`

विशेष महाधिवेशनको बन्द सत्र सुरु, नयाँ नेतृत्व चयन गर्न सक्ने

Nepal One HD २८ पुष २०८२ १२:४०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र भृकुटीमण्डपमा सुरु भएको छ । बन्द सत्रको अध्यक्षता पार्टीका वरिष्ठ नेता ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् भने सत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्दैछन्। प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार बन्द सत्रमा पार्टीको नीतिगत तथा संगठनात्मक प्रतिवेदन पेस गरिने छ ।

प्रतिवेदनमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा, पार्टी विधानको परिमार्जन, संगठनात्मक संरचनामा सुधारलगायत विषय समेटिएका छन् । ती विषयमा गहन छलफल गर्न प्रतिनिधिहरूलाई ९ वटा समूहमा विभाजन गरिएको छ । यसैबीच, विशेष महाधिवेशनको कार्यविधि पनि बन्दसत्रले ध्वनि मतबाट पारित गरेको छ । ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ पारित भएसँगै महाधिवेशनका आगामी कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने भएका छन् ।

कार्यविधिको प्रस्तावनामा पार्टी विधान २०१७ (संशोधनसहित) को धारा १७ को उपधारा (२) अनुसार विशेष केन्द्रीय महाधिवेशन बोलाइएको उल्लेख छ। साथै, विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायको हैसियतमा महाधिवेशनले आफ्नो कामकारबाहीलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गरिएको स्पष्ट गरिएको छ ।

पारित कार्यविधिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटनदेखि नयाँ नेतृत्व चयनसम्मको प्रक्रिया समावेश छ । त्यस्तै, विशेष केन्द्रीय महाधिवेशन सञ्चालनसम्बन्धी व्यवस्था, बन्द सत्रमा पेस हुने प्रस्तावहरू, ती प्रस्तावमाथि निर्णय गर्ने प्रक्रिया, प्रतिवेदनका विषय, गणपूरक संख्या तथा निर्वाचन समिति गठनसम्बन्धी प्रावधान पनि कार्यविधिमा उल्लेख छन् । महामन्त्री गगन थापाको नेतृत्वमा प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन बोलाइएको कांग्रेसले जनाएको छ । महाधिवेशनमा २ हजार ६ सयभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएको दाबी गरिएको छ । विशेष महाधिवेशनमार्फत पार्टीको नीति, संगठन र नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *