`

काङ्‍ग्रेस दुई फक्लेटाे बन्याे तर विश्‍वले उल्टै साेधे : कहाँ विभाजन भयो पार्टी ?

Nepal One HD १ माघ २०८२ १६:२१
नेपाली कांग्रेस

काठमाडौं । दाेस्राे विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्त्वकाे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलस्थित म्याक्सिम व्या‌ङ्क्‍वेट एण्ड इभेन्टमा भयाे ।

बैठकमा २१ फागुनको चुनाव, निर्वाचन आयोगमा नयाँ समिति चयन भएको जानकारी गराउने लगायत विषयमा छलफल भएकाे छ । बैठकपछि नवनियुक्त प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगमा कांग्रेसको विवरण अद्यावधिक गर्ने र २१ फागुनको निर्वाचनका लागि उपसभापति विश्‍वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार पार्टीकाे घाेषणापत्र निर्माण गर्न सभापति गगनकै नेतृत्त्वमा गठन गरिएकाे छ ।

‘पार्टीको घोषणापत्र निर्माणको लागि नयाँ युगसापेक्ष र युवाहरूको आशा बमोजिम घोषणापत्र  निर्माण गर्नका लागि सभापतिको अध्यक्षतामा समिति बनाएका छौँ’, उनले भने, ‘ त्यस्तै फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गरेर पार्टी उपसभापति विश्‍वप्रकाश शर्माजीको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको छ ।’

अहिले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई वैधता दिने कि विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वकाे समितिलाई वैधता दिने भन्‍ने बहस चर्किएको छ । यसबीच देउवा नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा कुनै पनि विशेष महाधिवेशन आयोजना नगरेको जानकारी गराइसकेकाे छ भने थापा नेतृत्वमा निर्वाचित समिति पनि आजको बैठकपछि जानकारी गराउन आयोगमा पुगिसकेको छ ।

नवनिर्वाचित समितिका सदस्यहरू के भन्छन् ?

नवनिर्वाचित समितिका एक केन्द्रीय सदस्यले ‘हामीसँग स्पष्ट बहुमत भएकाले यो बहसको विषय नै नभएको’ प्रतिक्रिया दिए । उनले भने, ‘विशेष महाधिवेशनमा ६७ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति थियो । कांग्रेसको नेतृत्त्व परिवर्तन गर्न बहुमत पुग्‍ने प्रतिनिधि भए पुग्छ, हामीसँग दुई तिहाई प्रतिनिधि हुनुहुन्छ।  यो वैधतासम्बन्धी बहस आवश्यक नै छैन।’

गगन नेतृत्त्वको नया कार्यसमितिमा सहमहामन्त्री चुनिएका उदयशमशेर राणाले नेपाली काङ्ग्रेस फुटेको कुरा अनावश्यक हल्ला भएको प्रतिक्रिया दिएका छन् । ‘नेपाली कांग्रेसले विशेष महाधिवेशन सम्पन्‍न गरिसक्यो, पार्टी फुटेको हल्ला अनावश्यक प्रचारबाजी हो’, उनले भने, ‘नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्‍न भएको छ। निर्वाचन आयोगमा अधावधिक गर्ने काम सकिएपछि हामी २१ फागुनको चुनाको तयारीमा लाग्छौँ।’

उनले पार्टी कार्यालयमा बैठक किन नबसेकाे भन्‍ने प्रश्नमा ‘हामी अनावश्यक मुटभेट चाहन्‍नाैँ’ भन्‍ने प्रतिक्रिया दिए । ‘याे तपाईहरु सबैलाइ थाहा भएकै कुरा हाे, हामी अहिले सानेपा गयाैँ भने के हुन्छ’ , उनले भने, ‘हामी अनावश्यक मुटभेट चाहन्‍नाैँ ।’

त्यस्तै गगन नेतृत्त्वको कांग्रेसमा उपसभापति चयन भएका विश्‍वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरे । विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने भए आफू नै हलबाट सबैभन्दा अघि निस्किने बताएका शर्माले काङ्ग्रेस झन् सशक्त र बलियो भएको दाबी गरे।

‘विधिको र नेतृत्त्वको समग्रतामा पार्टी अगाडि बढेको छ, यही कुरालाई आधार बनाएर निर्वाचन आयोगमा हामीले अद्यावधिक गर्न जानकारी गराएका छौ’, शर्माले दाबी गरे ‘हो त कहाँ विभाजन भयो पार्टी ? नेपाली कांग्रेसले देशको पछिल्लो अवस्थाबारे नयाँ दृष्टिकोण पारित गरेर नेतृत्व परिवर्तन गरेर अगाडि बढिसक्यो।’

बैठकमा सहभागी हुन कुपण्डोल पुगेका एक कानुन व्यवसायीले कानुनले पनि विशेष महाधिवेशनले निर्वाचित गरेको समितिलाई वैधता दिने जिकिर गरे । ‘निर्वाचन आयोगले हामीलाई वैधता दिनेमा विश्‍वस्त छौँ’, उनले भने, ‘निर्वाचन आयोगले वैधता नदिए अदालतको ढोका खुलै छ, बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर लिएर अदालत जान्छौँ।’

काङ्‍ग्रेस बुधबार दुई फक्लेटाे भएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *