनिधिहरूको साझा धारणा स्पष्ट छ–अब कांग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनैपर्छ । सिराहाबाट आएका प्रतिनिधि मुस्तक अन्सारी भन्छन्, ‘देशको अहिलेको अवस्था र युवाको चाहनाले युवा नेतृत्व खोजेको छ । कांग्रेसलाई चलायमान बनाउन गगन–विश्वको विकल्प छैन ।’ गुल्मीबाट आएकी पार्वती कुँवर नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन आवश्यक भएको बताउँछिन् । ‘जेनजी आन्दोलनपछि झन् युवाको नेतृत्वको आवश्यकता देखिएको छ । बन्दसत्रले नेतृत्व परिवर्तन गर्छ भन्ने विश्वास छ’, उनले भनिन् ।
गोरखाबाट आएका प्रेमकुमार खत्री पार्टीमा नीतिगत र संरचनागत परिवर्तन अनिवार्य भएको बताउँछन् । ‘कांग्रेस पछिल्लो समय क्लब जस्तो बनेको छ । यो विशेष महाधिवेशनले नीति, नेतृत्व र विधि सबै परिवर्तन गर्नुपर्छ’, उनको भनाइ छ । जर्मनीबाट तीन दिनको बिदा लिएर आएकी प्रतिनिधि प्रतिमा भट्टले त नेतृत्व चयन नभएसम्म नफर्किने संकल्प नै व्यक्त गरेकी छन् । ‘पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको नेताले अब विश्राम लिनुपर्छ । नयाँ पुस्ताले पार्टी र देशको नेतृत्व लिनुपर्छ’, उनले भनिन्।
नेविसंघका केन्द्रीय सदस्य मनोज पुरी विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन नगरी फर्किने विकल्प नरहेको बताउँछन् । ‘हस्ताक्षर संकलन गर्दा नीति र नेतृत्व बदल्ने वाचा गरिएको थियो । त्यो पूरा भएन भने आह्वानकर्ताले नै जिम्मेवारी लिनुपर्छ’, उनले चेतावनी दिए । उनका अनुसार यदि गगन–विश्व पछि हटे कार्यकर्ताबाटै विद्रोह हुन सक्ने अवस्था बनेको छ । युवा नेता मोहन कालाथोकी पनि अब नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको दाबी गर्छन् । ‘५४ प्रतिशत प्रतिनिधिको समर्थनपछि अब नेतृत्व नफेर्ने सम्भावना सकियो । बहुमत भृकुटीमण्डपमै छ’, उनले भने ।
उदघाटन आज, निर्णायक बन्द सत्र भोलि
आज उद्घाटन सत्र र भोलि बन्दसत्र चल्ने विशेष महाधिवेशनबाट नीति, नेतृत्व र जेनजी आन्दोलनप्रतिको पार्टी दृष्टिकोण स्पष्ट हुने अपेक्षा गरिएको छ । महाधिवेशन प्रतिनिधि मात्र होइन, साधारण कार्यकर्तासमेत ठूलो संख्यामा उपस्थित भई कांग्रेसमा ‘फ्रेस नेतृत्व’ र एकताबद्ध पार्टीसहित चुनावतर्फ अघि बढ्नुपर्ने माग गरिरहेका छन् । अब सबैको चासो एकै ठाउँमा केन्द्रित छ–के यो विशेष महाधिवेशनले साँच्चै कांग्रेसको नेतृत्व र दिशामा ऐतिहासिक मोड ल्याउला ?
