`

कांग्रेस विवाद मिलाउन त्रिपक्षीय टोली फेरि वार्तामा, सानेपाको बैठकमा ढिलाइ

Nepal One HD २९ पुष २०८२ १६:५०
राजनीति

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि पार्टीका तीनै पक्षको टोली फेरि वार्तामा जुटेका छन् । संस्थापन, नेता डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच दोस्रो चरणको वार्ता दिउँसो ३ बजेबाट सुरु भएको छ । यो वार्ता पहिलो चरणको सकारात्मक छलफलपछि तय गरिएको हो ।

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट नेता रमेश लेखक र बालकृष्ण खाँण, नेता कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय पक्षबाट नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन् । छलफलमा पार्टीभित्रको मतभेद र आगामी विशेष महाधिवेशनको प्रक्रिया समेटेर एकता कायम गर्ने विषयमा विचार–विमर्श भइरहेको छ ।

त्रिपक्षीय वार्ता जारी राखिएको बीच सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक पनि बस्दै छ । तर बैठक निर्धारित समय दिउँसो १ बजेबाट सुरु हुनुपर्ने भए पनि ४ः२० बजेसम्म सुरु भएको छैन । बैठकमा केन्द्रीय सदस्यहरू शीर्ष नेताको आगमनको पर्खाइमा रहेका छन् भने शीर्ष नेताहरू छुट्टै छलफलमा व्यस्त छन् । यस छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालगायत सहभागी छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी नेतृत्वका कारण पार्टी विभाजन नहुने विश्वास व्यक्त गर्दै भने, ‘पार्टी नेतृत्व वा हाम्रो कारण पार्टी फुट्दैन । यो नेपाली जनता र नेपालको हितमा पनि होइन । हामी अत्यन्तै लचकताका साथ पार्टी एकजुट बनाउन लागिरहेका छौं । हाम्रो कारणबाट पार्टी कमजोर वा विभाजन हुने कुरा छैन ।’ महतले विशेष महाधिवेशन पक्षधरलाई पनि सहमतिमा उदारताका साथ आउनु पर्ने बताए ।

उनले भने, ‘हामी जसरी उदारताका साथ प्रस्तुत भइरहेका छौं, उनीहरू पनि पार्टी एकताका लागि सहमतिमा आउनु पर्छ ।’ पार्टी विवाद समाधान र आगामी विशेष महाधिवेशनको तयारीबीच कांग्रेस नेतृत्व र सदस्यहरू एकताको खोजीमा सक्रिय देखिएका छन्। कार्यवाहक सभापति खड्का र नेता कोइरालाले भृकुटीमण्डस्थित विशेष महाधिवेशन स्थलमा पुगेर सम्बोधन गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ। नेपाली कांग्रेसभित्रको यो संवाद र प्रयासले पार्टीभित्रको विभाजन र आन्तरिक विवादलाई सुल्झाउने सम्भावना अझ बलियो बनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *