`

नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको विषय भ्रामक : कुलमान घिसिङ

Nepal One HD ३० पुष २०८२ १४:३५
प्रमुख खबर

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको विषय भ्रामक भएको बताएका छन् ।

उनले कुनै पार्टीसँग एकीकरण नगरी आफ्ने नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अघि बढ्ने स्पष्ट पारे ।

‘विभिन्‍न सामाजिक सञ्‍जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरि नेपाली कम्युनिस्ट पार्टीलगायतसँग एकीकरण हुन लागेको भन्‍ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो,’ उनले बुधबार फेसबुकमा लेखे, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरि अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’

उनले निराधार र भ्रम फैलाउने समाचारमा विश्‍वास नगर्न पनि अनुरोध गरेका छन् ।

घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपासँग एकीकरण प्रक्रियामा रहेको विवरण केही सञ्‍चारमाध्यममा सार्वजनिक भएका थिए ।

प्रचण्ड यसअघि माओवादी केन्द्रका अध्यक्ष हुँदा सोही दलको बागमती प्रदेश अध्यक्ष रहेका सरल सहयात्रीले कुलमानलाई प्रधानमन्त्री प्रचण्डले नै बनाउने र उनलाई नेकपामा स्वागत गर्न चाहेको बताएका थिए ।

त्यसपछि कुलमान नेकपामा जान लागेको भन्दै युट्युबहरूमा समाचार ‘कन्टेन्ट’ बनेको थियो ।

घिसिङको दल उज्यालो नेपाल पार्टी हालै रास्वपाबाट अलग भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *