`

बलिया ओलीविरुद्ध धावा बोल्न लालायित बालेन–रञ्‍जित

Nepal One HD २८ पुष २०८२ १२:५६
नेकपा एमाले

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट ६ पटक निर्वाचित भएर संसद् आए । तीनपटक प्रधानमन्त्री भए ।

उनको चुनाव क्षेत्रमा एमालेको बलियो संगठन शक्ति छ । त्यसको बलमा ओलीको संसद् यात्रा सम्भव भइरहेको छ ।

तर, उनलाई यसपटक जसरी पनि पराजित गरेर संसद् आउन रोक्ने चर्चा सुनिन्छ । खासगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ओलीसँग चुनावी टक्करमा उत्रिनेबारे छलफल गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता रञ्‍जित तामाङ त चुनावी अभियानमा जुटिसकेका छन् । उनलाई झापा–५ बाट चुनाव लडाउने टुंगो नेकपाले गरिसकेको छ ।

अघिल्लो साता रञ्‍जितले ओलीलाई पराजित गर्न बालेनसँग सहकार्य गर्ने भन्दै स्टाटस लेखेका थिए । जतिबेला बालेन झापा–५ को वस्तुस्थितिबारे सूक्ष्म रूपमा जानकारी लिँदै थिए ।

यस्तोमा रास्वपा झापाका सभापति प्रकाश पाठकको टिमसँग उनले आइतबार संवाद गरे ।

पाठकका अनुसार बालेन झापा–५ बाट निर्वाचन लड्न राजी भएका छन् । उनले भने, ‘यसपटक झापा–५ मा निर्वाचन लड्न हामीले भन्यौँ । उहाँ सकारात्मक हुनुभएको छ ।’

बालेन रास्वपाका वरिष्ठ नेता हुन् । जेन–जी विद्रोहमा उनको भूमिकालाई लिएर आलोचकहरू ‘लुसिफर’सँग तुलना गर्छन् । लुसिफर सैतानी पात्र हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतलनिवासलगायत सार्वजनिक संस्थामा आगजनी गरेको घटनामा उनलाई जोडेर लुसिफर भनिएको हो ।

जेन–जी विद्रोहपछि उनको लोकप्रियतामा ह्रास आएको छ । उनै बालेनलाई झापा–५ मा ओलीसँग प्रतिस्पर्धा गराउन रास्वपाले चाहेको छ ।

त्यसका लागि रास्वपा प्रवक्ता मनिष झा, पूर्वसांसद निशा डाँगी, प्रमोद न्यौपाने, राजीव खत्रीलगायत यसअघि नै त्यहाँ पुगेर पार्टी समितिसँग छलफल गरेका थिए ।

तर, ओली बलिया प्रतिस्पर्धी हुन् । झापा– ५ कांग्रेसले एकपटक पनि जित्‍न नसकेको क्षेत्र हो । राप्रपाले पनि कहिल्यै जित्‍न सकेन

त्यहाँ एमालेको बलियो संगठन छ । संगठन शक्तिको बलमा ओली त्यहाँबाट निर्वाचन जित्छन् । ओली प्रतिनिधिसभा निर्वाचन २०४८, मध्यावधि निर्वाचन २०५१, प्रतिनिधिभा निर्वाचन २०५६, २०७४ र २०७९ मा निर्वाचित भए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा पनि ओली त्यहीँबाट निर्वाचित भए ।

२०६४ को संविधानसभा निर्वाचनमा भने तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्‍वद्धिप लिङ्देनसँग ओलीको पराजय भयो । लिङ्देन हाल कांग्रेसमा आबद्ध छन् । लिङ्देनबाहेकले ओलीलाई हराउन सकेको छैन ।

तीनपटक प्रधानमन्त्री भएका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा अर्बौँ बजेट खन्याएका छन् । व्यापारिक केन्द्र बनाउनेगरी उनले दमक भ्यू टावर बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *